
काठमाडौँ -नेकपा एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड- नेपाल खेमाको प्रदर्शनका नारालाई इंगित गर्दै ‘गोरु नाङ्गो देख्दा आफुलाई लाज नलाग्ने’ दाबी गरेका छन्।
उनले आफूले राम्रो काम गरेपछि अल्झाउन, छिर्के लगाउन, रोक लगाउन खोजेको र त्यो असफल भएपछि अर्को पक्षले सडकमा आफ्नो मर्यादामाथि आँच आउनेगरी, प्रतिष्ठा भत्काउने गरी नारा लगाउन खोजेको दाबी गरेका छन्।
प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले संसद पुनःस्थापनाको सपना नदेख्न आग्रहसमेत गरेका छन्।
उनले मुलुक चुनावमा गइसकेको, निर्वाचन आयोग र सुरक्षाकर्मी त्यसको तयारीमा लागिसकेको अवस्थामा संसद पुनःस्थापना नहुने बताए।
उनले प्रचण्ड -नेपाल पक्षलाई लक्षित गर्दै भने,‘ दुई वटा अंक भएको सिट मात्रै ल्याएर देखाउनुहोस्। तर त्यस स्थितिमा उहाँहरु पुग्नुहुन्न। उहाँहरु फेरि फर्किनुहुन्छ। फेरि फर्कनु भयो भने उपद्रो मच्चाउन पाइँदैन। पार्टीको नेतृत्वको आदेशमा चाल्नुपर्छ। हामीले व्यक्ति पर्कन दिने छौँ। तर प्रवृति फर्कन दिने छैनौँ।’
उनले आफूविरुद्धको अविश्वासको प्रस्ताव बोकेर कहिले राष्ट्रपतिकहाँ कहिले अन्त पुगेको दाबी गरे। उनले भने,‘उनीहरुले हामीसँग बहुमत छ भनिरहेका छन्। देखाउ न वैशाख १७ र २७ गतेको निर्वाचमा। बाटो सहज छ।’
उनले युवाहरुले यो देश बचाउन आवश्यक भएको बताएका छन्। अर्को पक्षले अराजकता मच्चाएर, मुलुकलाई अस्थिरतातर्फ धकल्ने काममा मात्रै तीन वर्ष खेर फालेको ओलीको आरोप छ।
दुई तिहाई भएको पार्टी फुटाएर विभिन्न पक्षसँग जोडजाम गरेर पुतली सरकार बनाउने नीति अर्को पक्षको भएको उनले आरोप लगाए। त्यो नीति तोड्न आफूले संसद विघटन गरेको ओलीको दाबी छ।