समाचार टिप्पणी

नेपालमा भिड्दै भारत र चीन

नेपालमा भिड्दै भारत र चीन
+
-

काठमाडौँ – नेकपा एकताका लागि नेपालमै आएर ‘लविङ’ गरेको उत्तरी छिमेकी चीन यतिबेला छट्पट्टीमा देखिन्छ। संसद विघटनसँगै नेकपाको राजनीतिक विभाजनले आत्तिएका चिनियाँ पदाधिकारीले आश मारेका छैनन्। शीतल निवास धाउने क्रम उनीहरुको जारी छ।

००

अर्कोतर्फ केपी ओलीसँगको सम्बन्धमा उत्तारचढाव झेलेको दक्षिणी छिमेकी भारत द्विविधाग्रस्त नै देखिन्छ, नेपालको सम्बन्धबारे। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पछिल्लो दिल्ली भ्रमणले त्यसलाई स्पष्ट पारेको छ। ओलीले सीमा विवादपछि संकटग्रस्त बनेको भारतसँगको सम्बन्ध सुधार उन्मुख छ भन्ने दाबी गरिरहेका बेला ज्ञवालीको दिल्ली भ्रमणको सन्देश उनका लागि उत्सावर्द्धक देखिएन।

भारतले नचाहेको ‘ईपीजी रिपोर्ट’ र सीमा विवाद ज्ञवालीले उठाउने संकेत पाएर नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीसँग भेटघाट नगरेको अडक्लबाजी बढेको छ। त्योसँगै ओलीलाई ‘केयर टेकर’ सरकार मानेर उनको सरकारकासँग न्यूनतम ‘इङगेजमेन्ट’ को नीति भारतले अख्तियार गर्ने संकेतका रुपमा पनि यसलाई हेरिएको छ।

तर ओलीले ‘नाकाबन्दी’ र ‘सीमा विवाद’ नाकाकै तेवर देखिएमा भारतीय कूटनीतिज्ञहरुलाई उनीहरुका समकक्षी बाहेक नेपालको उच्चस्तरमा पहुँच दिनेबारे अब उनले सोच्न सक्ने संकेत एक उच्च सरकारी अधिकारीले दिएका छन्।  ज्ञवालीको अपमानले एकातिर भारतसँगको सम्बन्धबारे अनुमान बढाएको छ भने अर्कोतिर संसदमा त्यसबारे दिल्लीमा कुरा उठाउने ठोकुवा गरेका ओली आलोचकहरुका अझ तिखो निशाना बन्ने निश्चित छ। ओलीको त्यो ठोकुवा आफ्नो गिर्दै गरेको छवी माथि उठाउने रणनीतिक चाल भएपनि त्यो तत्काल असत्य सावित भएको छ।

चीनले भने अहिले पनि नेकपा एकताको पक्षमा गोप्य भेटघाटलाई प्राथमिकता दिइरहेको छ। संसद विघटनको सात दिनपछि पुस १२ गते चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरु नेपाल आए। ‘मिशन’ असफल बनेपछि पनि उनीहरुले सक्रियता कम गरेका छैनन्। शुक्रबार चिनियाँ राजदूत हाउ याङ्छीको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको ‘रात्रीकालीन’ गोप्य भेटले त्यसलाई पुष्टि गरेको छ।

००

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वको टोलीले प्रधानमन्त्री, राष्ट्रपतिसहित नेकपाका उच्च नेताहरुलाई मात्रै भेटेन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवालाईसमेत भेटेर नेकपा एकता मिशन असफल भए वैकल्पिक शक्तिसँग मित्रता गाँस्ने संकेत दिन चुकेन। देउवालाई चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको शताब्दी समारोहमा सामेल हुन राष्ट्रपति सी जिनपिङको तर्फबाट निम्दो दिइएको छ।

भारत विगत लामो समयदेखिको नेपाल नीति समीक्षा गर्न तयार नभएको अवस्थामा चीनले आवश्यकता परेमा तत्काल समीक्षा गर्न सक्ने र यहाँका दलहरुसँगको आफ्नो सम्बन्ध फराकिलो पार्न सक्ने संकेत दिएको छ।  भविष्यमा नेकपा एक नरहेको अवस्थामा सत्ता समीकरणमा निर्णायक भूमिका रहने देउवासँगको यो हिमचिमले नेपाल–चीन सम्बन्धमा अर्थ राख्ने कूटनीतिज्ञहरुको बुझाई छ।

पार्टी एकता, राजनीतिक स्थिरता, सुशासन, विकासका सपना बाडेर बाम गठबन्धनले २०७४ सालको निर्वाचमा बहुमत प्राप्त गरेपछि पार्टी एकतामा ढिलाई गर्न नहुने सन्देशसहित कुओ येचौ नेपाल आएका थिए। अहिले नेकपा एकता जोगिएमा नेपालमा आफ्नो प्रभुत्व कायमै रहने बुझेको चीनले उनीको टोली रित्तोहात फर्के पनि उच्चस्तरको भेटघाटलाई भने चीनले जारी राखको छ। चिनियाँ राजदूत हाउ याङ्छीले राष्ट्रपति भण्डारीसँग गोप्य भेटर्वार्ता गर्न छोडेकी छैनन्। नेकपाको आन्तरिक राजनीतिमा विवादास्पद छवी बनाएकी राष्ट्रपति भण्डारीको वर्तमान सरकारमाथि बलियो प्रभाव रहेको सबैले बुझेका छन्। चीनले नबुझ्ने कुरै भएन।  हाउ याङ्छी नेकपामा यसअघि पटकपटक देखिएका आन्तरिक विवाद निरुपणका लागि पनि शितलनिवास, बालुवाटारदेखि खुमलटार र कोटेश्वर पटकपटक धाएकी थिइन्।

आफ्नो ‘प्रभाव क्षेत्र’ मा नेपाललाई राख्न चाहाने भारतको प्रतिस्पर्धी बन्दै गरेको चीनले नेकपा एकता चाहन्छ भन्ने स्पष्ट सन्देश दिइरहेको छ। र, त्यसका लागि उसले फरकफरक रणनीति अपनाएको देखिन्छ। यसैसन्र्दभमा निर्वाचन आयोगले चुनाव चिन्हबारे फैसला दिन जति लामो समय लिन्छ, त्यति नै पार्टीको औपचारिक विभाजन लम्बिन्छ र नेकपा एकता प्रयासले ठाउँ पाउछ भन्ने चीनको मान्यता देखिन्छ। त्यो हुन नसकेमा सर्वोच्च अदालतबाट संसद पुनःस्थापित भएमा ओली पराजित हुने तर नेकपा एकताको सम्भावना बढ्ने चिनियाँ पक्षको अनुमान रहेको उनीहरुसँग भेटघाट गरेका एक नेताले बताएका छन्।

ओलीविरुद्ध समीकरण निर्माणमा पटकपटक भूमिका खेले पनि हाल आएर दुवै कित्तामा आफू नरहेको र एकताको पक्षमा रहेको सन्देश दिइरहेका नेकपा उपाध्यक्ष बामदेव गौतमले संसद विघटन भएको २१ दिनपछि पार्टी एकताका लागि राष्ट्रिय अभियान घोषणा गरेका छन् । तर, एकताको आह्वानमा जुलुस निकाल्न उनले गरेको आग्रहप्रति दुवै खेमाले उदासिनता मात्रै देखाएका छैनन्, एकअर्कालाई तल्लोस्तरको गालीगलौजको प्रर्दशन पनि भइरहेको छ।

००

यता नेकपा एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने संकेत चीनले दिइरहेका बेला भारतले गत कार्तिक ५ गते जासुसी संस्था ‘रअ’ का प्रमुखलाई गोप्यरुपमा ओलीलाई भेट्न पठाएर नेकपा विभाजनको आधार खडा गरेको आरोप नेकपाको एक पक्षले लगाएको छ। नेकपाको दाहाल–नेपाल पक्षले हालसम्म पनि ओली र सामन्तकुमार गोयलसँग भएको गोप्य छलफलको स्पष्टिकरण मागिरहेका छन् सार्वजनिक रुपमै।

आफ्नै पार्टीका नेताहरुलाई पाठ पढाउन ‘सनक’मा संसद विघटन गर्दा चौतर्फी आलोचनाको पात्र बनेका ओलीले राष्ट्रियता र सीमा विवादको छिनोफानो गर्ने अडान भारतीय टेलिभिजन जीन्यूजको अन्तर्वार्ता दिएपछि उनी झन विवादमा तानिएका छन्। अन्तर्वार्तामा ओलीले प्रस्तुत गरेको अडानले वाहावाही पाएपनि ज्ञवालीको दिल्ली भ्रमणपछि त्यो फासफुस भएको छ।

नेपाल–भारतको हालसम्मकै उच्चस्तरीय संयन्त्रको रुपमा चिनिएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमा विवाद ‘एजेण्डा’ बन्नबाट भारतले रोक्नुले ओली भारतसमक्ष निरीह बनेको देखिन्छ। भारतले ओली हल्का सावित हुनेगरी ज्ञवालीलाई फर्काएको छ।

यद्यपि ज्ञवालीले स्वदेश फर्केपछि दिल्लीमा सीमा विवादलाई लिएर कुरा उठाएको र सीमाको विषयमा राजनीतिक तथा प्राविधिक दुवै पक्षमा सँगसँगै कुराकानी गर्न दुवै देशले प्रतिवद्धता जनाएको भन्दै आफू र ओलीको बचाउ गरेका छन्। तर अर्कोतिर भारतद्धारा अतिक्रमित नेपाली भूमिमाथि निर्माण गरेको सडक उद्घाटन गरेर नेपालमा विवादित छवी बनाएका भारतीय गृहमन्त्री राजनाथ सिंहसँगको भेटले ज्ञवालीलाई थप विवादित बनाएको छ।

राजनाथलाई अभिवादन गरेको शैलीलाई लिएर हाल उनको सामाजिक सञ्जालमा ‘ट्रोल’ बनेको विषय भन्दा आफ्नो भूमिमाथि डोजर चलाउन अनुमति दिने र भव्यताका साथ सडक उद्घाटन गर्ने राजनाथलाई नै उनले सुरुमै किन भेटे ? प्रश्न सामाजिक सञ्जालमा ओइरिएका छन्।

००

विवाद र अविश्वासबाट माथि उठ्न नसकेको सम्बन्धकाबीच चीन र भारतले खेलमैदानका रुपमा नेपाललाई प्रस्तुत गरेको यो पहिलो पटक भने होइन। प्रधामन्त्री ओलीले जीन्यूजलाई दिएको अन्तर्वार्तामा ‘दुई ठूला हात्ती भिडे पनि, प्रेम गरेपनि घाँस हाम्रो नै माडिन्छ’ भन्ने भनाई सत्य सावित देखिन थालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?