
काठमाडौँ – केही लचकता देखाउँदै प्रचण्ड निवास खुमलटार पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन गरेको आग्रहलाई फेरि पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्वीकार गरेका छन्।
आइतबार प्रस्तावित नेकपा स्थायी कमिटि बैठकपूर्व आफ्नै सक्रियतामा पार्टी एकता बचाउने ओलीको प्रयास असफल भएपछि वार की पारको युद्धमा नेकपाको होमिएको अड्कलबाजी बढ्न थालेको छ।
प्रचण्डबाट अस्वीकृत प्रधानमन्त्री ओली त्यहाँबाट सिधै केहीसमयअघि सम्म प्रचण्ड निकटतम मानिने गृहमन्त्री रामबहादुर थापा बादलको सरकार निवास पुलचोक पुगेर उनको समर्थन खोजेका छन्।
अर्थात ओलीले अब वारपारको युद्धमा प्रचण्ड नजिकका नेताहरुलाई आफ्नो पक्षमा खुलेर लागेको देखिन्छ।
खुमलटारमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन आग्रह गरेका थिए। तर प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिने स्थिति नभएको प्रतिक्रिया दिएका थिए। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार ओलीले प्रचण्डलाई भनेका थिए,‘ अहिले तपाईँले मविरुद्ध पेश गरेको आरोपपत्र फिर्ता लिनुहोस्। समस्या समाधान हुन्छ। ममाथि लगाइएको आरोपमाथि छलफल हुन सक्ने स्थिति छैन।’ त
र प्रचण्डले भनेका थिए,‘मैले अव आफ्नो प्रस्ताव फिर्ता लिने स्थिति छैन। पार्टीभित्र यसबारे छलफल पक्का हुनुपर्छ। तपाईँ भोलीको बैठकमा आउनुहोस्।’
त्यसपछि ओली र प्रचण्डबीचको वार्ता टुंगिएको थियो। ओली र पार्टीका वरिष्ठ नेता एवं हाल प्रचण्डलाई साथ दिइरहेका माधवकुमार नेपालबीच प्रचण्ड निवास खुमलाटारमा जम्का भेट भएको थियो।
ओलीसँगको वार्ताबारे ‘ब्रिफिङ’ गर्न तत्कालै प्रचण्डले नेता नेपाललाई खुमलटार बोलाएका थिए। त्यसअघि ओली र प्रचण्डसँगको वार्तामा प्रचण्डलाई साथ दिइरहेको भनिएका र पार्टी समिकरणमा महत्वपूर्ण भूमिकामा रहेका पार्टी उपाध्यक्ष बामदेव गौतम पनि सामेल भएका थिए।