
काठकाडौँ– नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले केन्द्रिय सचिवालयमा अहिले प्रस्तुत दस्तावेजहरु आफ्नो जिम्मा लिँदै पार्टीमा चुलिएको संकट समाधान खोज्ने भएको छ।
शनिबार बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको करिब साढे चार घण्टा लामो बैठकपछि सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वनिर्धारित स्थायी कमिटी बैठक भोलि आइतबार पार्टी केन्द्रिय कार्यालय, धुम्बाराहीमा हुने घोषणा गरेका हुन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो अन्तरपछि आज भएको आधा घण्टा लामो एक्ला–एक्लै भेटघाटपछि केन्द्रीय सचिवालय बैठक बसे पनि स्थायी कमिटी बैठक बोलाइएकोमा उनको असहमति रहेको एक उच्च स्रोतले बतायो।
‘भोलिको बैठकप्रति उनले आपत्ति जनाएका छन् र त्यहाँ उनको उपस्थितिबारे कुनै प्रतिवद्धता जनाएका छैनन्,’ स्रोतले भन्यो।
प्रवक्ता श्रेष्ठले भने- ‘केन्द्रीय सचिवालयको पूर्व निर्धारित निर्णयबमोजिम आइतबार एक बजे स्थायी कमिटीको बैठक पार्टी कार्यालयमा हुने निश्चित गर्दै उक्त बैठकमा पार्टी समस्याका समाधान खोजिनेछ।’
केन्द्रीय सचिवालयमा दुई अध्यक्षद्वारा विगतमा अलगअलग प्रस्तुत आरोप प्रत्यारोपका पत्रहरु पनि स्थायी कमिटीमा बुझाइने र त्यसमा उठेका विवाद तथा समस्याका समाधानको खोजी पनि उक्त बैठकमा हुने प्रवक्ता श्रेष्ठले बताए।
शनिबार दुई अध्यक्षबीच भएको एक्लाएक्लै भेटघाटबारे उनले भने- ‘एउटा भेटघाटले समस्या नसुल्झिएला तर आवश्यक पर्दा स्थायी कमिटी बैठकको बीचमा पनि यस्ता भेटघाटहरु भइरहन सक्नेछन्।’
पार्टी बैठकले सार्थक निष्कर्षमा पुग्न र समस्या समाधानमा सकारात्मक दिशा दिने आशा पनि प्रवक्ता श्रेष्ठले व्यक्त गरे।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले शनिबारको बैठकमा आरोपप्रत्यारोपबारे छलफल भएको तर समस्या समाधान सचिवालय बैठकबाट हल गर्न नसकिने निष्कर्ष सुनाए। ‘प्रस्ताव तल पुगिसकेको छ। स्थायी कमिटीमा लगेर छलफल गर्छौँ,’ उनले भने, ‘प्रधानमन्त्री ओली भने छलफल नगरौं र बैठक नगरौं भन्नेमा हुनुहुन्छ।’