
काठमाडौँ- निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले देशका विभिन्न १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ। कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरेर सात प्रदेशका विभिन्न १४ शहरमा डेटा सेन्टर स्थापनाको तयारी भएको जनाएको हो।
डेटा सेन्टर निर्माणका लागि रु तीन अर्बको अनुमान गरिएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए। उनका अनुसार उक्त डेटा सेन्टरमा ६ मेगावाटको बिजुली, ५०० भन्दा बढीको र्याक राखिनेछ भने दुई वर्षदेखि तीन वर्षभित्र सबै डेटा सेन्टर स्थापना गरिसक्ने योजना छ।
सातै प्रदेशमा एक÷एक सेन्टर स्थापना गर्ने लक्ष्यसाथ काठमाडौँमा सबैभन्दा ठूलो र काठमाडौँको विकल्पको रुपमा भरतपुरमा रहनेछ। तीन मेगावाट, ३५० मा र्याक काठमाडौँमा राखिनेछ भने भरतपुरमा ५०० किलोवाट र एक सयवटा र्याक राखिनेछ।
यसैगरी, पोखराको लेखनाथ, बुटबल, हेटौंडा, भक्तपुर, दुहवी, वीरगन्जमा २५० देखि ३५० र्याकका डेटा सेन्टर र ढल्केबार, अत्तेरिया, भैरहवा, कोलहपुर, सुर्खेत र काठमाडौँमा साना र्याक बन्नेछन्।
कम्पनीले डेटा सेन्टरका लागि काठमाडौँ र चितवनमा जग्गा किनेर डेटा सेन्टर बनाउने काम सुरु भइसकेको जनाएको छ। सरकारले डिजिटल नेपालको अवधारण ल्याएको भन्दै उक्त योजनालाई सफल बनाउन डेटा सेन्टर स्थापना गर्न लागिएको अध्यक्ष अग्रवाल बताउँछन्।
उनले प्रत्येक प्रदेशको डाटा प्रदेशमा नै राख्न डेटा सेन्टर बनाउन आवश्यक रहेको बताए।स्थापनाको २५ वर्ष पूरा गरेको
वर्ल्डलिंकले हाल चार लाख आठ हजार घरधुरीमा इन्टरनेट पुर्याइसकेको जनाएको छ।