
काठमाडौँ- आन्तरिक द्वन्द्वमा उठ्न मुस्किल पर्ने गरी थेचारिएका केपी शर्मा ओलीले आफूविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव फिर्ता र उनको माफीलाई पार्टी विवाद समाधानको शर्त बनाउँछन् भन्ने मंगलबार पनि प्रस्टै थियो, खासगरी पार्टीका उच्चतहका नेताहरुलाई।
नभन्दै तीन दिन अघि आफूले प्रचण्डविरुद्ध प्रस्ताव पेश गरेपछि अघि सारेको सोही शर्त ओलीले दोहोर्याए र नेकपा केन्द्रीय सचिवालय बैठक करिव तीन घण्टाको आरोप्रत्यारोपमा सीमित बन्यो मंगलबार।
र, ओलीको इच्छाविपरीत जर्बजस्ति भोलि पुनः एक बजे सचिवालय बैठक गर्ने भन्दै नेताहरु बालुवाटारबाट बाहिरिए।
सवाल–जबाफ र निषेधको प्रयाससँगै मंगलबारको सचिवालय बैठक सकियो। योसँगै ओली र प्रचण्डमध्ये पार्टी रक्षाका निम्ति कसले समर्पण या त्याग गर्लान् भन्ने प्रश्न मंगलबार पनि अनुत्तरित बन्यो।
मंगलबारको घटनाक्रमले बिहीबारका लागि प्रस्तावित स्थायी कमिटी बैठक र २४ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक पनि पर धकेलिने संकेत देखिएको छ।
प्रचण्डसँगै सचिवालय सदस्यहरुले प्रस्तावित बैठकका लागि मंगलबार पार्टी मुख्यालय धुम्बाराही पूर्वनिर्धारित समयमा जान ठिक्क परेका थिए।
तर ओलीले अन्तिम समयमा आएर आफूलाई ‘सेक्युरिटी थ्रेट’ आएकाले धुम्बाराही जान नमिल्ने र बैठक बालुवाटारमा बस्नुपर्ने सन्देश महासचिव विष्णु पौडेलको माध्यमबाट प्रचण्डलाई पठाए।
त्यसबाट उनी आजको बैठकको पक्षमा छैनन् भन्ने बुझ्न कठिन नभएको प्रचण्ड पक्षका नेताहरु बताउँछन्। स्रोतका अनुसार प्रचण्डले पार्टी मुख्यालयमा तय भएको बैठक आफ्नै निजी निवासमा बालुवाटारमा राख्ने विषय लाजमर्दो भएको भन्दै बैठक धुम्बाराहीमै हुनुपर्ने अडानसहितको सन्देश ओलीलाई पठाए पनि।
तर महासचिव पौडेलको प्रचण्डलाई फेरि फोन गयो– गृहमन्त्रालयको सूचना अनुसार प्रधानमन्त्रीलाई ‘सेक्युरिटी थ्रेट’ छ भन्ने कुरा आयो। त्यसैले बालुवाटारमै बैठक बसौँ। आफ्नै पार्टी कार्यालय जाँदा पनि प्रधानमन्त्रीलाई कस्तो ‘सेक्युरिट थ्रेट’? अनि यो थ्रेट कोबाट आयो?
यसबारे स्पष्ट पार्न चाहेनन् महासचिव पौडेलले। प्रचण्ड र उनको समूह यसअघिझैँ मंगलबार पनि बालुवाटार जान बाध्य भयो,बैठकका लागि ।
बैठकमा ओली र प्रचण्डबीच सूचना आदानप्रदान गरिरहेका उनै महासचिव पौडेलको जन्मदिनका अवसरमा केक काट्ने कार्यक्रम तय गरिएको थियो।
अघिपछि बैठकमा दुरी कायम गरेर बसेको देखाउने नेताहरुको महासचिव पौडेललाई केक खुवाउन लाइन लाग्यो।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकारले केक काटेको फोटो ‘पोस्ट’ गरेपछि सामाजिक सञ्जाल फेसबुकमा गरिएको कमेन्टमध्ये एक थियो–यसैगरी एकअर्काको मिलेर जन्मदिन मनाउँदै नेकपा एकतामा कुनै किसिमको फाटो छैन भन्ने सन्देश देखाउनु छ।
तर स्रोतका अनुसार पार्टी विवादको केन्द्रमा रहेका ओली ‘केक डिप्लोमेसी’ मा उत्रिएपनि उनले बैठकको सुरुमै ‘निहुँ’ खोजे। ‘आजको बैठकको एजेण्डा के हो र? मैले त कुनै पनि एजेण्डा देखेको छैन,’ प्रचण्डलक्षित प्रश्न थियो यो ओलीको। ओलीले होच्याएर गरेको प्रस्तुतिप्रति प्रचण्डलाई चित्त बुझेको थिएन।
तर पनि प्रचण्डले ‘हामी दुबैका प्रस्तावमाथि छलफल गर्ने एजेण्डा हो’ भन्दै संयमित रुपमा ओलीलाई जबाफ दिएको स्रोत बताउँछ। त्यसपछि ओलीले प्रचण्डले आफूलाई पुष्टि गर्न नसक्ने आरोप लगाएर पेश गरेको प्रस्ताव फिर्ता गर्नुपर्ने र प्रस्तावका कारण सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन संकटमा परेका कारण माफी माग्नुपर्ने शर्त दोहोर्याएका थिए।
‘मैले आफ्नो प्रस्तावमा भनिसकेको छु प्रचण्डजीको प्रस्ताव अवैधरुपमा आएको छ। यो छलफल र परामर्शयोग्य छैन। यो खारेज हुनुपर्छ। अब प्रचण्डजीले प्रस्ताव फिर्ता लिएर माफी पनि माग्नुपर्छ। अनि मात्रै सहमतिको सम्भावना रहन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सचिवालय स्रोतले भन्यो।
योसँगै ओलीले आफ्नो प्रस्तावलाई ‘बुकलेट’ बनाएर मुलुकभर वितरण गरेकोमा पनि प्रचण्डले माफी माग्नुपर्ने अर्को शर्त अघि सारेका थिए।
‘पार्टीभित्र पेश गरिएको भनिएको प्रस्ताव एकैछिनमा छ्यापछ्याप्ती रुपमा मिडियामा आयो। त्यतिमात्रै कहाँ हो र केही दिनमै बुकलेटका रुपमा देशभर पुर्याउने कोशिस गरियो। यो पनि माफी माग्नु पर्ने कार्य हो,’ ओलीले प्रचण्डलाई लक्षित गर्दै भनेका थिए।
यस्तै ओलीले पार्टी एकता सहमति र समझदारीका आधारमा भएको र अहिले पनि सहमतिकै आधारमा अघि बढ्नुको विकल्प नभएको भन्दै महाधिवेशनपछि मात्रै विधि, पद्दति र प्रक्रियाको कुरा लागू हुनुपर्ने अडान राखेका थिए।
योसँगै ओलीले बिहीबार प्रस्तावित स्थायी कमिटी बैठक सारौँ भन्ने प्रस्तावसमेत गरेका थिए। तर पूर्वनिर्धारित सबै बैठकहरु हुनेमा विश्वस्त छन् प्रचण्ड समूहका सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ। उनले बैठक समापनपछि भने, ‘पूर्वनिर्धारित बैठक स्थगित हुन्नन्। तोकिएकै समयमा बस्छन्। त्यसमा कुनै शंका छैन।’
बैठकमा ओली निकट उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्डबाट प्रधानमन्त्री ओलीमाथि सामान्य नभई फौजदारी कानुन आकर्षित हुने गम्भीर आरोप लागेकाले यस्तो बेला अनौपचारिक बैठक आवश्यक हुने र त्यसमै जुट्नु राम्रो हुने बताएका थिए।
‘प्रधानमन्त्री ओली प्रधानमन्त्री मात्रै नभई पार्टीमै रहन नसक्ने गरी आरोप लगाइएको छ। राज्यले दण्डित गर्ने खालका आरोप पनि लगाइएको छ। यसबारे गम्भीर प्रश्नहरु उठेको छ,’ नेता पोखरेलले देशसञ्चारलाई बताए।
उनले भने, ‘बिना तयारी बैठक मात्रै भनेर भएन। एजेण्डा पनि निश्चित गर्नुपर्छ। त्यसका लागि अनौपचारिक छलफल पनि उपयुक्त हुन्छ। त्यसैमा आज जोड दिइएको छ।’
पोखरेलको यो प्रस्तावको प्रधानमन्त्री ओलीले समर्थन गर्दै ओलीले अनौपचारिक छलफल गरौँ बैठक सारौँ भन्दै प्रस्ताव गरेका हुन्।
तर जबाफमा प्रचण्डले अनौपचारिक छलफलसँगै आफूले पेश गरेको प्रस्तावमाथि छलफल गर्न जरुरी रहेको र बैठकहरु स्थगित गर्न नमिल्ने अडान दोहोर्याएका थिए। उनले आफ्नो प्रस्तावमाथि छलफल नगरौँ भनेर ओलीले व्यक्तिवादको पराकाष्टा नागेको आरोप लगाएका थिए।
प्रचण्डले ओलीलाई भनेका थिए, ‘छलफलको औचित्य भएर नै प्रस्ताव ल्याइएको हो। प्रस्तावमाथि सिधै छलफल नगरौँ भन्नु कतिसम्मको व्यक्तिवाद हो? प्रस्तावमाथि छलफल गर्नुपर्छ। त्यसको विकल्प छैन। यसलाई यतिकै मिल्काउन हुन्न।’
यो सँगै आफूले प्रस्ताव दर्ता गर्नुपर्ने परिस्थितिबारे पनि प्रचण्डले व्याख्या गरेका थिए। प्रचण्डले स्थायी कमिटी बैठकको निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन नगर्दा पार्टीमा गम्भीर संकट आइलागेको बताएका थिए।
प्रचण्डको अभिव्यक्ति चित्त नबुझेपछि ओलीले उनलाई बोल्नबाट बिचमै रोकेका थिए। तर पार्टी बैठकमा पनि बोल्न नपाउने भन्दै प्रचण्डको समर्थनमा अन्य सदस्यहरु उत्रिएपछि ओली मौन बसेका थिए र प्रचण्डले आफ्नो धारणा राख्ने क्रमलाई अगाडि बढाएका थिए।
प्रचण्डले भनेका थिए,‘ बैठक डाक्न गम्भीर भएर माग गर्दा त्यसलाई सामान्यरुपमा लिइयो। अझै उल्टै भएनभएका आरोप लगाएर पत्र लेखियो। पत्रमा गलत आरोप लगाइएपछि बाध्य भएर हामीले प्रस्ताव दर्ता गरेका हौँ। अब यसबारे छलफल हुनुपर्छ।’
प्रचण्डले ओलीलाई ‘म नै राज्य हुँ’ भनेजसरी प्रस्तुत भएको आरोप लगाएका थिए। प्रचण्डले ओलीलाई भनेका थिए, ‘विवाद सिर्जना गर्न तपाईँको हात छ। तपाईले फायर गरेको हो। हामीले प्रतिवाद मात्र गरेको हो। तपाईँले मलाई शत्रुतापूर्ण विरोध गरेको भन्नु भएको छ। यो अन्तरविरोध मित्रतापूर्ण हो।’
प्रचण्ड त्यतिमा रोकिएनन्। उनले ओलीको प्रस्ताव कुण्ठाग्रस्त मानसिकताबाट आएको र उनको अभिव्यक्तिहरुले पार्टीलाई झनै संकटमा धकेलेको निष्कर्ष पनि सुनाएका थिए। प्रचण्डको समर्थनमा वरिष्ठ नेता माधवकुमार नेपाल खरोरुपमा उत्रिएका थिए।
उनले ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल गर्दिन भन्दै भाग्न नपाउने बताएका थिए। उनले पार्टीमा पेश भइसकेको प्रस्तावमाथि छलफल हुनुपर्ने र पार्टीको निर्णय पनि सबैले मान्नुपर्ने अडान लिएका थिए।
उनले ओलीलाई लक्षित गर्दै भनेका थिए, ‘तपाईँमा चरम व्यक्तिवाद र गुटवाद मौलाएको छ। यो तुरुन्त त्याग्नुहोस् र पार्टीको निर्णय मान्न तयार हुनुहोस्।’
अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि दुबै प्रस्तावमाथि छलफल गरेर अघि बढ्नु पर्ने निष्कर्ष सुनाएका थिए।
तर,अनौपचारिक छलफल पनि गर्न सकिने ओलीको प्रस्ताव उनीहरुले स्वीकार गरेका थिए। दुबै पक्षले अडान नत्यागेका कारण भोलिको बैठक पनि निष्कर्षबिहिन हुने र स्थायी कमिटी बैठक पर धकेलिने संकेत देखिएको हो।
अब ओली र प्रचण्डले एकअर्काविरुद्ध पेश गरेको प्रस्ताव छलफलका लागि अघि बढ्छ कि ओलीको माग अनुसार प्रचण्डले प्रस्ताव फिर्ता लिएर माफी माग्छन् त्यो अनिश्चित बनेको छ।
नेकपामा खासगरी ओली र प्रचण्डको गत वैशाख यता चर्किएको र बीचमा थामथुम भएको विवाद करिव दुई महिना यता छताछुल्ल भइरहेको छ। तर विवाद साम्य गर्न उनीहरु असफल भइरहेका छन्।