
काठमाडौँ- नेकपाको एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुई वटा ‘नटबोल्ट ’ फुत्किएपछि आफ्नो पार्टी गतिशील बनेको दाबी गरेका छन्।
प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्वारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले खिया लागेका ‘नटबोल्ट ’ आफैँ फुत्किएको र पार्टीको गाडी तीव्र भएको दाबी गरे।
उनले भने, ‘निर्वाचन आयोगबाट एउटा पत्र पाएँ। उहाँहरुले एउटा निवेदन हाल्नु भएको रहेछ। असली हामी हौँ भन्दै। यो बरमझियाको बुढाको पेडा पसल हो? सक्कली र नक्कली? पेरिसडाँडामा १२–१५ जना बसेर पत्रकार सम्मेलन गर्नु भएको छ।’
उनले प्रचण्ड-नेपाल खेमालाई लक्षित गर्दै भने, ‘जसको घर हो, ऊ निवेदन हाल्न जान्छ? मेरो घर हो भनेर? हामीले बनाएको पार्टी मेरो हो भनेर हामी निवेदन हालिरहन पर्ने छैन। भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भनेर दाबी गर्न मिल्छ?’
ओली त्यतिमा सीमित भएनन्। उनले भने, ‘अलिअलि मान्छे त सिसीमा औषधि बिक्री गर्नेले पनि रत्नपार्कमा जम्मा गर्छ। उहाँहरुको हालत त्यो भन्दा बढी हुने छैन। टाउको दुखेको, पेट दुखेको, कम्मर दुखेको, गानोगोला भएको सबैको औषधि बिक्री गर्न रत्नपार्कमा केही मानिस भेला गर्ने काम अब उहाँहरुको हो। उहाँको राजनीति छैन। उहाँहरुको देश, जनता र लोकतन्त्र पनि होइन। संविधान पनि होइन। संविधान संशोधन गरेकोमा, नयाँ नक्सा छापेकोमा कत्रो पीडा?’
उनले खाइपिएर कार्की बैङ्केटमा गएर ओली निकालेको पत्र बोकेर निर्वाचन आयोग पुग्दा आयोगको आयुक्तहरु कति हाँसे होलान्? ओलीको थप प्रश्न थियो। उनले भने,‘ जसको कटेरो, उसको पुछर बाहिर।’