शंकर पोखरेलको दाबी- प्रचण्डले समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा पुग्न खोज्दा पार्टी विभाजन

शंकर पोखरेलको दाबी- प्रचण्डले समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा पुग्न खोज्दा पार्टी विभाजन
+
-

काठमाडौँ- संसद विघटनसँगै नेकपा राजनीतिकरुपमा अलग भएको २५ दिन पूरा भएको छ। पार्टी विभाजनको दोष एकअर्कालाई थोपर्दै दुवै पक्षका नेताहरु सार्वजनिक रुपमा तल्लोस्तरको गालीगलौजमा उत्रिने क्रम जारी छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा पुग्न खोज्दा पार्टी विभाजन भएको दाबी गरेका छन्।

उत्कर्षमा पुगेको विवाद समाधानका लागि ओलीका तर्फबाट ‘दूत’ का रुपमा बारम्बार दाहाललाई उनले भेटेका थिए। तर संसद विघटनसँगै पार्टी विभाजन भएपछि मौन रहेका पोखरेलले बिहीबार फेसबुक पेजमा लामो स्टाटस पोष्ट गर्दै भनेका छन्, ‘उहाँ सहमतिमा होइन, समीकरणको बाटोवाट सत्तामा पुग्ने हतारोमा हुनुहुदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम ब्यहोर्दै छौ।’

पार्टी एकताका लागि दोस्रो तहका नेताहरुद्धारा सारिएका विकल्पमा दाहाल सकारात्मक नभएको उनको भनाइ छ।

यस्तो छ पोखरेलले सार्वजनिक गरेको स्टाटस्

पार्टी एकताको रक्षाका लागि गरिएका प्रयासहरु किन असफल भए भनेर कमरेडहरु प्रश्न गर्नुहुन्छ । म कति कुरा बताउँ भनेर अन्योलमा पर्छु । प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिएँ जनार्दन शर्माको साथमा । त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वकासाथ सुझाएको थिएँ । तर कमरेड प्रचण्ड त्यसप्रति एकरति पनि सकारात्मक देखिनु भएन । मेरो तर्फवाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनु भएन । उहाँ आफ्नो भित्री योजनामा निकै प्रतिवद्ध भइसक्नु भएको रहेछ । उहाँ सहमतिमा होइन, समीकरणको बाटोवाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम ब्यहोर्दै छौ । पार्टी एकता समयको माग र आवश्यकता थियो । दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा आफुलाई प्रस्तुत गर्नु भो । हामीले वैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि बढ्नु उचित हुने सुझाव दिएका थियौँ । तर उहाँहरुले भावनात्मक कुरा गर्नु भो । हामीले त्यसलाई स्वीकार गर्यौँ । तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन । भएको शक्ति समीकरणका माध्यमवाट अघि बढ्ने कुरामा नै हमेसा रुची देखियो । तर आज आएर विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो । तर पनि यसले दुई फरक आन्दोलनका प्रवृत्तिहरुलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ । एकातिर कमरेड केपीको साथमा रामवहादुर थापा वादल हुनुहुन्छ अर्कोतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल। यसले पनि नयाँ शिरावाट आन्दोलनलाई पुनर्गठन गर्ने अवसर प्रदान गरेको छ ।

नेपाली राजनीतिमा पुरानो पुस्ताले अधिकार प्राप्तिको लडाइँमा ऐतिहासिक भूमिका निर्वाह गरेकै हो । नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले एउटै पुस्ताले तीनवटा क्रान्तिको नेतृत्व गरेको कुरा सगौरव चर्चा गर्नुहुन्थ्यो । वास्तवमा क्रान्तिको इतिहासमा यो अनुपम कुरा नै थियो । तर दुनियाँमा एउटा क्रान्तिबाट युगको परिवर्तन हुन्छ । तर हामी कहाँ तीनवटा क्रान्तिपछि पनि युग परिवर्तनको आभाष दिन सकिएको छैन । यस्तो किन ? पुरानो पुस्ताका नेताले खोज्ने कोशिस कहिले गर्नु भएन । कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नु भएको थियो । उहाँलाई चारैतिरवाट घेरावन्दी गरियो र अपमानजनक हिसाबले पार्टी र आन्दोलनवाट बाहिर पठाउने कोशिस गरियो । कमरेड केपी ओलीको प्रतिनिधिसभा विघटनको घटनालाई सोही परिपेक्ष्यमा हेर्नुपर्दछ । यो एक प्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्धमा कमरेड केपी शर्मा ओली नेतृत्वमा भएको राजनीतिक बिद्रोह हो । नयाँ युगतर्फको पाइला हो ।

नेकपाभित्र कमरेड केपी शर्मा ओलीलाई एकता निर्माणमा असफल भएको आरोप लगाइएको छ । मेरो विचारमा नेपालका पार्टी निर्माणमा देखिएको जडताको परिणाम हो यो । नौ सदस्यीय सचिवालयमा सात जना पार्टी प्रमुख हुनु र चार जना पूर्वप्रधानमन्त्री हुनु आफैमा एकता निर्माणको चुनौती थियो । पश्चिमा मुलुकहरुले राजनीतिमा आउनसक्ने यस प्रकारको अवस्थाको समाधान पहिले नै खोजेका थिए । समाजवादी चीनले पनि त्यसको समाधान खोजिसकेको छ । तर हामीले पद्धतिगत सुधारको साटो व्यवस्थापनमा जोड दियौँ र आजको संकटलाई आमन्त्रण गर्यौँ।

मेरो विचारमा पार्टी पद्धतिमा सुधारको प्रयास नगर्ने हो भने पुनर्गठित पार्टीहरु भित्र पनि भविष्यमा यही प्रकृतिको समस्या नआउला भन्न सकिन्न । अहिले प्रचण्ड र माधव कमरेडहरुका बीचमा चलिरेहको छलफलले पनि त्यही संकटलाई संकेत गरिरहेको छ ।

कतिपय कमरेडहरु नयाँ शिरावाट एकताको पहल गर्न अनुरोध गरिरहनु भएको छ। त्यो पहलकदमीका लागि यस्ता कुरामा मतैक्यताको आवश्यकता पर्दछ ।

आजको संकटको कारण प्रतिनिधिसभाको विघटन हो या दुई तिहाईको जनादेशलाई र पार्टी एकताको भावनालाई आत्मसात गर्न नसक्ने कुरा हो भन्नेमा हाम्रा बीचमा बिमती रहेछन्।  प्रतिनिधिसभा विघटन परिणाम हो । कारण होइन । कारण त हाम्रो पार्टी प्रणालीमा छ र त्यसमा सुधार नै नयाँ एकताको आधार हो ।

आउनुहोस् नयाँ जनादेशको बाटोवाट नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकतावद्ध गरौँ । पार्टी पद्धतीको सुधारका माध्यमवाट नयाँ युगको सारथीको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरौँ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?