
काठमाडौँ- सत्तारुढ नेकपा एकताका लागि प्रयास स्वरुप चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को उच्चस्तरीय टोलीले नेकपाको एक खेमाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग छलफल गरेको छ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले डल्लुमा पुगेर सोमबार दिउँसो ३ बजेदेखि करिव एक घण्टा नेता खनालसँग छलफल गरेको हो।
नेता खनालका अनुसार चिनियाँ टोलीले आफूले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नचाहेको तर यहाँको समृद्धि र विकासका लागि नेकपाको एकता चाहेकोमा जोड दिएको थियो।
खनालले पनि आफू पार्टी एकताको पक्षमै रहेको तर स्थिति जटिलताफर्त उम्मुख रहेको उनीहरुलाई सुनाएको बताए। योसँगै चीन र नेपालबीचको सम्बन्ध कसरी सुदृढ गर्ने भन्नेमा पनि आफूहरुले छलफल गरेको नेता खनालले बताए।
चिनियाँ उच्चस्तरीय टोलीले त्यसअघि खनाल खेमाकै अध्यक्ष तोकिएका माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो छलफल गरेको थियो।
त्यो भन्दा अघि यो टोलीले आइतबार नेकपाको अर्को खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै छलफल गरेको थियो। यो टोली आइतबार नेपाल आएको हो।