
काठमाडौँ – आफ्नै कारणले पाटीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पद बचाउनका निम्ति संसद विघटनको प्रस्ताव बोकेर शीतल निवास पुगेका छन्।
अहिले यस विषयलाई लिएर ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भइरहेको शीतल निवास स्रोतले बतायो । स्रोतले अब छिट्टै नै ओलीको संसद विघटन गर्ने सिफारिस अनुमोदन गर्ने तयारी गरिरहेको दाबी गरेको छ।
ओलीको यो कदमलाई लिएर तत्कालै सत्ताधारी नेकपा र प्रतिपक्ष दलहरुबाट चर्को आलोचना सुरु भएको छ। र यो सिफारिस फिर्ता हुनुपर्ने माग उठको छ। यसै विषयमा ओलीसँग असन्तुष्ट नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथसँग लिइएको सक्षिप्त अन्तरर्वार्ताः
संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिसलाई लिएर तपाईँको प्रतिक्रिया के छ?
भर्खरै मैले मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीले संसद विघटन गर्ने सिफारिस बोकेर शितल निवास जानु भएको समाचार पाएको छु। यो समाचार अत्यन्तै दुःखद छ। अत्यन्तै गम्भीर समाचार हो यो। अत्यन्तै आपत्तीजनक समाचार हो यो। वास्तवमा प्रधानमन्त्री ओलीले यसो गर्नु भएको हो भने उहाँले संविधानको मर्म र भावनामाथि धावा बोल्नु भएको हो। संविधानविरोधी प्रधानमन्त्रीको कदम कसैले पनि स्वीकार गर्दैन। यो लोकतन्त्र र पार्टीको मर्म विपरित कदम पनि हो। आम राष्ट्रको हितबिपरीत ओलीले आपत्तिजनक कदम चाल्नु भएको छ । यसलाई लिएर मेरो र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यो कदमको सम्पूर्ण नेपाली जनता र पार्टीले विरोध गर्छ। म पनि विरोध गर्छु।
अब प्रधानमन्त्री ओलीलाई पार्टीले कस्तो कारवाही गर्छ?
ओलीले चालेको यो कदम संविधान विपरीत छ। ओलीले चालेको यो कदम संविधानको पालक र संरक्षक रुपमा रहनु पर्ने राष्ट्रपतिले स्वीकार गर्नुहुन्न। यो कदमको विरोध राष्ट्रपतिले गर्न सक्नुपर्छ। उहाँले यो कदम रोक्नु भएन भने उहाँकै हैसियतमाथि पनि गम्भीर प्रश्न उठ्ने छ। राष्ट्रपतिले के भूमिका निर्वाह गर्नुहुन्छ भन्ने हामीले अहिले हेरिरहेका छौँ। अझै पनि केही समय बाँकी छ। राष्ट्रपतिले पनि ओलीको कदमलाई अनुमोदन गर्नु भयो भने मुुलुकका लागि नै दुर्भाग्यपूर्ण हुन्छ। हामी त्यसका विरुद्ध डटेर अघि बढ्छौँ। संसद विघटनको सिफारिस फिर्ता भएन भने ओलीविरुद्ध पार्टीले कठोर निर्णय लिन्छ।
ओलीको यो कदमबारे तपाईँहरुले पहिलेनै संकेत पाएको भनिन्छ। किन रोक्न नसकेको हो?
हामीले यसबारे कुनै पनि संकेत पाएका थिएनौँ। हामीले भर्खरै थाहा पाएको हो। यति बिघ्न, यति निम्त स्तरमा ओली उत्रिनु होला भनेर हामीले कल्पना पनि गरेका थिएनौँ। कम्युनिष्ट पार्टीको अध्यक्ष संसद विघटनको यति निम्न कदममा उत्रिनुहुन्छ भन्ने लागेको थिएन।
आज प्रस्तावित नेकपा स्थायी कमिटी बैठक के हुन्छ।
बैठकक बस्छ। बैठकको मुख्य एजेण्डा यही विषय हुने भएको छ। हामी त्यसबारे छलफल गरिरहेकासमेत छौँ ।