
काठमाडौँ- पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्मको ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोसबल्लभ पौडेलका अनुसार मंगलबार बिहान ८ बजे गोरखा दरबारको हनुमान भन्ज्याङबाट ‘एकीकरण पदयात्रा’ सुरु भएको हो।
दुई सय ९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखादेखि काठमाडौँसम्म विजय अभियानको दौरानमा तत्कालिन गोर्खाली सेनाद्वारा प्रयोग भएका मार्गहरुलाई समेटेर ‘एकीकरण पदयात्रा’ समापन हुने पौडेलले बताए।
‘एकिकरण पदयात्रा’ सामेल सेनालाई पृतनापति उपरथि विनयविक्रम राणा र गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले संयुक्त रुपमा टर्च, नेपालको झण्डा र नेपाली सेनाका प्रथम छ कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज) का झण्डा हस्तान्तरण गरेका छन्।
पौडेलका अनुसार ‘एकीकरण पदयात्रा’मा गोरखास्थित रणसिंह दल गण, शार्दूलजंग गुल्मका सेनाहरु सामेल भएका छन्।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका मार्गहरु गोरखाको दरबार जोरचौतारी, ताप्ले, अश्राङ, बोर्लाङ, बोर्लाङघाट बाट धादिङ , नुवाकोट हुँदै ‘एकीकरण पदयात्रा’का सेनाहरु आगामी पुस २६ गते काठमाडाैँ पुग्ने नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले गत वर्षदेखि गोरखादेखि काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’ गर्ने परम्परा स्थापित गरेको हो।
यसैबीच पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नागरिक मुल समारोह समितिले आगामी पुस २७ गते राजधानीमा भव्य कार्यक्रम गर्ने तयारी गरेको छ।
यस्तै ‘नेपाली हामी रहाैँला कहाँ नेपालै नरहे, उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ भन्ने नाराका साथ अभिनेत्री एवं सामाजिक अभियान्ता मनिषा कोइराला, रमेश खरेल र भरत बस्नेतले संयुक्तरुपमा मंगलबार दिउँसो एक बजे होटल येल्लो प्यागोडामा पत्रकार सम्मेलन गर्दैछन्।