
झापा – झापाका विभिन्न शहरी इलाकाबाट मोटरसाइकल चोरी हुने घटना नयाँ होइन। मोटरसाइकल चाेरी सम्बन्धी उजुरीका चाङले प्रहरीलाई समेत टाउको दुखाईको विषय बनिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीले चलाएको विशेष अभियानले अहिले आएर सफलता पाएको छ।
झापाको विर्तामोडका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका धेरै उजुरी इलाका प्रहरी कार्यालय अनारमनीमा परेपछि उक्त कार्यालयले ‘अपरेसन हन्ट’नाम गरेको अभियान नै सञ्चालन गरेको कार्यालयका प्रमुख, प्रमुख नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
उनले भने, ‘हामीले विशेष अभियान नै चलाएर अहिले सात जना मोटरसाइकल चोर्ने गिरोहलाई पक्राउ गर्न सफल भयौँ।’
इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरी गरेर धन्दा चलाउने गहिरोका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरुले विर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउँदै आइरहेको खुलेको छ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले मंगलबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
उनीहरूले विर्तामोडबाट मोटरसाइकल चोरी गरेर पहाडका विभिन्न दुर्गम स्थानमा लगेर राखेर बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ।
डिएसपी रिजालले भने, ‘जहाँ प्रशासनको पहुँच पुग्दैन, त्यहाँ उनीहरूले बिक्री गर्ने गरेको पाइएको छ।’
मोटरसाइकल चोर्नेहरू पक्राउ पर्नेमा माइ नगरपालिका–६ बस्ने मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षिातिज भनिने रोशन तामाङ र वडा नम्बर ८ का रोशन बुढाथोकी रहेका छन्।
त्यस्तै पाचँथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बु रहेका इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख, डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
प्रहरीले उनीहरुको साथबाट झापा लगायतका विभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ।
पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।