
काठमाडौँ-कमसल धितो राखेर ऋण प्रवाह गरेपछि वाणिज्य बैंकका सीइओ समेत अहिले कारागार जीवन बिताइरहेका छन्।
धितोको रुपमा राखिएको सम्पत्तीको मुल्यांकन बजार मूल्यभन्दा निकै बढी गरेर ऋण प्रवाह गरेका कारण यसअघि धेरै वटा बैंक समस्यामा परेका थिए। खासगरी यसरी धितोमा राखिएका सम्पत्तीका रुपमा प्राय जग्गा रहने गरेका थिए। तर हालसालै प्रहरीले गरेको एक अनुसन्धानमा बैंकले धितोका रुपमा राखेको सुन पनि कमसल भएको पाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले महालक्ष्मी विकाश बैंकका कर्मचारी र ऋणीहरुमाथी अनुसन्धान गरिरहेको छ।
सीआईबी स्रोतका अनुसार २०७४ सालयता उक्त बैंकमा ११ जना ऋणीले धितोका रुपमा राखेको सुन कमसल भएको पाइएको छ। ‘ सुनको परिमाणको मूल्यभन्दा निकै बढीऋण प्रवाह भएको पाइएको छ। बैंकका उच्च अधिकारीको पनि संलग्नता हुन सक्ने भएकाले गहनरुपमा अनुसन्धान भइरहेको छ’, सीआईबी स्रोतले भन्यो।
महालक्ष्मी विकाश बैंकको ललितपुरको कुमारीपाटीस्थित शाखाबाट कर्मचारीको समेत मिलेमतोमा त्यसरी कमसल धितोमाऋण प्रवाह भएको पाइएको हो। राष्ट्र बैंकले गरेको छानबिनमा कमसल धितोमाऋण प्रवाह गरेको पाइएपछि उसले सीआईबीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो।
स्रोतका अनुसार धितो राखिएको सुनबापत ७ करोड ४२ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो। सामान्यतया बैंकले सुनको परिक्षण गरी तत्कालको बजार मुल्यका आधारमा ऋण दिने गर्छन्। ‘सुनको जाँच र परिमाणको मुल्य निर्धारण गर्नेक्रममै मिलेमतो भएको देखिएको छ’, अनुसन्धानरत सीआईबीका एक अधिकारीले भने।
घटनामा संलग्न भएको आरोपमा हालसम्म तीनजना पक्राउ परेका छन्।