
काठमाडौँ- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले त्याग गर्छु भन्ने कल्पना पनि नगर्न र त्यसका लागि कुनै पनि कसरत नगर्न विरोधी समूहलाई चेतावनी दिएका छन्।
शनिबारको सचिवालय बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रस्तावित बैठक बसाल्ने र स्थायी कमिटी सदस्यहरुलाई आफूहरु दुबैको प्रस्तावमाथि अध्ययनका लागि समय दिएर आफूहरु पनि गृहकार्यमा जुट्नुपर्ने भन्ने प्रस्तावको प्रतिक्रियामा प्रधानमन्त्री ओलीले त्यस्तो चेतावनी दिएका हुन।
प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकबाट आफूलाई त्याग गर्न आग्रह गरिने तर आफूले यो महाधिवेशनसम्म पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट कुनै पनि हालतमा राजीनामा नदिने अडान लिएका सचिवालयका एक सदस्यले बताए।
उनले देशसञ्चारसँग भने, ‘प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा आफू सामेल हुनुको अर्थ नभएको, बैठकले आफ्नो राजीनामा माग्छ भन्नेमा आफू ढुक्क भएको तर आफूले दुबै पदबाट राजीनामा नदिने अडान लिनु भएको छ।’
योसँग प्रधानमन्त्री ओलीको आजको प्रस्तुति हेर्दा उनी भोली प्रस्तावित स्थायी कमिटी बैठकमा सहभागी नहुने दखिएको तर आफ्नो धारणा र बचाउका लागि पनि बैठकमा उनी सहभागी हुने विश्लेषण ती सदस्यले गरे।
शनिबारको सचिवालय बैठकको महत्वपूर्ण करिब साढे चार घण्टा भोलि निर्धारित स्थायी कमिटी बैठक बस्ने कि नबस्ने भन्नेमा ओली र उनको विरोधी समूहका सदस्यबीच विवाद भएको थियो।
भोलिको बैठकमा सामेल नहुने ओलीले अडान लिइरहेका बेला प्रचण्डले भोलि एक बजे धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने घोषणा गरेका थिए र त्यसलाई प्रचण्डसमर्थक सदस्यहरुमात्रै नभई ओली निकट मानिएका सचिवालय सदस्य रामबहादुर थापा बादल, ईश्वर पोखरेलले समेत समर्थन जनाएका थिए।
थापाले समस्या समाधानका लागि तीन कार्यदल गठन गरौँ भन्दै गरेको प्रस्ताव प्रचण्ड पक्षले अस्वीकार गरेको थियो।