
बुटवल- परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा गएको बताएका छन्।
शनिबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले दुईतिहाइ मत प्राप्त सरकार हटाएर फेरि मुलुकलाई जटिलतातर्फ धकेल्ने प्रयास भएकोले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको बताए। उनले पद लोभका कारण पार्टी र मुलुकको भविष्य संकटमा परेको र त्यसबाट जोगाउन नयाँ जनादेशमा जान बाध्य भएको बताए।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले भने, ‘तितो सत्य यही हो, उहाँहरुको पद लोभको कारण पार्टीमा गम्भीर समस्या भएको चौतर्फी घेराबन्दी गरिएको, वैधानिक बाटोबाट भन्दा मुढेबलको भरमा पार्टी र सरकार कब्जा गर्न खोजेको कारण प्रधानमन्त्री विधि पद्धतिबाट मुलुकलाई निकास दिन ताजा जनादेशमा गएको हो।’
उनले पार्टी विभाजन नभएको भन्दै सडकमा आन्दोलन छाडेर वैशाखमा हुने निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरे।