
झापा- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले झापाको बिर्तामोडमा प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार प्रदर्शन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा गरेपछि प्रचण्ड-नेपाल समूह अहिले सडक आन्दोलनमा छ।
झापाको बिर्तामोडमा आयोजित विरोध सभामा बोल्दै पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले दुई जना पाइलट रहेको ठूलो जेट विमानलाई एकजना चालकले दुर्घटना गराएको बताए।
उनले भने, ‘एक जना क्याप्टेनले विमान दुर्घटना गराए पनि अर्का क्याप्टेनलाई साथ दिनु तपाईं/हाम्रो दायित्व हो। गलत गर्ने पाइलटलाई कक्पिटबाट निकालिदिएका छौँ।’
प्रतिनिधि सभा प्रधानमन्त्री केपी शर्मा ओलीले खाइदिएको र जनताका प्रतिनिधिको थलो खाने अधिकार उनलाई नभएको भट्टराईको भनाइ थियो।
उनले भने, ‘तर फेरि पनि पार्टी एकताबद्ध हुनुपर्छ भनेर हामी भन्न चाहन्छौँ।’ उनले पार्टीका कार्यकर्तालाई संयमित हुन पनि आग्रह गरे।
भट्टराईले ओलीका कार्यकर्तालाई ओलीलाई धेर नउकास्न आग्रह गरे। अब उनको राजनीतिक जीवन समाप्त भएको बताउँदै भट्टराईले ओलीलाई अब आराम गर्न सुझाव दिनुपर्ने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै विघटित प्रतिनिधि सभा सदस्य धर्मशीला चापागाईंले अहिलेको संविधान शहिदहरुको बलिदानको उपज भएको बताइन्।
उनले भनिन्, ‘जनताको भरोसा चकनाचुर भएको छ। प्रतिनिधि सभा विघटन गरिएपछि म आफैंलाई ग्लानी भएको छ।’
प्रधानमन्त्री केपी ओलीलाई संविधान कुल्चिने कुनै अधिकार नभएको उनले बताइन्। उनले भनिन्, ‘तपाईंका सहयोद्धा सडकमा छन्। तपाईंलाई यो कदम चाल्न अधिकार कस्ले दियो? कसले उचाल्यो तपाईंलाई?’
विरोध सभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध चर्का नाराबाजी प्रचण्ड–नेपाल समूहका नेता/कार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए।