
काठमाडौँ- भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वदेश फर्केको भोलिपल्ट उनको भ्रमणले सत्ताधारी नेकपाभित्र नयाँ विवादको सिर्जना गरेको छ।
अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेलको निम्तोमा आएका चौथाइवालेले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, मुख्य प्रतिपक्ष दलका नेता र जनता समाजवादी पार्टीका नेताहरुलाई भेटेर शनिबार दिल्ली फर्केका थिए।
स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले विजयलाई सरकारी व्यक्ति सरह आमन्त्रण गरिएको र प्रधानमन्त्री ओलीले बालुवाटारमा वार्ता गरेको आरोप लगाएका छन्।
यसअघि भारती जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त कुमार गोयलसँग असोज ५ गते राति बालुवाटारमा वार्ता भएपछि रावललगायत नेताहरुले कुटनीतिक परम्परा र मर्यादामा प्रश्न गरेको आरोप ओलीविरुद्ध लगाएका थिए।
देश, पार्टी र पदको गरिमाको रक्षा गर्नुपर्ने रावलले विजयलाई निमन्त्रणा गर्दा ओली निकट महासचिव पौडेलले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधव नेपाललाई जानकारी नदिएको पनि दावी गरेका छन्।
उनले ट्वीटरमा भनेका छन्, ‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिइ भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले बालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो। देश, पार्टी र पदको गरिमाको रक्षा होस्।’
आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो।देश,पार्टी र पदको गरिमाको रक्षा होस् ।
— Bhim Rawal, PhD (@BhimRawal179) December 13, 2020