ओली र दाहालले गर्दैछन् एकअर्कालाई कारबाही, नेकपा अब दुई चिरा !

ओली र दाहालले गर्दैछन् एकअर्कालाई कारबाही, नेकपा अब दुई चिरा !
+
-

काठमाडौँ-असंवैधानिक रुपमा संसद विघटन रोजेपछि सर्वत्र आलोचनाको घेराबन्दीमा परेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट पक्ष एकअर्कालाई कारवाही गर्ने भिडन्तमा उत्रिएका छन्।

तर यो भिडन्तमा दुवै पक्षका महत्वपूर्ण मानिएका एकएक जना केन्द्रीय सचिवालय सदस्यहरु रामबहादुर थापा ‘बादल’ र बामदेव गौतम तटस्थ बस्ने निश्चित भएको छ।

संसद भवनमा आयोजित प्रचण्ड–नेपाल पक्षका निवर्तमान सांसदहरुको भेलामा सहभागी नभएका गौतमले आफू संसद विघटनको विपक्षमा तर पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी फुटको साक्षी नबन्ने घोषणा गरेका छन्।

वालुवाटारमा प्रधानमन्त्री ओलीद्वारा आयोजित भेलामा सहभागी हुने अपेक्षा गरिएका बादल आफ्नै सरकारी निवास पुल्चोकमा आफ्ना पक्षका नेताहरुबाट मन्त्री पद छाड्नुपर्ने चर्को दबाबमा परे पनि त्यसबारे निर्णय गर्न हतार गरेका छैनन्।

अनपेक्षितरुपमा आइतबार संसद विघटन गरेका ओलीले आफूविरुद्ध कानुनी र सडक संघर्ष घोषणा गरेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारवाहीको संकेत दिएका छन्। तर प्रचण्ड-नेपाल समूहको सोमबार दिनभरि भएका कसरत हेर्ने हो भने ओली पनि संकटमुक्त छैनन्।

सडकमा बढ्दै गरेका नाराजुलस र सर्वोच्च अदालतमा परेका रिट ओलीतिरै सोझिएका छन्। साँझपख प्रचण्ड–नेपालसँगै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षरसहित संसद विघटन रोक्न माग गर्दै संयुक्तरुपमा सर्वोच्च जाने निर्णय गर्नुले ओली कदम असंवैधानिक ठहर हुने आशा जिवितै छ।

तर असन्तुष्ट पक्षका नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसाल प्रश्‍न गर्छन्, ‘संसद विघटन मात्रै होइन पार्टी फुटाउने अनौपचारिक निर्णय गर्ने ओलीले कहाँकहाँ प्रभाव पार्नु भएको होला?’ राजनीतिक भागबण्डाबाट न्यायाधीश नियुक्त गर्ने अभ्यासलाई संस्थागत गरेको सर्वोच्चले ओली कदमविरुद्ध परेको रिटको के निष्पक्ष फैसला गर्ला त? भन्ने  प्रश्‍नमा भुसालको स्पष्ट संकेत थियो।

प्रधानमन्त्री ओलीले आफ्ना असन्तुष्ट पक्षलाई दिने गरेको धम्की आइतबार यथार्थमा परिणत गरेका थिए। ओलीको धम्की प्रत्यक्ष रुपमा सुनेका तर त्यसमा विश्वस्त नभएका नेताहरु अहिले सबैभन्दा बढी तनाबग्रस्त देखिन्छन्।

प्रचण्ड पक्षका नेता देवेन्द्र पौडेल भन्छन्, ‘विवाद समाधान गरौँ, सहमति गरौँ भन्दै बालुवाटार जाँदा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने दिन आउन सक्छ भन्दै धम्की दिनुहुन्थ्यो। हामीले त्यतिबेला पत्याएनौँ। यस्तो गैरसंवैधानिक कदम उहाँले उठाउनुहुन्छ भन्ने कल्पना पनि गरेका थिएनौँ। तर आज निकै पीडा भएको छ।’

बालुवाटार र बानेश्वरको कसरत

ओलीको असंवैधानिक कदमपछि आइतबार उनी र उनी पक्षीय नेता बिनाको स्थायी कमिटी बैठकको निर्णय अनुसार सोमबार बानेश्वरस्थित संसद भवनमा एक बजे प्रचण्ड–नेपाल पक्षको भेला तय गरिएको थियो। त्यसलगत्तै तीन बजे स्थायी कमिटी र मगंलबार केन्द्रीय कमिटी बैठक डाकेर ओलीलाई अनुशासन उल्लंघनको कारवाही गर्ने अर्थात पार्टी अध्यक्षबाट हटाउने तयारी प्रचण्ड–नेपाल पक्षले गरेको थियो।

बैठकहरुको सूचनाको घण्टी सबैका मोबाइलमा बजिसकेको थियो। तर ओलीले आइतबार राति नै आफू निकट निर्वतमान सांसद, राष्ट्रियसभा सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरुलाई सोमबार बिहान ९ बजे बालुवाटारमा उपस्थित हुन निर्देशन दिए। हस्याङफस्याङ गर्दै उनीहरु ओलीसमक्ष हाजिर भए।

प्रचण्डको सरकार सञ्चालनमा चरम असहयोग, पार्टी कब्जा गर्ने षड्यन्त्र, आफूमाथि अविश्वासको प्रस्ताव दर्ता र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी गरेपछि आफू संसद विघटनको निर्णयमा पुगेको र अब माफी माग्दै ताजा जनादेश ल्याउन प्रतिवद्ध भएर लाग्न ओलीले भेलाका सहभागीहरुलाई निर्देशन दिए।

ओलीले भेलामा सम्बोधन गरिरहेका बेला प्रचण्डबाट टाढिएर ओलीसँग निकट भएका भनिएका गृहमन्त्री बादलले आफ्नो आगामी कदमबारे पुल्चोकस्थित सरकारी निवासमा आफू निकट नेताहरुको सुझाव बटुलिरहेका थिए।

भेलामा सामेल नेकपा स्थायी कमिटी सदस्य देव गुरुङले प्रतिगमनको विरोध गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि लाग्न आफूहरुले गृहमन्त्री बादललाई सुझाव दिएको बताए। छलफलमा नेतृ पम्फा भुसालले गैरसंवैधानिक कदम उठाएका ओलीलाई साथ दिन नमिल्ने भन्दै प्रचण्डका पक्षमा उभिन आफूहरुले गृहमन्त्री बादललाई दबाब दिएको बताइन्।

यता बालुवाटारले प्रचण्ड–नेपाल पक्षले सोमबार बोलाउने केन्द्रीय कमिटी बैठकको निर्णय अवैध हुने र त्यो नमान्ने स्पष्ट निष्कर्ष निकालेको भेलामा सामेल राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बताए।

टाउका गनेर आफूमाथि गरिने कारवाहीको निर्णय अमान्य हुने ठहर गरेका ओलीको निर्देशन अनुसार प्रचण्ड,नेपाललगायत नेताहरु सिंहदरबारमा कानुन विद्हरुसँगको छलफल सकेर संसद भवनमा भेला भएको केहीबेरमा तीन बजे मगंलबार बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बोलाउन पार्टी मुख्यालय धुम्बाराहीका सचिव ईश्वरी रिजालले सदस्यहरुलाई एसएमएस पठाए।

जबकी त्यसअघि बिहान ११ बजे नै प्रचण्ड–नेपाल पक्षबाट पार्टी मुख्यालयकै सचिव श्रीराम ढकालले मंगलबार १ बजे बबरमहलस्थित कार्की ब्याँक्वेटमा  केन्द्रीय कमिटी बैठक हुने एसएमएस पठाएका थिए।

केन्द्रीय कमिटी बैठक बोलाउने मामिलामा प्रचण्ड–नेपाल पक्ष भन्दा एक कदम अघि देखिएका ओलीले आफू कारवाहीमा पर्नु भन्दा पहिले नै प्रचण्ड–नेपाल पक्षका नेताहरुलाई कारवाहीको दायरामा ल्याउने तयारी गरेको बुझिन्छ।

ओलीले मगंलबार बिहान ९ बजे बैठक बोलाएको सूचनाले संसद भवनभित्र ओलीको कदमै असंवैधानिक भएको र तत्काल संसद बैठकको माग गर्ने निष्कर्षमा पुग्दै गरेका नेताहरुको मन चिसिएको थियो।

तर नेकपा केन्द्रीय कमिटी सदस्य शशी श्रेष्ठले आफ्नो पक्षलाई कारवाही गर्ने कुनै पनि हैसियतमा प्रधानमन्त्री ओली नरहेको र ओलीबाट आगामी दिनमा चालिने सबै कदम वैधानिक नहुने बताइन्।

तर ओलीले मंगलबार बिहान केन्द्रीय कमिटी बैठक बोलाउन लागेको सुइँको पाउनासाथ प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल ओलीलाई अनुशासन उल्लंघनको कारवाही गर्ने आइतबारको स्थायी कमिटी बैठकको निर्णयको आधारमा मंगलबारको केन्द्रीय कमिटी बैठकमा पेश गर्न लागिएको सिफारिस पत्र बोकेर निर्वाचन आयोग पुग्न भ्याएका थिए।

यसरी ओली र प्रचण्ड–नेपाल पक्षले एकअर्कालाई कारवाही गर्न द्रुत गतिमा गरेको कसरतको नतिजा सम्भवत मंगलबार नै आउने देखिन्छ।

प्रचण्डले आफूलाई ‘चिटिङ’ र धोकाधडी गरी, छलफलका लागि अन्तिम मौकासमेत नदिएर ओलीले गैरसंवैधानिक तरिकाले संसद विघटन गरेको र यसकाविरुद्ध आफूहरु कठोर हुनुपर्ने निर्देशन दिँदै गर्दा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधनका क्रममा मुलुकको यो सबै परिस्थिति निर्माण हुनुको मुख्य दोषी प्रचण्ड भएको घोषणा गर्दै थिए।

र, उनले प्रचण्डलाई स्पष्टरुपमा अब कारवाहीको भागीदार बन्न तयार हुनसमेत घुमाउरो आग्रह गरे। संसद भवनको भेला सकेर प्रचण्ड–नेपाल पक्षका शीर्ष नेताहरु प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपातिर हानिए।

प्रचण्ड, नेपाल र देउवाबीच संसद विघटनको विरुद्धमा बहुमत सदस्यको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने सहमति त भएको छ। तर स्थायी कमिटी सदस्य भुसालले गरेको संकेत जस्तै सर्वोच्चबाट निष्पक्ष न्याय प्राप्तिको आशा कति गर्ने भन्ने प्रश्न पनि उब्जिएको छ।

ओलीले सोमबार नै आफू कारवाहीको भागीदार हुनुभन्दा पहिले नै नेकपा फुटको घोषणा गर्दै पूर्वएमालेको स्वामित्व लिएको  निर्णय गर्ने नेताहरुको आंकलन थियो। तर केन्द्रीय कमिटी बैठक आह्वान गर्ने मामिलामा एक कदम अघि भएका ओलीले मंगलबार सोही बैठकबाट प्रचण्डलाई अनुशासनको कारवाही गर्ने निर्णयको तयारी गरेको ओली निकट एक स्थायी कमिटी सदस्यले बताए।

उनी भन्छन्, ‘अनुशासनको कारवाही अब ओलीमाथि होइन, प्रचण्डमाथि हुँदैछ। मंगलबार बिहान ९ बजेसम्म धैर्य गर्नुहोस्।’ ती सदस्य भन्छन्, ‘प्रथम अध्यक्ष मात्रै होइन कार्यकारी अध्यक्षसमेत रहनु भएका ओलीले प्रचण्डलाई अनुशासनकै कारवाही गर्नुहुनेछ।’

ओली र प्रचण्ड दुवै एकअर्कालाई अनुशासनको कारवाहीमा उत्रिनु भनेको पार्टी फुटको घोषणा हुनु भएको नेताहरुको बुझाइ छ।

प्रचण्ड–नेपाल पक्षका नेता भुसालका अनुसार ओलीबाट संसद विघटन हुने पार्टी फुटाएको पहिलो अघोषित निर्णय थियो भने पार्टीका कार्यकारी अध्यक्षले बोलाएको बैठक भन्दा अगावै अर्को बैठक बोलाउनु भनेको त्यो पार्टी फुटको दोस्रो अघोषित निर्णय हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?