काठमाडौँ – शरीरको सबैभन्दा संवेदनशील अंग मध्येको एक हो, आँखा। आँखा बिना कुनै पनि व्यक्तिले सुन्दर संसारको कल्पना गर्नु बाहेक अन्य विकल्प हुँदैन।
विकसित देशमा बच्चा जन्मिने बित्तिकै जाँचिने भएका कारण समयमै रोग पत्ता लाग्छ। उपचार हुन्छ। तर नेपालमा त्यो अभ्यास कमै गरेको पाइन्छ। आँखामा केही समस्या आएपछि अस्पताल पुगिहाल्नु पर्छ भन्ने चेतना धेरैलाई छैन।
तर पछिल्ला केही वर्ष यता भने आँखाका बारेमा मानिसहरु संवेदनशील हुन थालेका छन्। पूर्ण रुपमा सजग भने भइसकेका छैनन्। आँखा स्वास्थ्यको बारेमा मानिसहरुलाई बुझाउन अत्यन्तै जरुरी भएको चिकित्सकहरुले बताउने गरेका छन्।
बच्चा जन्मेदेखि नै उनीहरुको आँखामा देखिन सक्ने विभिन्न समस्याका बारेमा बुझाउन आवश्यक छ। मानिसलाई बुझाउन आवश्यक मध्येको एक हो आँखाको क्यान्सर पनि। मानिसको विभिन्न अङ्गहरुमा जस्तै आँखामा पनि क्यान्सर हुन सक्छ। समयमै उपचार नपाउँदा विभिन्न जटिलता आउन सक्छन् र अन्त्यमा आँखा नै निकाल्नु पर्ने अवस्था सृजना हुन सक्ने विज्ञहरुले बताएका छन्।
आँखामा लाग्ने क्यान्सर के हो? किन हुन्छ? क्यान्सर लागिहाले कसरी बच्ने? आँखाको क्सान्सरको उपचार नेपालमा सम्भव छ? आँखामा क्यान्सर लागे निको हुन्छ कि हुँदैन? यही विषयमा रहेर तिलगंगा आँखा प्रतिष्ठानका अंकुलर ओन्कोलोजिस्ट (आँखा क्यान्सर विशेषज्ञ) डा. पूर्णिमा राजकर्णिकार स्थापितसँग गरिएको कुराकानीः
आँखाको क्यान्सर भनेको के हो?
क्यान्सर शरीरको जुनसुकै अङ्गमा हुन सक्छ। अन्य अङ्गमा जस्तै आँखामा पनि क्यान्सर हुन सक्छ। आँखामा पनि विभिन्न भागमा विभिन्न किसिमको क्यान्सर हुन सक्छ। आँखामा हुने क्यान्सर आँखाको डल्लो भित्र हुन सक्छ।
आँखा बाहिरको डिलमा पनि हुन सक्छ। आँखाको पछाडि भागमा हुन सक्छ। आँखामा हुने यस्ता विभिन्न किसिमका क्यान्सर सबै उमेर समूहका मानिसहरुमा हुन सक्छ।
आँखा क्यान्सरको सुरुवात कसरी हुन्छ? वा के कारणले आँखामा क्यान्सर लाग्ने गर्छ?
आँखाको क्यान्सर धेरै प्रकारका हुन्छन्। ती विभिन्न प्रकारका क्यान्सरको फरक–फरक कारण हुन्छ। अस्पताल आउने बिरामी र क्यान्सरको लक्षण पनि भिन्दा भिन्दै हुन्छ। जसले गर्दा सबैको यही कारणले हो भनेर भन्न सकिँदैन। तर अन्य क्यान्सरमा के समानता छ भने समयमै उपचार नगरेमा आँखासँगै बिरामीको ज्यान समेत जान सक्छ।
आँखाको क्यान्सर कति प्रकारका छन्? र के के हुन?
बच्चादेखिको कुरा गर्ने हो भने पाँच वर्षमुनिका बालबालिकामा हुने क्यान्सरलाई ‘रेटिनोब्लास्टोमा’ भनिन्छ।
बच्चाले आमाको गर्भबाट नै जेनेटिक म्युटेसन (वंशाणुगत उत्परिवर्तन) लिएर आएको हुन्छ। आमाले कुनै खाना खाएर वा रोग लागेर हुने भन्ने हुँदैन। यो जेनेटिक म्युटेसनमा सुरु हुन्छ।
यसमा सुरुको लक्षण भनेको बच्चाको आँखाको कालो भागमा सेतो टिका जस्तो देखिनु हो। त्यति बेला नै उपचार भएन भने त्यो ट्यूमर ठूलो हुँदै गएर आँखाको बाहिर पनि आउन सक्छ। मासु बढेको जस्तो देखिन सक्छ। त्यही नै ‘रेटिनोब्लास्टोमा’ हो।
अर्को, १० वर्षमुनिका बालबालिकामा हुने क्यान्सरलाई ‘र्याब्डोमोसारकोमा’ (Rhabdomyosarcoma) भनिन्छ। यो आँखा भन्दा पछाडिको भागमा हुने मसल वा अर्बिटमा हुने क्यान्सर हो।
त्यसैगरी अलि ठूलो भएपछि हुने क्यान्सरहरुमा आँखाको सेतो र कालो भाग रहेको नानीमा हुने क्यान्सर हुन्छ, जसलाई हामी ओ एसएसएन (Ocular surface squamous neoplasia) भन्ने गर्छौँ।
यो क्यान्सर घाँममा धेरै काम गर्ने वा बस्ने, आँखा सुख्खा हुनाले, चुरोट सेवन गर्नाले हुन सक्छ। जस्तै आँखाको भित्रबाट हुने हुन्छ, जसलाई कोरिडल मेलानोमा (Choroidal melanoma) क्यान्सर भनिन्छ। यो वंशाणुगत कारणले हुन्छ।
यी बाहेक अन्य धेरै क्यान्सरहरु पनि हुन सक्छन्।
यी विभिन्न प्रकारका क्यान्सरका कस्ता लक्षणहरु देखिन्छन्?
ठ्याक्कै लक्षण भन्नु पर्दा आँखाको डिलमा क्यान्सर भयो भने डिलमा एक किसिमको घाउ या कोठी जस्तो आउने र त्यही छिटो छिटो बड्दै जाने हुन सक्छ।
अथवा कुनै नदुख्ने रातो खटिरा जस्तो आउने र चाडो बढ्दै जाने हुन सक्छ। यो किसिमको कुनै निको नहुने अल्सर वा मासु बढ्दै गयो भने त्यो आँखाको डिलमा हुने क्यान्सरको लक्षण हो।
त्यस्तै आँखाको नानीमा हुने ओ एसएसएन क्यान्सरमा आँखाको कालो भाग कालो नभएमा वा सेतो भाग सेतो नभएसँगै दुवै भागमा सेतो मासु बढेको जस्तो रातो देखियो भने त्यो एउटा लक्षण हुन सक्छ।
त्यो बाहेक ट्यूमर आँखाको पछाडिको भागमा छ भने आँखाको गेडालाई आँखा बस्ने घर भन्दा बाहिर फाल्न थाल्छ। आँखा बाहिर निस्कनु पनि क्यान्सरको लक्षण हो।
‘रेटिनोब्लास्टोमा’ भने आँखाको नानी सामान्यतया कि कालो, खैरो हुनु पर्छ। त्यस्तो नभएर नानीमा सेतो टिका जस्तो देखिएमा रेटिनोब्लास्टोमा क्यान्सरको एउटा लक्षण हुन सक्छ।
उपचार कसरी हुन्छ वा हुँदैन?
यसको उपचार क्यान्सर कुन भागमा छ, त्यही अनुसार हुन्छ। जस्तै आँखाको डिलमा क्यान्सर छ र सानो छ भने शल्यक्रिया गरेर फाल्न सकिन्छ।
आँखाको भित्री भागमा सुरुवाति चरणमा छ भने त्यसलाई पनि शल्यक्रिया गरेर काटेर फाल्न सकिन्छ। यसमा बिरामी अलि ढिलो अस्पताल आएको खण्डमा काटेर फाल्न मिल्दैन। त्यसपछि थोपा–थोपाबाट लगाउने केमो लगाउनु पर्छ। अझै ढिलो अस्पताल पुगेमा आँखाको गेडा नै निकाल्नु पर्ने हुन्छ।
यस्तै रेटिनोब्लास्टोमा सुरुको लक्षणमा बच्चालाई अस्पताल पुर्याउने हो भने हातबाट केमो थेरापी गरिन्छ। केमो थेरामी गरेपछि अर्को टीटीटी (ट्रन्स प्यूपिलरी थर्मो थेरामी) भन्ने लेजर हुन्छ, त्यो दिएर आँखालाई बचाउन सकिन्छ। ढिलो अस्पताल पुगेमा आँखालाई बचाउन सकिँदैन। आँखाको गेडा नै निकाल्नु पर्ने हुन्छ। त्यसपछि पनि किमो लगाउनु पर्छ।
त्यही भएर आँखाको क्यान्सरको उपचार सबैको चरण अनुसारको फरक–फरक हुन्छ।
भिडियाे:
अन्य क्यान्सर जसरी आँखाको क्यान्सरमा पनि चरण हुन्छ। बिरामी कुन चरणमा अस्पताल पुग्यो भन्ने कुरामा भर पर्छ। बिरामी सुरुको चरणमै अस्पताल पुगेमा आँखाको ज्योति र आँखा दुवै बचाउन सकिन्छ। अलि ढिलो आयो भने आँखा बच्छ, तर ज्योति गुम्छ। त्यो भन्दा पनि अझै तेस्रो चरणमा अस्पताल पुगेका विरामीको आँखा गुमाउनु पर्ने वा ज्यान जाने सम्भावना बढि हुन्छ।
उपचार कति खर्चिलो छ?
सुरुको स्टेजमा आउँदा केमो थेरापी लगाउनु पर्ने हुन्छ। जुन महिनाको एक पटक ६ महिनासम्म लगाउनु पर्छ। तिलगंगामा विरामी भर्ना गर्ने पद्धती नभएका कारण कान्ति बाल अस्पतालमा महिनाको एक पल्ट बच्चाहरुलाई पठाउने गरेका छौँ। त्यहाँ बच्चालाई एक साइकल केमो दिएपछि हामी यहाँ (तिलगंगा) बोलाएर बेहोस पारेर त्यो केमोले कति काम गरेको छ हेर्छौँ। केमोले काम गरेको छ भने त्यसलाई अझै अरु किसिमबाट पनि उपचार गर्छौँ, जसलाई टीटीटी भनिन्छ। यो एक किसिमको लेजर हो।
आँखाको वरिपरी पनि केमो थेरापीको इन्जेक्सन लगाउछौँ। अर्को क्रायो थेरापी भन्ने हुन्छ, जुन एक किसिमको उपचार पद्धती हो। सबै किसिमबाट हामी ट्यूमरलाई मार्ने कोशिस गर्छौँ। यो प्रक्रिया ६ महिनासम्म गर्नु पर्ने हुन्छ।
तिलगंगामा एकपटक बेहोस पारेर टीटीटी लगाउँदा ८ देखि १० हजार रुपैयाँ लाग्छ। त्यस्तै कान्तिमा भर्ना भएर केमो लगाउँदा ८ देखि १० हजार नै लागत लाग्छ।
सही समयमा अस्पताल पुगेको खण्डमा आँखाको क्यान्सर निको हुन्छ। आँखा पनि बचाउन सकिन्छ र ज्यान पनि जोगिन्छ। तर अलि ढिलो अस्पताल पुगेमा ज्यान बचाउन सकिन्छ, आँखा भने बचाउन सकिँदैन। केमोले छुँदैन । आँखा निकाल्नु पर्ने हुन्छ।
आँखा निकाले पनि हामी नक्कली आँखा लगाइदिन्छौँ। उक्त आँखाले नदेखे पनि सुन्दरता कामयै रहन्छ।
कतिपयले आँखाको क्यान्सर बच्चाहरुमा मात्रै हुने भनेर पनि बुझेका छन् नि? यो कत्तिको वास्तविता हो?
बच्चामा हुने क्यान्सर भनेको एक किसिमको क्यान्सर मात्रै हो। जसलाई हामी रेटिनोब्लास्टोमा भन्छौँ। यो जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकामा हुने गर्छ। बच्चाहरुमा हुने क्यान्सर यही एउटा हो।
आँखाको क्यान्सर ठूलो मानिसहरुमा पनि हुन सक्छ, आँखाको डिल, आँखा पछाडि, नानी, रेटिनामा हुन सक्छ। यी क्यान्सर जो सुकैलाई पनि हुन सक्छ।
आँखाको क्यान्सर हुन नदिन अभिभावकले कस्तो कुरामा ध्यान पुर्याउनु पर्छ?
रेटिनोब्लास्टोमा हुनेहरुलाई रोक्न सकिँदैन। तर पहिलो लक्षणमै पत्ता लागेर अस्पताल पुर्याउन सक्यो भने बिरामीको आँखा र ज्यान दुवै बचाउन सकिन्छ। त्यसको लागि आँखाको नानीमा कालो भागमा सेतो टिका देखिनु वा असामान्य रातो भइरहने, आँखामा डेढोपन (बाङ्गो हुँदै जानु) आएमा बच्चालाई अस्पताल पुर्याइहाल्नु पर्छ।
बोल्न सक्ने बालबालिकाले अभिभावकसँग आँखा देखिएन भन्न सक्छन्। तर सानो बच्चाले भन्न सक्दैनन्, त्यसैले उनीहरुको आँखाको ख्याल राखिरहनु पर्छ। अलि ढिलो भयो भने आँखा नै आँखाको घरबाट बाहिर निस्कन थाल्यो भने तुरुन्त अस्पताल लगेर उपचार गर्न सकिन्छ।
यदि कुनै बच्चामा रेटिनोब्लास्टोमा छ भने अर्को बच्चा जन्माउनु भन्दा पहिला अभिभावकहरु सजक हुन अत्यन्तै जरुरी हुन्छ। विदेशमा पहिलो बच्चामा रेटिनोब्लास्टोमा छ भने अर्को बच्चा प्लान गर्नु भन्दा पहिले नै दोस्रो बच्चामा पनि हुन सक्छ भनेर आमाको गर्भमा बस्नु भन्दा अगाडि नै टेस्ट गर्न सकिन्छ। यो सुविधा नेपालमा छैन। नेपालमा गर्न सकिने भनेको बच्चा भयो भने अर्को बच्चा जन्मिएको एकदेखि दुई महिना भित्रमा अस्पतालमा ल्याएर डाक्टरलाई देखाउनु हो । ट्यूमर रहेछ भने पनि एक–दुई महिनाको बच्चामा सानै हुन सक्छ। ट्यूमर सानो भए हामीले त्यसको उपचार पनि छिट्टै गर्न सक्छौँ।
अर्को महत्वपूर्ण कुरा बुवाआमालाई रेटिनोब्लास्टोमा छ भने पनि बालकालिकालाई हुने सम्भावना धेरै हुन्छ। त्यसैले बच्चा जन्मिने बित्तिकै बच्चाको आँखा जचाउनु पर्छ।
त्यस्तै भारतको केही ठाउँमा जेनेटिक टेस्टिङ् सुरु भइसकेको छ, जुन बच्चा गर्भमा आउनु भन्दा अगाडि नै टेस्ट गर्न सकिन्छ। विदेशको हकमा पहिलो बच्चा वा बुवाआमालाई रेटिनोब्लास्टोमा भएको थाहा पाउने बित्तिकै पहिले नै टेस्ट गरेर रेटिनोब्लास्टोमा नआउने गरी उपचार गरेर उनीहरुले गर्भ प्लान गर्ने गर्छन्।
नेपालमा आँखा क्यान्सरको अवस्था कस्तो छ?
ठ्याक्कै यति भनेर भन्ने सक्ने तथ्याङ्क त छैन। तर पनि बच्चाहरुमा हुने रेटिनोब्लास्टोमाका नयाँ बिरामी हाम्रोमा एक वर्षमा ४५ देखि ५० जनासम्म आउने गरेका छन्। पुरानो पनि हामीले हेरिखाख्नु पर्ने भएका कारण सबै गरेर एक वर्षमा हामीले करिब २ सयजनालाई हेरिरहेका छौँ। उपचार गरिरहेका छौँ।
अहिले रेटिनोब्लास्टोमाका बिरामी धेरै नै आइरहेका छन्। शायद जनचेतनाका कारण पनि हुन सक्छ। वा क्यान्सर नै बढेर आस्पताल आएको हो भन्न गाह्रो छ। पहिलाको तुलनामा अहिले पक्कै पनि बढि चाहिँ छ।
यसको सबै भन्दा संवेदनशील कुरा के हो भने कुनै बच्चामा एउटा आँखामा र कुनै बच्चामा दुवै आँखामा समेत हुने गरेको छ। जति सानो बच्चा भयो त्यति नै धेरै दुईवटै आँखामा हुने सम्भावना धेरै हुन्छ।
५ वा ६ वर्षको बच्चामा भने एउटै आँखामा हुने संभावना हुन्छ। यदि बुवाआमामा वा दिदी–दाइमा यो समस्या भएमा दोस्रो सन्तानको दुवै आँखामा हुने सम्भावना धेरै हुन्छ।
यदि परिवारको पहिलो बच्चामा क्यान्सर भएको हो भने एउटा आँखामा मात्र हुने सम्भावना बढि हुन्छ।
आँखाको क्यान्सरबाट जोगिन के कस्ता सावधानी अपनाउन सकिन्छ?
रेटिनोब्लास्टोमा बाहेक अन्य धेरै क्यान्सर हुने भएका कारण आँखाको डिलमा कोठी हो भनेर वास्ता गरिँदैन। त्यही कोठी धेरै ठूलो भएपछि मात्रै अस्पताल पुग्ने गरेको पाइन्छ। ट्यूमर जति ठूलो भयो त्यति नै ठूलो शल्यक्रिया गर्नु पर्ने हुन्छ। त्यसैले समस्या सानै हुँदा अस्पताल पुग्नु पर्छ।
त्यसका लागि सकेसम्म जनचेतना जगाउनु पर्छ। सबैभन्दा बढि जनचेतना रेटिनोब्लास्टोमाको बारेमा जगाउन जरुरी छ। यो क्यान्सरको उपचार समयमा नै नभए ज्यानै समेत जान सक्छ।
आँखाको केसका विशेषगरि आमाबुवा र घरमा बालबालिकाको स्याहार सुसार गर्ने व्यक्तिले ध्यान दिन जरुरी हुन्छ। बच्चाको आँखामा सानो टिका छ कि भनेर हेर्नु पर्छ। कतिपय ठाउँमा आँखामा टिका आउनुलाई राम्रो मान्ने अन्धविश्वास भएकै कारण अस्पताल पुग्दा ढिलो भइसकेको हुन्छ।
यस्तो अन्ध विश्वासको कुरामा कुनै पनि सत्यता हुँदैन। आँखा जस्तो हुनु पर्ने हो त्यो भन्दा केही पनि सानो फरक देखियो भने अस्पताल पुगेर परीक्षण गरिहाल्नु पर्छ।