
काठमाडौँ – नेकपाको एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्री को छ? भन्ने कण्ठै भएको दाबी गरेका छन्।
सरकारले गरेका असाधारण कामका कारण नेपालको प्रधानमन्त्रीबारे भारतभरि प्रचारप्रसार भएको उनले दाबी गरेका हुन्।
प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्वारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसासमेत गर्दै नेपालको राष्ट्रिय आकांक्षा थाहा भएको दाबी गरेका छन्।
तर प्रचण्ड,माधव नेपाल, झलनाथ खनालहरु सरकारको आकांक्षाबारे नबोल्ने गरेको ओलीले आरोप लगाएका छन्। उनले भने,‘ बरु ढुंगो बोल्ला ऊ बोल्दैन भनेजस्तै प्रचण्ड, नेपाल र खनाल सरकारको प्रशंसामा बोल्दैनन्। किनकि उहाँहरुको चित्त दुःख्छ। उहाँहरुका छाती ठूलो भएपनि चित्त सानो छ। त्यसैले बाहिरका मानिस बोल्दा उहाँहरु बोल्नुहुन्न।’
उनले तीन दिनअघि मात्रै उर्जासचिवको नेतृत्वको टोली भारतमा पुगेर शारदा व्यारेज र नहरका मामिलामा छलफल गरेको बताए। उनले भारत र चीन दुवै छिमेकी राष्ट्रसँग सम्बन्ध राम्रो बनेको दाबी गरेका छन्। उनले सुरुङ हेर्न बिदेश जान नपर्ने दाबी गरे।