
काठमाडौँ- पछिल्लो पटक सुरु भएको झण्डै दुई महिनाको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक युद्ध केपी शर्मा ओली प्रतिरोधको पहिलो पराजयसँगै निर्णायक चरणमा प्रवेश गरेको छ।
शनिबार बालुवाटारमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले ओलीको इच्छा र आग्रहबिपरीत आइतबार एक बजे स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा गर्ने निर्णय गरेपछि ओली प्रतिरोध पराजित बन्न पुगेको छ।
तर आइतबारको स्थायी कमिटी बैठक नराख्ने अडान लिएका ओली पहिले त त्यसमा सामेल हुने छैनन्। सामेल नै भइहालेको खण्डमा पनि ओलीले स्थायी कमिटी बैठकको निर्णयलाई मान्यता नदिने स्पष्ट संकेत दिएका छन्।
यद्धपि ओलीलाई मनाएर बैठकमा सहभागी गराउने र पार्टी कमिटी बैठकको निर्णयबाट उनलाई दुबै पदबाट हटाउने प्रयास असन्तुष्ट पक्षले जारी राख्ने देखिन्छ भने उनको सुरक्षाका निम्ति उनका ‘योद्धाहरु’ पनि उत्तिकै दौडधूप गर्ने देखिन्छ।
स्थायी कमिटी बैठकको विपक्षमा उभिएका ओलीले शनिबारको सचिवालय बैठकमा आइतबारको स्थायी कमिटी बैठकमा आफू नजाने, असन्तुष्ट पक्षद्धारा पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामाका लागि गरिएको माग कुनै हालतमा स्वीकार नगर्ने अडान लिए, अन्तिम समयसम्म पनि।
तर ओलीको आक्रोश र असन्तुष्ट पक्षप्रतिको आक्षपले चर्को रुप लिँदै गर्दा स्थायी कमिटी बैठक पूर्वनिर्धारित निर्णय अनुसार आइतबार बस्ने घोषणा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसँग असन्तुष्ट पक्षका नेताहरु एकएक गरी भिडिरहे।
ओली निकट सचिवालय सदस्यहरु रामबहादुर थापा बादल र ईश्वर पोखरेलसमेत स्थायी कमिटी बैठकको पक्षमा देखिए।यद्धपी उनीहरुले समस्या समाधानका लागि मध्यमार्गी बाटोको खोजी गर्न सकिने सुझाव दिएका थिए।
पूर्वमाओवादी पृष्ठभूमिका र हाल ओलीसँग निकट मानिएका गृहमन्त्री रामबहादुर थापा बादलले समस्या समाधानका लागि सचिवालयमै प्रचण्ड पक्षका उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्नु पर्ने प्रस्ताव राखेका थिए।
तर पार्टीमा चुलिएको यस किसिमको विवाद अब कुनै पनि कार्यादलले समाधान गर्न नसक्ने भन्दै गौतमलगायत प्रचण्ड पक्षका नेताहरुले त्यसलाई अस्वीकार गरे।
ओली निकट महासचिव विष्णु पौडेलले भने सचिवालयले समस्या समाधान गर्न नसक्ने स्थितिमा पुगेकै हो त? भन्ने प्रश्न गर्दै तठस्थ बस्ने कोशिस गरेपनि आफू स्थायी कमिटी बैठकै पक्षमा रहेको घुमाउरो सन्देश दिएका थिए।
ओलीको आपत्तीलाई अस्वीकार गर्दै आइतबार बस्ने स्थायी कमिटीले बैठकले उनीविरुद्ध प्रचण्ड प्रस्तावमा उल्लेख गरिएका भ्रष्टाचार, नातावाद, गुटवाद, पदीय मर्यादाबिपरित विदेशीसँगको भेटघाटलगायत आरोपलाई एजेण्डा बनाउने देखिन्छ।

फाइल तस्बिर
स्थायी कमिटीलाई लिएर आज उत्पन्न विवादको श्रृखला
स्रोतका अनुसार सचिवालय बैठकको सुरुवातमै प्रचण्डले पार्टीमा गम्भीर समस्य उत्पन्न भएकोमा कुनै दुईमत नभएको, आइतबार निर्धारित स्थायी कमिटी बैठक बस्नु पर्ने र बैठकमा दुबै प्रस्ताव पेश गरेर स्थायी कमिटी सदस्यलाई अध्ययनका लागि समय दिने र आफूहरु पनि आन्तरिक गृहकार्यमा जुट्न सक्ने प्रस्ताव गरेका थिए।
‘हामी गम्भीर समस्यामा छौँ भन्ने स्पष्ट भइसकेको छ। समस्या समाधानका लागि प्रस्ताव पनि पेश भएको हो। आजबाट मेरो प्रधानमन्त्रीसँग संवाद सुरु भएको छ। तर यो संवादबाट तत्कालै सहमति निस्किने स्थिति छैन। अब भोली स्थायी कमिटी बैठक बसालौँ र त्यसैबाट निकास निकालौँ,’प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो।
केहीबेर अघि करिव २० मिनेट ओलीसँग २६ दिनको संवादहिनतालाई तोड्दै छलफल गरेका प्रचण्डले बैठकमा अब कुनै पनि हालतमा आइतबार निर्धारित स्थायी कमिटी बैठक रोक्न नमिल्ने भन्दै लिएको अडानलाई उनी पक्षका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले एकपछि अर्को गर्दै समर्थन गरे।
उनीहरुले ओलीकै लागि पटक-पटक पटक सार्ने काम भएको तर अब स्थायी कमिटी बैठक रोक्न नमिल्ने साझा निष्कर्ष सुनाएका थिए। यसअघि ओली सामेल नभएपछि मंसिर १७ गतेको सचिवालय बैठक १५ मिनेट बसेको थियो र १८ गतेलाई पूर्वनिर्धारित स्थायी कमिटी बैठक आइतबारका लागि सारिएको थियो।
बैठकमा ओली निकट सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पनि आइतबारको स्थायी कमिटी बैठकलाई समर्थन रह्यो। तर ‘बादल’ले स्थायी कमिटी बैठकमा जानुपहिले सचिवालयमै समस्या समाधानका लागि नेता बामदेव गौतमको संयोजकत्वमा कार्यदल गठन गर्नु पर्ने शर्त राखे।
त्यसलाई प्रचण्ड पक्षले अस्वीकृत गरेको थियो। नेता गौतम सुरुमै ‘यस्तो कार्यदलमा म बस्दिन’ भन्दै झोक्किएकासमेत थिए। प्रचण्ड पक्षका अन्य सदस्यहरुले पनि यस्ता कार्यदल विवाद समाधानका लागि पटकपटक बनेका तर ती सबै औचित्यहिन बन्न पुगेकाले त्यसतर्फ जान नहुने अडान लिएका थिए।
महासचिव पौडेलको भने प्रश्न थियो,‘के अब सचिवालय समस्या समाधान गर्न असफल नै भएको हो त? हामी स्थायी कमिटी बैठकमा गएपछि कसरी समस्या समाधान हुन्छ त?’ असन्तुष्ट पक्षको भोलीको स्थायी कमिटी बैठकमा दुबै अध्यक्षको प्रस्ताव पेश गर्ने, अध्ययनका लागि स्थायी कमिटी सदस्यलाई समय दिने अनि यो बीचमा दुबै पक्ष छलफलका लागि समय लिन सकिने र ओलीले पनि गृहकार्य गर्न सक्ने निष्कर्षलाई ओलीले ठाडै अस्वीकार गरेका थिए।
ओलीले प्रचण्ड पक्षलाई लक्षित गर्दै भनेका थिए,‘ तपाईँहरुले पार्टीमा बल प्रयोग गर्न थाल्नु भएको छ। आजको बैठक पनि बल प्रयोगबाटै भएको हो। यस्तो बल प्रयोग नगर्नुहोस्।’
यस्तै ओलीले प्रचण्ड प्रस्तावमाथि स्थायी कमिटी बैठकमा कुनै पनि हालतमा छलफल गर्न नसकिने अडान दोहोर्याएका थिए। ओलीले भनेका थिए,‘प्रचण्ड प्रस्तावमा छलफलको कुनै पनि सम्भावना छैन। भोली स्थायी कमिटी बैठक नडाकौँ। तपाईँहरुको जर्बजस्ती डाक्नु भयो भने म आउँदिन।’
यस्तै ओलीले स्थायी बैठक गालीगौलज र रत्यउली खेल्ने थलो होर? भन्ने प्रश्न पनि प्रचण्ड पक्षतर्फ तेर्साएका थिए। ओलीले बैठकको अन्तिममा भनेका ठिए, ‘स्थायी कमिटी बैठकको तपाईँहरुको तयारी के हो त्यसमा म स्पष्ट छु। तपाईँहरुको तयारी पुरा भएकै होला। जे जे मन लाग्छ त्यही गर्नुहोस्।’
त्यसपछि ओलीले चित्त नबुझ्ने कुरा गरेपछि नेता माधवकुमार नेपाल आक्रोशित भएका थिए। स्रोतका अनुसार नेपालले ओलीलाई भनेका थिए,‘ तपाईँले आफूलाई सुपर म्यान ठान्नुहुन्छ। अहंकारले भरिनु भएको छ। गल्तीको समिक्षा पनि गर्न नचाहने, बैठकबाट भाग्ने खोज्ने तपाईँ कस्तो व्यक्ति हो?’
उपाध्यक्ष गौतमले स्थायी कमिटी बैठकको बिकल्प नभएको तर गृहकार्यका लागि समय आवश्यक परे ओलीलाई दिन सकिने बताएका थिए। गौतमको कुरा सुनेपछि ओली फेरि आक्रोशित भएका थिए।
उनले भनेका थिए,‘ मैले के गृहकार्य गर्नुपर्ने छ? मैले त्याग गरोस् भन्ने तपाईँहरुको माग हो। मैले त्याग गर्छु भन्ने कल्पना पनि नगरे हुन्छ? महाधिवेशनसम्म न मैले अध्यक्षबाट राजीनामा दिन्छु न प्रधानमन्त्रीबाट।’ त्यसपछि प्रचण्डले ‘टेकओभर’ गर्दै ‘ल अब उठौँ, भोली स्थायी कमिटी बैठक डाक्ने आजको निर्णय हो।’
त्यसैअनुसार प्रवक्तासमेत रहेका नेता श्रेष्ठले पत्राहरुलाई संक्षिप्तमा जानकारी गराएका थिए। स्रोतले भन्यो,‘ प्रधानमन्त्री ओलीको आजको प्रस्तुती हेर्दा भोलि उहाँ स्थायी कमिटी बैठकमा आउनुहुन्न जस्तो लाग्छ। तर आफ्नो धारणा राख्न पनि उहाँ आउने सम्भावना जिवितै छ।’