
काठमाडौँ – पार्टीभित्रको अन्तरसंघर्ष चुलिएका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही लचकता देखाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पछिल्लो विवादपछि पहिलोपल्ट उनकै निवास खुमलटार पुगेका छन्।
प्रचण्डका प्रेस संयोजक विष्णु पौडेलका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि ११ बजे खुमलटार पुगेका हुन्।
योसँगै प्रचण्डसँगका अघि ओलीले लचकता प्रर्दशन गरेको बुझिन्छ। यसअघि प्रचण्ड नै विवाद समाधानका लागि भन्दै गरिने छलफलका लागि बालुवाटार पुग्ने गरेका थिए।
ओली र उनीसँग असन्तुष्ट प्रचण्डसँग शनिबार सघन र्वार्ता हुने खासगरी ओली पक्षका नेताहरुले बताएका छन्। तर प्रचण्डपक्ष भने त्यसमा त्यति आसावादी छैन।
पार्टी विवाद कायमै रहेका बेला ओलीले पछिल्लो पटक जारी गरेको संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश पूर्वसहमति अनुसार फिर्ता नलिएको भन्दै प्रचण्डले बालुवाटार पुगेर ओलीलाई पटकपटक थर्काएका छन्।
यस्तो पृष्पठभूमिमा ओली प्रचण्डलाई भेट्न खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा स्थायी कमिटि बैठक आइतबारका लागि तय गरिएको छ। त्यसको पुर्वसन्ध्यामा ओली खुमलटार पुगेका हुन्।
शुक्रबारको भेटमा प्रचण्डले पूर्वसहमति अनुसार अध्यादेश फिर्ता लिन ढिलो भएको भन्दै सहमति कार्यान्वयन गर्न ओलीलाई आग्रह गरेका थिए। प्रचण्डले त्यस्तो आग्रह गरेपछि ओलीले आफूले अध्यादेश फिर्ता लिने आश्वासन दिएका थिए।
तर अघोषित शर्तका रुपमा ओलीले आफूविरुद्ध प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको ‘आरोपपत्र’ फिर्ता लिन आग्रह गरेका थिए। तर प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिन नमिल्ने बरु पार्टी कमिटी बैठकमा सामेल भएर विवाद समाधानमा साथ दिन ओलीलाई आग्रह गरेका थिए।
प्रचण्डसँग चुलिएको विवाद समाधानमा भूमिका निर्वाह गर्नुको स्टा ओलीले उनलाई तर्साउन मगंलबार संवैधानिक ऐन संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए।
राष्ट्रपति भण्डारीले पनि तत्कालै अध्यादेशमा हस्ताक्षर गरेकी थिइन्। यो प्रकरणसँगै ओलीसँगै राष्ट्रपति भण्डारीमाथि प्रचण्ड पक्ष, प्रतिपक्षी दलहरु र संवैधानिक ज्ञाताहरुले नैतिक प्रश्न उठाएका छन्।