
काठमाडौँ– नेपालमा जगदम्बा मोटर्सले भित्र्याएको मलेसियाली अटोमोबाइल ब्राण्ड प्रोटोनको ‘प्रोटोन सागा’ कार एक सातामै तीन वटा बुकिङ भइसकेको मोटर्सका सहायक महाप्रवन्धक विवेकबहादुर बलामीले जानकारी दिएका छन्।
संसारभर अटो मोबाइल कम्पनी प्रोटोनले राम्रो प्रभाव छाड्न सफल भएकाले नेपालमा पनि सफल हुने विश्वासले ‘प्रोटोन सागा’ बजारमा भित्र्याएको केही सातामै धेरै ग्राहकले उक्त गाडीसम्बन्धी चासो देखाएको उनले बताए।
उनले भने, ‘हामीले अहिलेसम्म तीन वटा बुकिङ लिएका छौँ। अझै यसका लागि काम गरिरहेका छौँ। अहिलेसम्म ५/६ सय जनाले सम्पर्क गरिसकेका छन्। उहाँहरु टेस्ट ड्राइभका लागि आउँदै हुनुहुन्छ। गाडीको एक्चुल फिल टेस्ट–ड्राइभपछि मात्र हुन्छ। त्यसैले टेस्ट–ड्राइभका लागि आउनुस्।’
जगदम्बा मोटर्सले ‘प्रोटोन सागा’ गाडी भर्चुअल लाइभमार्फत यही माघ १ गते सार्वजनिक गरेको थियो। यसअघि कम्पनीले टीभीएसका विभिन्न श्रेणीका दुई पांग्रे र तीन पांग्रे गाडी विक्री गर्दै आएको थियो।
उनका अनुसार नेपालमा चार पांग्रे गाडीको राम्रो सम्भावना देखिएकाले प्रोटोन ब्रान्डका चार पांग्रे गाडी नेपालमा बिक्री सुरु गरिएको हो।
‘हामीसँग अहिले स्टान्डर्ड म्यानोल र प्रिमियम अटोम्याटिक गरी दुई वटा गाडी छन्,’ उनले भने, ‘यो प्रिमियम सेडान हो।’
नेपालमा स्टान्डर्ड म्यानोलको मूल्य ३५ लाख ५० हजार रहेको छ भने प्रिमियम अटोम्याटिकको मूल्य ३९ लाख ५० हजार रहेको उनले जानकारी दिए।
मलेसियन प्रविधिमार्फत उत्पादित, सर्वोत्कृष्ट फिचर्स र ड्राइभिङ कम्फर्ट सुविधायुक्त उक्त गाडी सुरक्षित रहेको पनि उनले बताए।
सागा प्रिमियम एटीमा इन्जिन ४ सिलिण्डर–इन–लाइन १६ भल्भ डिओएचसी, भिभिटी, डिसप्लेस्टमेन्ट १२९९ सीसी, फ्यूल ट्यांक क्यापासिटी ४० लिटर, ट्रान्समिशन ४ स्पिड अटोम्याटिक, स्टेरिङ हाइड्रोलिक पावर स्टेरिङ,मिनिमम टर्निङ र्याडियूस ५.१ मि, ब्रेक्स भेन्टीलेटेड डिस्क/ड्रम, टायर एण्ड विल्स १८५/५५ आर १५ एलोए विह्ल डिजाइन रहेको छ भने सागा स्ट्याण्डर एमटीमा पनि उस्तै विशेषता भएपनि ट्रान्समिशन टाइप ५ स्पीड म्यानोल र टाइपस एण्ड विह्ल १८५/६० आर १४ स्टिल डिजाइन रहेको कम्पनीले जनाएको छ।
उनले गाडीमा इनभिल एन ९५ फिल्टर रहेको र जसले कोभिडको अवस्था र काठमाडौँमा हुने प्रदूषणलाई क्याविनमा एसीको हावा फिल्टर गर्ने सुविधा रहेकाले प्रदूषण र ब्याक्टेरियाबाट जोगिन सकिने बताए।
ग्राहकको सुविधाका लागि ‘फ्याक्ट्री’ले नै ५ वर्षको वारेन्टी दिएको उनले बताए।
‘नेपालमा पहिलो पटक प्रोटोनले ५ वर्षको वारेन्टी दिँदैछ। यो फ्याक्ट्रीले नै वारेन्टी दिएको हो,’ उनले भने, ‘सर्पोटका लागि ३ वटा बैंकसँग सहकार्य गरेका छौँ भने जगदम्बा क्रेडिट्स एण्ड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडले हायर प्रचेजका लागि सहयोग गर्छ।’
प्रोटोन सागा सन् १९८५ मा प्रथम पटक सावर्जनिक गरिएको थियो।