फिल्ड रिपोर्ट

प्रचण्ड–नेपाल खेमाको आक्रामक प्रदर्शन, निशानामा ओली र उनको कदम

प्रचण्ड–नेपाल खेमाको आक्रामक प्रदर्शन, निशानामा ओली र उनको कदम
+
-

काठमाडौँ– उपत्यकाको तुसारो विस्तारै हट्दै थियो। चिसो सडकमा घाम मुस्किलले देखिन्थ्यो। कोरोनाको त्रासमा मानिस निर्धक्क आउजाउ गर्न नसकेको देखिन्थ्यो। तर मंगलबार बिहान ९ नबज्दै काठमाडौँको बागबजारमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल खेमाका युवाहरु प्रदर्शनका लागि तम्मतयार भइसकेका थिए।

त्यहाँबाट करिब तीन सय मिटर टाढा पुग्दा घण्टाघरस्थित त्रिचन्द्र कलेजको माहोल तात्दै थियो। पार्टी विवाद थेग्न नसकेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेकै दिन राजीनामा दिएका नेता योगेश भट्टराईले उक्त जुलुसको नेतृत्व सम्हाले।

त्योसँगै विद्यार्थी आक्रमक शैलीमा नारा लगाउन थाले। नारा थियो ,‘केपी चोर देश छोड। सरकारको असंवैधानिक कदम खारेज गर’ सरकारमा रहँदा ओलीको प्रशंसा गर्दै हिँडेका नेता भट्टराईको त्यो नाराप्रति समर्थन थियो।

नेपाल विद्युत प्राधिकरण अघिल्तिर पुग्दै गर्दा भट्टराई नेतृत्वको जुलुसमा नेता गिरीराजमणी पोखरेल नेतृत्वको उद्योग व्यसायीहरुको जुलुस मिसिन्छ। पोखरेलले पनि पुस ५ गते नै ओली सरकारको मन्त्रीबाट राजीनामा दिएका थिए।

एकैछिनपछि लैनचौरबाट नुवाकोट र रसुवाका कार्यकर्ताहरुको जुलुस आउँछ। नक्साल र रत्नपार्कबाट आएका जुलुसहरु पनि सँगसँगै अघि बढ्छन्। चितवन र धादिङका कार्यकता कुलेश्वर, टेकु हुँदै आउँछन्। पूर्वी जिल्लाका कार्यकर्ताहरु भक्तपुर, बानेश्वर हुँदै त्यहीँ आइपुग्छन्। भीडमा हजारौँ सामेल भएका छन् र त्यहाँ विविधता पनि झल्किन्छ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार नेकपा प्रचण्ड–नेपाल खेमाले ओलीको असंवैधानिक कदमविरुद्ध राजधानी लगायत मुलुकभरी यसरी ठूलो भीड अर्थात शक्ति प्रदर्शन गर्न सफल भएको छ।

प्रदर्शनले विघटित संसद पुर्नस्थापना र ओलीलाई ‘तानाशाही’बाट सडकमा छिट्टै घुँडा टेकाउने अठोट गरेको छ। प्रदर्शनकारीलाई बाक्लो संख्यामा परिचालित सुरक्षाकर्मीले नियन्त्रण गर्न निकै कोशिस गरे। तर प्रदर्शनकारीको एउटै स्वर सुनिन्छ ,‘यो त सुरुवात मात्रै हो। ओली सडकमा नआएसम्म हामी पनि सडकमै हुन्छौँ।’

ओलीका तीन कदमविरुद्ध पाँच नेताको गर्जन


जुलुसहरु एकिकृत भएको केहीबेरमै भृकुटीमण्डपको आमसभा तात्छ, जब नेताहरुले ओलीका मुख्यतया तीन कदमको गम्भीर र व्याङ्ग्यात्मक शैलीमा विरोध गर्न थाल्छन्।

आमसभालाई सम्बोधन गरेका प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य र नेता नारायणकाजी श्रेष्ठले ओलीले संविधान, सरकार र पार्टीमाथि घात गरेको साझा आरोप लगाएका छन्। ओलीको तानाशाह, व्यक्तिवाद, गुटवाद, बदला लिने प्रवृति समयमै बुझ्न नसक्दा लामो संघर्षबाट स्थापित संविधान, झण्डै दुई तिहाइको सरकार र सबैभन्दा ठूलो पार्टी असफल भएको निष्कर्ष उनीहरुले निकालेका छन्।

सम्बोधनका क्रममा भावुक बनेका प्रचण्डले ओलीको निरङ्कुश शैलीका कारण आफूले जनतासँग माफी माग्नु परेको फेहेरिस्त प्रस्तुतसमेत गरे। अब ओलीका सम्भावित कदमहरु नियन्त्रण नभएमा मुलुक अझै ठूलो भड्खालोमा पर्ने नेताहरुको निष्कर्ष छ।

त्योसँगै संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतबाट सकारात्मक फैसला आउनेमा विश्वास गर्ने तर सडक संघर्षलाई निरन्तरता दिने उनीहरुले घोषणा गरेका छन्। राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि २०६२/६२ को सडक संघर्षसँग उनीहरुले आफनो संघर्षको तुलना गरे।

आफैले मानेको र विश्वास गरेको नेता ओलीविरुद्ध सडकमा उत्रिदा ग्लानीसमेत भएको उनीहरुले सुनाए। ओली विगतका तानाशाहभन्दा फरक नभएको र उनको एकाधिकारवादी शैली तोड्न आफूहरुसँग सडक संघर्षभन्दा ठूलो विकल्प अब केही नभएको उनीहरुको भनाइ छ। संसद नरहेको अवस्थामा ओली कामचलाउ प्रधानमन्त्री भइसकेको उनीहरुको निष्कर्ष छ। र आफूहरुको पार्टी आधिकारिक भएकाले सूर्य चिह्न पनि आफ्नै हुने उनीहरुको दाबी छ।

‘निरंकुश ओली राजा जस्तै घुँडा टेक्ने छन्’


नेता श्रेष्ठले सुरुमै आक्रोश पोखे, ‘हामीले यो सडक संघर्ष ओली सरकारको असंवैधानिक र प्रतिगमन कदमविरुद्ध गरेका हौँ। यो कदम असफल बनाउने छौँ। शान्तिपूर्ण हाम्रो संघर्षलाई षड्यन्त्र पनि होला सचेत हुनुहोला।’

०६२/६३ सालमा आफूले गरेको सडक संघर्ष सम्झिँदै आफ्नो सम्बोधन सुरुवात गरेकी नेता शाक्यको आक्रोशको भेल ओलीप्रति बग्यो। उनले भनिन्, ‘लगभग १५/१६ वर्ष अगाडि यसैगरी हामी सडकमा आएका थियौँ। त्यतिबेला निरंकुश राजतन्त्रका विरुद्धमा उत्रिएका थियौँ। अहिले निरंकुश केपी ओलीको विरुद्धमा।’ उनी त्यतिमा रोक्किनन्।

उनले भनिन्, ‘लोकतन्त्र, गणतन्त्र, संविधान, संघीयता, समाजवादलाई लिएर गर्व लागेको थियो। तर ओलीले यी सबै व्यवस्थामाथि धावा बोलेका छन्। संविधानमाथि कु गरेका छन्।’

उनले जनताको शक्तिअघि राजाहरु झुकेको ठाउँमा ओली सजिलै झुक्ने दाबी गरिन्। उनी भनिन्, ‘मलाई दुःख छ ओली ‘कमरेड’ होइन निरंकुश, स्वेच्छाचारी र सामान्ति शासक बन्नु भयो। त्यसका विरुद्ध खुट्टा कमाउने छैनौँ।’

‘गफ हाँकेर ओलीले तीन वर्ष खेर फाले’


नेता खनाल पनि ओलीसँग आक्रमक देखिन्थे। उनको आक्रोश थियो, ‘दुई तिहाई बहुमत ल्याउने नेकपा हो। केपी ओली होइन। बालुवाटारमा बस्ने एउटा गुट तानाशाही गुट मात्रै। पार्टी विरोधी गुट मात्रै हो। त्यसले जनादेशमाथि घात गरेको छ।’

ओलीको असंवैधानिक कदम उल्टाउने भन्दै खनालले आफ्नो पार्टी आधिकारिक भएको र सूर्य चिह्न पनि आफ्नै भएको दाबी गरे।

उनले भने, ‘सबैभन्दा ठूलो पार्टी बनाएर ओलीमाथि अपार विश्वास गरेका थियौँ। उहाँसँग नेतृत्वको त्यति क्षमता नभएपनि परिर्वतन हुनुहोला भनेर उहाँलाई प्रधानमन्त्री बनाएका थियौँ तर बालुवाटार पुगेका दिनदेखि पार्टीलाई बिर्सनु भयो। यो पार्टीलाई भर्याङ मात्रै बनाइदिनु भयो।’

आफूहरुले दिएको सुझाव विपरीत ओलीले एकलौटी ढंगबाट मन्त्रिपरिषद्, योजना आयोग, नीति तथा कार्यक्रम बनाएको आरोप खनालको छ। ओलीले गफैगफ हाँकेर तीन वर्ष खेर फालेको खनालको निष्कर्ष छ।

बीचबीचमा कार्यक्रम सञ्चालक नेता भटटराईले सूर्य चिह्न सहभागीलाई देखाउन आग्रह गरेर यसप्रति आफूहरुको स्वामित्व रहेको सन्देश दिने कोशिस गरेका थिए।

‘बालुवा जति पेले पनि तेल निस्किनेवाला छैन’


नेता नेपालले मंगलबारको सडक संघर्षले २०३७ साल सम्झिन पुगेको बताए। उनले भने,‘२०३७ सालमा पञ्चायती निरंकुश शासनविरुद्ध विद्यार्थी उत्रिएका थिए। आज हामी त्यसैगरी पुस ५ गते अर्थात कालो दिनको विरुद्ध हामी छौँ। त्यो बेला मैले भनेको थिए राजतन्त्रको आयु पुग्यो। अब निरंकुश बाटो समातेका केपी ओली र उनको प्रवृतिको पनि आयु पुग्यो।’

अब नेपाली जनता यस्ता निरंकुश प्रवृतिविरुद्ध एक हुनेमा नेता नेपालको दृढता प्रदर्शन गरेका थिए। जनताको संविधानको मर्ममाथि कुल्चिएका ओलीलाई अब जनताले बालुवाटारबाट निकाल्ने उनको उद्घोष थियो।

नेपालले पनि मुलुकको सबैभन्दा ठूलो पार्टी टुक्राउने काममा ओलीले भूमिका खेलेको आरोप लगाए। ‘बयलगाढा चढेर वासिङटन पुगिदैन’ भन्ने ओलीको अभिव्यक्तिबारे टिप्पणी गर्दै ओली गणतन्त्र र संघीयता विरोधी भएको नेता नेपालले कटाक्ष गरे। जनतालाई सुख कम र दुख बढी दिएका ओली प्रवृति छिट्टै नाश हुने उनको भनाइ थियो।

नेता नेपालले भने , ‘ओली अझै सुध्रिनुहुन्छ कि भनेर केही कमरेडहरु लाग्नुभएको छ। तर बालुवाटारको बालुवा पेलेर तेल निस्किन्न भनेको छु मैले?’

नेता नेपालले पार्टीको अनुशासन, बैठक, सल्लाह र निर्णय उल्लघंन गर्ने ओलीमा कम्युनिष्ट आचरण नभएको आरोप लगाए। संविधानको रक्षक मानिएका सुवास नेम्वाङ पनि ओलीका अघि नतमस्तक भएको दाबी नेपालको थियो।

उनले भने, ‘कामचलाउ भएको कतै विज्ञप्तिसमेत ननिकालेको प्रधानमन्त्री ओलीले ललिपप बाँडेर नेताहरुलाई विभाजित गर्ने काम गरेका छन्। योसँगै नेपालले आफ्नो पार्टी नेकपा आधिकारिक भएको दोहोर्‍याए।

‘वैशाखउता ओली प्रधानमन्त्री रहँदैनन्’


आम सभामा अन्तिम वक्ताका रुपमा प्रस्तुत भएका अध्यक्ष प्रचण्डले संसद नभई ओली सरकार भंग भएको टिप्पणी गरे। आफूलाई बैठकमा बोल्नसमेत नदिएर आफू निरङकुश हुँदैछु भन्ने सन्देश ओलीले सुरुमै दिएको प्रचण्डको आरोप थियो। तर सचेत रहँदारहँदै ओलीले मुलुकलाई भड्खालोमा पारेको र त्यसको उद्धारका लागि आफूहरुले सडक संघर्ष रोज्नुपरेको प्रचण्डले बताए।

उनले भने, ‘ओलीको प्रतिगमनकारी कदमका कारण सडकमा यसरी ओर्लिनुपर्छ भन्ने हामीले सोचेका थिएनौँ। तर विडम्बना हामी विरोधका लागि सडकमा छौँ।’

प्रचण्डले ओलीलाई चुनौति दिँदै ओलीले जे–जे गरेपनि आफूहरु उनलाई छोड्ने पक्षमा नभएको उद्घोष गरे।

उनले भने, ‘ओलीविरुद्धको यो आन्दोलन ट्रेलर मात्रै हो। यो भत्कौरो मात्रै हो। जन्ती आउन बाँकी छ। बाजा बज्न बाँकी छ। संसद पुनर्स्थापना नभए आँधीहुरी आउने छ।’

प्रचण्डले ओलीले संसद भंग गरेर तोकेको चुनाव हुनेमा विश्वास नभएको बताए।

उनले भने, ‘वैशाखउता ओली प्रधानमन्त्री पनि रहँदैनन्। नेपालको राजनीतिक इतिहासबाट उनको पत्तासाफ हुनेवाला छ। उनी कसैको गोटी बनेका छन्।’

प्रचण्डले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा भारतले ओलीलाई समर्थन गरेको संकेत गरेका थिए। प्रचण्डले पनि नेता नेपालले जस्तै ओलीको बयलगाडाको अभिव्यक्तिको प्रसंग निकालेका छन्। प्रचण्डको प्रमुख प्रतिपक्ष कांग्रेसप्रति निशाना थियो।

प्रचण्डले मध्यावधि चुनावको सपना नदेख्न कांग्रेसलाई आग्रह गरेका छन्। ओली कदमविरुद्ध नेकपाको यो पहिलो ठूलो प्रदर्शन हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?