
२०७४ साल साउन २९ गते नेपाल राष्ट्र बैंकले एउटा भित्ते सूचना जारी गर्दै ‘नेपालमा बिट कोइन’ कारोबार गैरकानुनी हुने फरमान गर्यो र बैंकले त्यसको निम्ति नेपाल राष्ट्र बैंक ऐन २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ लाई आधार मान्यो।
नेपाल र नेपालीको उन्नतिको निम्ति त्यो सूचना अपूर्ण छ र त्यसको खारेजी गर्दै २१ औँ शताब्दीको निम्ति त्यस्तो भित्ते सूचनाहरु मार्फत मुलुकको भविष्यमाथि खेलबाड गर्ने प्रवृत्तिको अन्त्य आवश्यक छ। ‘बिट कोइन’ को नाममा प्रकाशित त्यो सूचनाले वर्तमान परिप्रेक्ष्यमा त्योभन्दा अरु नामका सयौँ थरिका डिजिटल –अङकित/विद्युतीय) मुद्राहरु, जसलाई चलनचल्तीको भाषामा ‘क्रिप्टोकरेन्सी भनिन्छ’ लाई समेट्न सकिँदैन। तसर्थ त्यो सूचनाको समयवधि सकिएको छ र यदि मुलुकमा वास्तवमा नै कानुनी राज छ भने सुतेको वा सुताइ राखेको संसदले यसको विविध पक्षहरुबारेमा संसदभित्र र बाहिर संवाद गर्नु जरुरी छ, किनभने त्यसका यावत प्रविधिहरुबाट नेपाल विमुख हुन सक्दैन।
के हो क्रिप्टोकरेन्सी (अदृश्य मुद्रा)?
सन् २००८ मा एउटा गुमनाम व्यक्ति ‘सातोही नाछामोटो’ ले ‘बिट कोइन’ एउटा भिन्न समूहबीचको विद्युतीय नगद प्रणाली’ नामक श्वेतपत्र जारी गरेपछि ‘बिट कोइन’ को न्वारन भयो। सातोसीको नौ पेज लामो त्यो श्वेतपत्रमा जम्मा आठ वटा सन्दर्भ ग्रन्थीहरु उल्लेख गरिएको छ र ती मध्ये सातवटा सन्दर्भ सामग्रीहरुले विद्युतीय नगद सम्बन्धी केही उल्लेख गरेको पाइन्छ। ‘बिट कोइन’ सरकारी निकाय वा बैंकहरुबाट निर्देशित भएर, विद्युतीय (डिजिटल) गुप्तलेखन (क्रिप्टोग्राफी) को प्रमाणमा आधारित भुक्तानी पद्धति हो। त्यहाँ सरकारको कर्मचारी वा बैंक वा अन्य कुनै पनि चलअचल सम्पतिको कारोबार गर्नेहरुको आवश्यकता पर्दैन। त्यसैले ‘बिट कोइन’ लगायतका यावत डिजिटल (अङ्कीय) मुद्राहरुलाई ‘क्रिप्टोकरेन्सी’ (गुप्त वा अदृश्य मुद्रा) भनिन्छ। (क्रिप्टोको शाब्दिक अर्थ गुप्त वा अदृश्य भन्ने बुझिन्छ)। तिनीहरु (अदृश्य मुद्रा) कुनै पनि व्यक्तिको नियन्त्रणमा हुँदैन, तिनीहरुको खाता सधैँ खुल्ला हुन्छ। सम्पूर्ण खातावाला र तिनीहरुको बहीखाता विकेन्द्रित र पारदर्शी हुन्छ। अदृश्य मुद्राको कुनै भौतिक रुप पनि हुँदैन तर आम नागरिकले आफ्नो भोग चलनको निम्ति सामान्य पैसा सरह प्रयोग गर्न सक्छन्।
अहिले सयौँ थरिका गुप्त मुद्राहरु थपिए पनि वास्तवमा दुईवटा मुद्राहरु (१) बिट कोईन (२) इथेरियमकै लोकप्रियता, महत्व एंव त्यसका अवश्यंभावी अवसरहरुबाट संसार नै एक किसिमले लालायित बन्दै गएको छ। किनभने ती दुबै थरीका अदृश्य मुद्राहरु बन्ने संरचना/आधार भनेको ‘ब्लकचेन’ हो। अर्थात बिट कोइन र इथेरियम ‘मुद्रा’ हुन् भने ‘ब्लकचेन’ त्यसको आधार प्रविधि।
यस्तो प्रविधि जो अत्यन्त विकेन्द्रीत सञ्जालमार्फत सञ्चालित एक नौलो पारदर्शी र सुरक्षित संरचना हो।
नेपालमा ‘ब्लकचेन’ को प्रयोग हुने मुख्य क्षेत्र भ्रष्टाचारग्रस्त भूमि, मालपोत, राजस्व, कर कार्यालयहरु हुन् भने ‘कृषि क्षेत्र’ को सर्वाङ्गीण उन्नतिको निम्ति ‘ब्लकचेन’ आधारस्तम्भ निर्माण गर्न विशेष कार्यक्रम आवश्यक छ। कृषिमा ‘ब्लकचेन’ को प्रयोग गर्न किसानदेखि उपभोक्ता वर्गलाई सक्षम बनाउन जनशक्ति निर्माणार्थ ‘गणित’ को निषेधको अन्त्य हुन जरुरी छ।
ब्लकचेन (श्रृङ्खलाबद्ध आँकडा) को प्रयोग अदृश्य मुद्रा अन्यन्त्र क्षेत्रहरुमा कसरी प्रयोग गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय जागरुकता र प्रतिस्पर्धा बढ्दै छ।
उदाहरणका निम्ति सन् २००८ देखि इष्टोनिया सरकारले ब्लकचेनको परीक्षण प्रयोग सुरु गर्यो र सन् २०१२ देखि त्यहाँको न्याय प्रणाली, स्वास्थ्य सेवा, कर प्रणाली ब्लकचेनमा आधारित छ। जर्जिया गणराज्यले आफ्नो राज्यको जाग्गा सम्बन्धि कारोबार ब्लकचेन मार्फत सुरक्षित राख्दै जन विश्वास आर्जन गर्दैछ। बेलायतले ब्लकचेनलाई घरजग्गा कारोबारमा प्रयोग गर्न सम्भाव्यता अध्ययन गर्दैछ भने क्यानडाको केन्द्रीय सरकारले ब्लकचेन मार्फत ठेक्कापट्टालाई पारदर्शी बनाउने परीक्षण गर्दैछ। अफ्रिकाका इथोपिया, घाना, केन्या, नाइजेरिया, उगाण्डा, दक्षिण अफ्रिका लगायतका सरकारहरु ब्लकचेनको प्रयोगबाट कसरी कृषि, भूमि, करसम्बन्धी क्षेत्रहरुमा प्रयोग गर्दा जनतालाई फाइदा पुग्न सक्छन्, खोज गर्दैछन्। संयुक्त राज्य अमेरिकाको केन्द्रीय सरकारदेखि विभिन्न राज्य सरकारहरुले ब्लकचेनलाई चुनाव, कर जग्गा, सुरक्षा, स्वास्थ्य, उद्योग, औषधि आदि क्षेत्रहरु समेट्ने आधारहरु निर्माण गर्दैछ। चीनले सन् २०२१ बाट सुरु हुने तिनीहरुकै पञ्चवर्षीय योजनामा ब्लकचेनलाई एउटा प्रमुख आधार ठानेको छ भने भारतको नीति आयोगले भूमि, औषधी आपूर्ति सुधार्ने र धोखाधडी/जालसाजीलाई न्यूनीकरण गर्न ब्लकचेनको प्रयोग गर्नेतर्फ अग्रसर देखिदैछ। भर्खरैमात्र अफगानिस्तान सरकारले ब्लकचेन मार्फत नक्कली औषधी कारोबार रोक्ने प्रणाली सुरु गरेको छ।
उपरोक्त उदाहरण एउटा अंश मात्रै हो किनभने संसारका अन्य सरोकारवालाहरु जस्तै ठूलाठूला बैंकहरु, बीमा कम्पनी, ऊर्जा, पर्यटन, उद्योग होटल लगायत अन्य व्यवसायहरुले ब्लकचेन प्रयोग गर्दा किफायती ढंगले नयाँ आयामहरु थप्दै यावत सूचना थन्काउने/विश्लेषण/अध्ययन मार्फत मुनाफा आर्जनको थप सम्भावना खोज्ने कार्य प्रतिस्पर्धात्मक ढंगबाट अगाडि बढिरहेको छ।
नेपालको उल्टो बाटो
तीन वर्ष अगाडि जब राष्ट्र बैंकले ‘बिट कोइन’ निषेध गरेपछि सम्पूर्ण सरकारी निकाय सुतेको पृष्ठभूमिमा छन्, नेपाली राजनीतिक पात्रहरुलाई निषेध खुबै मनपर्ने प्रवृत्ति हो। हिजो एकथरीलाई संस्कृति मन परेन, निषेध गरियो, आज गणित पनि त्यस्तै निषेधको बाटोमा छ। शायद भोलि नेपाली भाषाको त्यही हविगत हुनेछ। अर्थात सत्तामा बस्नेहरुलाई मन नपरेको विषयवस्तु निषेध गर्ने प्रवृत्ति अनुसार नै धर्म संस्कृति बलिको बोका बन्यो। देखाउनलाई लोकतन्त्र छ, तर संवाद निषेध छ, राज्य छ तर कानुन व्यक्ति अनुसार चल्दछ। त्यसैले दृश्य मुद्राहरुको चलखेलमा ‘अदृश्य मुद्रा प्रविधि’ लाई थन्काएर विचौलियाहरुको संरक्षणमा लिप्त छन्। जब कि देशको संसदमा ‘ब्लकचेन’ मार्फत कसरी भ्रष्टाचारका स्रोतहरु र बिचौलियाहरु अन्त्य गर्न सकिन्छ भनेर संवाद हुनुपर्ने थियो।
नेपालमा ‘ब्लकचेन’ को प्रयोग हुने मुख्य क्षेत्र भ्रष्टाचारग्रस्त भूमि, मालपोत, राजस्व, कर कार्यालयहरु हुन् भने ‘कृषि क्षेत्र’ को सर्वाङ्गीण उन्नतिको निम्ति ‘ब्लकचेन’ आधारस्तम्भ निर्माण गर्न विशेष कार्यक्रम आवश्यक छ। कृषिमा ‘ब्लकचेन’ को प्रयोग गर्न किसानदेखि उपभोक्ता वर्गलाई सक्षम बनाउन जनशक्ति निर्माणार्थ ‘गणित’ को निषेधको अन्त्य हुन जरुरी छ। एवम् रितले ब्लकचेन मार्फत आम नागरिकको यावत सूचनालाई सुरक्षित राख्न ढिला भइसकेको छ।
फेरि ‘ब्लकचेन’ ले नेपालको व्याप्त भ्रष्टाचार, कुशासन र सरकारी दुरावस्था रातारात अन्त्य गर्ने होइन। यो प्रविधि हो र त्यसको प्रचूर सम्भावनालाई निषेध गरेर बुद्धिमा बिर्को लगाउने प्रवृत्तिको अन्त्य आवश्यक छ। अदृश्य मुद्राको हकमा भन्नुपर्दा ‘बिट कोइन’ अदृश्य सुन’ हो भने ‘ब्लकचेन’ प्रविधि चाहिँ ‘नवरत्न’ हो। भौतिक मुद्राहरुको कारोबार गर्नेहरुलाई त्यो चुनौतीपूर्ण हुन सक्छ, तर प्रविधिको सम्भावनालाई मुर्खहरुले मात्र निषेध गर्दछन्।