
काठमाडौँ – नेकपाको प्रचण्ड-नेपाल समूहले बुधबार काठमाडौँमा आयोजना गर्न लागेको शक्ति प्रदर्शनका कारण बिहानैदेखि काठमाडौँको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ।
पुरानो बसपार्कदेखि भद्रकालीमार्ग र प्रदर्शनीमार्ग ठप्प पारिएको छ भने बागबजार, पुतलीसडक लगायतका सडकमा बिहानैदेखि जामको सास्ती छ।
विरोधसभाका लागि प्रदर्शनीमार्गकोबीच सडकमा मञ्च राखिएको छ। मञ्चमा यसअघिको जस्तो शीर्ष नेताहरुका लागि ठूला सोफा राखिएका छैनन्।
याे समूहले विभिन्न पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेकाे छ। जुलुस प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ।
पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट निस्कने जुलुसको नेतृत्वका लागि विभिन्न नेताहरुलाई जिम्मेबारी तोकिएको छ।
प्रतिनिधिसभा विघटनको विरुद्ध प्रचण्ड–माधव समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको हो।