
बुटवल– लुम्बिनी प्रदेशको लागि कोरोना विरुद्धको ३९ हजार खोप बुटवल आइपुगेको छ।
३९ हजार ४ सय ९५ जनाको लागि खोप बुटवल आइपुगेको र जिल्ला जिल्लामा पठाउने तयारी गरेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेशकुमार चापागाइँले जानकारी दिए।
जिल्लामा पठाउनुअघि खोप बुटवल नेपालगञ्जस्थित आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको छ। ‘कुन जिल्लालाई कति दिने भनेर त्यही अनुसार प्याकिङ गर्ने र सामाग्री तयार गर्ने काम गर्दैछौं’, उनले भने।
संघीय सरकारबाट जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरु, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, खोप अधिकृत तथा खोप सुपरभाइजरहरुसँग जुममार्फत छलफल गर्ने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए।
उनका अनुसार प्रदेशका जिल्लाहरुमा यही माघ १४ देख १८ गते खोप कार्यक्रम सुरु हुनेछ। भारत सरकारले उपलब्ध गराएको १० लाख मध्ये ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज लुम्बिनी प्रदेशमा आएको हो। त्यसमध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ।
बाँकेको लागि १७ हजार ९० डोज, दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने छ।
त्यसैगरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुम पूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० डोज कोरोना विरुद्धको खोप पठाउने तयारी गरिएको छ।