
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश जारी गरेपछि नेकपा अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर मगंलबार उनी निकट नेता सुवास नेम्वाङ सिधै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार हानिए।
तर पार्टीमा उत्पन्न विवादमा सहमतिको प्रयास भन्दै खुमलटार पुगेका नेम्वाङसँगको भेटमा सुरुमै प्रचण्डले राष्ट्रपतिले किन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश किन जारी गरेको भन्ने प्रश्न तेर्साएका छन्।
नेम्वाङ स्वयम्ले प्रचण्डले आफूसँग अध्यादेशबारे अध्यक्ष प्रचण्डले जिज्ञासा राखेको देशसञ्चारलाई बताए। उनले भने,‘आज हाम्रो अत्यन्तै छोटो भेट भयो।
त्यसक्रममा पार्टीको रक्षा कसरी गर्ने भन्नेमा छलफल भयो। पार्टी रक्षाका लागि आफू प्रतिवद्ध रहेको सन्देश अध्यक्ष प्रचण्डले दिनु भएको छ।
त्योसँगै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे पनि अध्यक्ष प्रचण्डले जिज्ञासा राख्नु भएको थियो। नेम्वाङका अनुसार प्रचण्डले भनेका थिए,‘ अध्यादेश के हो? यसले तरंग ल्यायो त?’
जबाफमा नेम्वाङले भनेका थिए,‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बस्नै सकेन भन्दै हुनुहुन्थ्यो। निर्णय नै गर्न पाइएन भन्ने प्रधानमन्त्रीको गुनासो सुन्दै आएको थिए। मलाई त सबै थाहा छैन। केही सन्दर्भमा प्रधानमन्त्रीले यो कदम चाल्नु भएको होला। प्रधानमन्त्री आनन्दमै हुनुहुन्थ्यो। म सिधै बालुवाटारबाटै आएको हो।’
त्योसँगै नेम्वाङले प्रधानमन्त्री ओलीसँग यही बेला ‘हेलो’ गरेर कुरा गर्दा राम्रो हुने सुझाव समेत अध्यक्ष प्रचण्डलाई दिएको दाबी गरे। त्यसपछि उनीहरु दुवै उठेका थिए।