
झापा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आगामी फागुन १५ गतेपछि देशमा डरलाग्दो राजनीतिक स्थिति आउने चेतावनी दिएका छन्।
अबको २० दिनपछि प्रतिनिधि सभा पुनर्स्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुने उनले चेतावनी दिएका हुन्।
शनिबार झापाको विर्तामोडमा आफ्नो पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो चेतावनी दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिविधिका कारण उक्त स्थिति श्रृजना हुने उनको भनाइ थियो।
अबको विकल्प कि प्रतिनिधि सभा पुनर्स्थापना कि सर्वनाश मात्र भएको नेता भुसालले बताए। उनले भने, ‘अब अरू कुनै उपाय छैन कि संसदको पुनर्स्थापना कि सर्वनाश।’
प्रतिनिधि सभा पुनर्स्थापना नभए देश सर्वनाशको अवस्थामा जाने भुसालको भनाइ थियो। अब २० दिन भित्रमा अदालतको फैसला आउने र प्रतिनिधि सभा पुनर्स्थापना नभए त्यसपछिका दिन सर्वनाशको अवस्थामा पुग्ने उनले बताए।
संसद पुनर्स्थानाको मुद्दा जितिनेमा आफू विश्वस्त रहेको नेता भुसालले बताए। उनले भने, ‘यो मुद्दा जितिएन भने सर्वनाश हुन्छ। त्यसैले संसद पुनर्स्थापनाको मुद्दा जित्नै पर्छ। सर्वनाश हुन दिनु हुँदैन।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बाहेक अरू केही नहेरेको उनले बताए। आफ्ना पार्टीका शीर्ष नेताहरूले ओलीको सत्ता मोहबारे केही नबुझेको भुसाले बताए। उनले भने, ‘प्रचण्डले त झन् बुझेकै रहेनछ। ओलीले जे-जे भन्यो त्यही त्यही मानिदिँदा ओलीको सत्तामोह बुझेको हुन्छ कतै?’
ओलीले कसैलाई पनि कमरेड नसोचेको भुसालले बताए। उनले भने, ‘ओलीको कोही कमरेड देख्नुभएको छ?’
जो मान्छे पदमा छ, जो पदको लाइनमा छ, जसले ठेक्कापट्टा पाइरहेको छ र जसले त्यस्तो अवसर पाउनेवाला छ त्यस्ता मान्छे ओलीसँग डराएको भुसालले बताए। उनले भने, ‘अब जनमत ओलीसँग छैन।’
आजको चेतना भएको अदालतको फैसला संविधानको मर्मअनुरुप नै हुने आफू विश्वस्त रहेको भुसालको भनाइ थियो।
यो ‘क्लास वार’ होः सुरेन्द्रकुमार कार्की
नेकपाकै प्रचण्ड-नेपाल समूहका अर्का नेता सुरेन्द्रकुमार कार्कीले अहिले संघर्षलाई ‘क्लास वार’को संज्ञा दिएका छन्।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले पार्टीको नेतृत्वले अझैसम्म पनि लक्षित वर्ग नचिनेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले पूँजीवादलाई नै प्राथमिकता दिएका कारण अब वर्ग हेरेर पार्टीले काम गर्नुपर्ने बताए।
उनले भने, ‘नेपालमा किसान केन्द्रित कार्यक्रम ल्याउन जरुरी छ।’
प्रधानमन्त्री ओली एकल नेतृत्व चाहने भएकाले अब आफ्नो दल सामुहिक नेतृत्वमा जानु पर्ने कार्कीले बताए।
उनले भने, ‘हामी सामुहिक नेतृत्वमा विश्वास गर्छौँ। ओलीको पार्टीमा मार्क्स, लेनिन, मनमोहन, मदन भण्डारीको नीति केही पनि छैन। त्यो पार्टी ‘एकेश्वर’ पार्टी हो।’