
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीको प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठक बुधबार दिउँसो एक बजे फेरि बालुवाटारमै निरन्तर हुने निर्णयसाथ सकिएको छ।
बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहालले राखेका राजनीतिक प्रस्तावहरुमाथि औपचारिक छलफल भएको तथा उक्त छलफल बुधबार पनि निरन्तर गर्ने सहमति भएको छ। बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले ल्याएको ३८ पानाको राजनीतिक प्रस्तावको जवाफ पेश गरेका थिए।
प्रधानमन्त्री ओलीले भने बैठकको वैधानिकता सकिएको जिकिर बैठकको सुरुमै गरे पनि अन्य सदस्यहरुले बैठक बस्नु आवश्यक रहेको बताए पनि मंगलबारको बैठक बसेको थियो।
नेकपाको जारी विवाद समाधान गरी एउटा निष्कर्शमा पुग्न अनौपचारिक रुपमा छलफल तथा अन्तर्क्रियाहरु जारी राख्ने निर्णय भएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘यसका लागि अनौपचारिक छलफल र अन्तर्क्रिया अघि बढाउन आवश्यक ठानिएको छ,’ श्रेष्ठले भने।
औपचारिक बैठक बुधबार १ बजे बालुवाटारमा बस्ने जानकारी पनि उनले दिए।
बैठकमा अन्य सचिवालय सदस्यहरुले पनि टिप्पणी गरेका थिए।
‘पार्टी एकताको रक्षा गर्दै असहमतिको कारणको पहिचान गर्दै छलफल अघि बढाउने प्रयत्न छ। औपचारिक तथा अनौपचारिक छलफलले स्पष्ट निष्कर्ष निकाल्नेछौँ,’ श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने।
१८ गतेका लागि निर्धारित स्थायी समितिको बैठकलाई जारी सचिवालय बैठकले कुनै फरक नपार्ने पनि श्रेष्ठले बताए।
पछिल्लो समय राजतन्त्र पक्षधरहरुको निरन्तर भइरहेका प्रदर्शनबारे उनले भने, ‘प्रतिगामी शक्तिहरुले नेपालमा फेरि प्रतिगमनको सफलता प्राप्त गर्ने नसोचे हुन्छ। लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केही कमजोरी भए सच्याउनेछौँ।’