
काठमाडौँ- सत्तारुढ नेकपा दाहाल –नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद विघटन र त्यसपछि पनि अनुशासन उल्लंघनलाई निरन्तरता दिएकाले कारवाही किन नगर्ने भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन माग गरेको छ।
दाहाल–नेपाल पक्षले एक पत्र लेख्दै आफ्नो गरिमामय पदको मर्यादालाई ख्याल नगरी संविधानबिपरीत संसद भंग गरेको र त्यसपछि पनि असंवैधानिक गतिविधि जारी राखेको भन्दै ओलीलाई स्पष्टीकरण सोधेको हो।
यो पक्षका सदस्यद्वय सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगे ओलीलाई कारवाही गर्नका लागि स्पष्टीकरण पत्र बुझाएका हुन्।
तर उनीहरु बालुवाटार प्रहरीको अवरोधका कारण प्रधानमन्त्रीको सरकारी निवासको सचिवालयमा नभई गेटमै पत्र छोडेर फर्किन बाध्य भएका छन्।
पत्र बुझाउन बालुवाटार पुगेका पाण्डेले आफूहरुले पत्र दर्ता गर्न नपाएको बताए। उनले भने,‘ प्रधानमन्त्रीले गरेका र जारी राखेका गतिविधि संविधान र पार्टी विधानबिपरीत छन्। उहाँले अनुशासन उल्लंघन गरेको निष्कर्षसहित हामीले उहाँलाई अध्यक्षबाट हटाइसकेका छौँ। अब सदस्यबाट पनि किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको हो।’
दाहाल–नेपाल पक्षले ओलीलाई लेखेको स्पष्टीकरण पत्रमा उनले पार्टी अध्यक्षको गरिमामय पदमा रहँदा संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटनको कदम चालेर संविधान र लोकतन्त्रमाथि घात गरी देश र पार्टीमाथि गम्भीर आघात पु¥याएको ठहर गरिएको छ।
पत्रमा भनिएको छ,‘ हाम्रो पार्टी नेकपाको अन्तरिम विधानको धारा ५६ (क)को (१), (२), (३), (४) र (५) उल्लंघन गरी पार्टी अनुशासन उल्लंघन गरेकाले पुस ७ गते बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पार्टी विधानको धारा ५६ को उपधारा (१) अनुसार पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो।’
दाहाल–नेपाल पक्षले आफ्नो केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाइसकेपछि पनि उनले पार्टी निर्णय उल्लंघनलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ।
पत्रमा भनिउको छ,‘ पार्टी विरोधी गतिविधि गरिहनुभएका तपाईंलाई सदस्यबाट निष्कासन किन नगर्ने ? पत्र प्राप्त गरेको वा तपाईंको निवासमा टाँस गरेको मितिले तीन दिनभित्र स्पष्टीकरण दिनुहोला। तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए तपाईंलाई थप कारबाही हुने बेहोरा सूचित गरिन्छ।’