ओलीविरुद्ध आन्दोलित नेकपा नेताको मुठ्ठी र चुनौती

ओलीविरुद्ध आन्दोलित नेकपा नेताको मुठ्ठी र चुनौती
+
-

काठमाडौँ- पत्नीको उपचारका लागि केही महिनादेखि राजधानीमा भौंतारिरहेका जुम्ला तातोपानी गाउँपालिकाका रामसिंह रोकाय बुधबार बिहान सुन्धारास्थित आफन्तको डेरामा थकाइ मार्दै थिए।

पत्नीको जीवन रक्षा र उनको उपचार खर्चको जोहोलाई लिएर टोलाइरहेका रामसिंह अचानक सडकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लागेका चर्का नाराले झस्किए। उनी डेरामा थामिन सकेनन्। हतारहतार सडकमा निस्किए।

एकातिर दैनिक हजारौँ सवारी साधन गुड्ने सडक प्रहरीले रित्तो बनाउँदै थियो। यात्रुहरु तितरबितर भए। बिरामी मुत्यु जित्दै पैदल अस्पताल आइरहेका थिए। वृद्धवृद्धाहरु हतासमा देखिन्थे। बालबालिकालाई रमिता लागिरहेको थियो।

अर्कोतिर ओलीविरुद्ध आन्दोलित नेकपाका नेता तथा कार्यकर्ताहरुको जुलुस विभिन्न नारासहित अघि बढ्दै थियो। जुलुसको अग्रपंक्तिमा ओलीबाट हालै अलग भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरु देखिए।

रामसिंहले न ती नेताहरुलाई चिने न त्यहाँ लगाइएका नाराहरु नै ठम्याउन सके। तर उनले आफ्नो आँखाबाट जुलुस ओझेलमा परेपछि आफ्नो असन्तुष्टिको पोको खोल्न थाले।

किन त? उनको जवाफ भन्दा पनि प्रश्न ओहोइरियो। रामसिंहको प्रश्न थियो,‘यस्ता जुलुस कति भए होलान् यो देशमा? हामी जनताको दुःख टर्‍यो त? के हामीले सुख पायौँ त?’

पार्टीको झगडाले देशमा फेरि समस्या भएको उनले कतै सुनेका थिए। उनका प्रश्नहरु अझै रोकिएका थिएनन्, ‘नेताहरुले आफ्नो झगडा कोठामा बसेर मिलाउने होइन र? यसरी जनतालाई दुख दिएर सडकमा तमासा गर्न मिल्छ?’

रामसिंह जस्ता सयौँले बुधबारको जुलुस हेरे सडकमा लामवद्ध भएर। फेरि दैनिक जसो सडकमा देखिन थालेका जुलुस उनीहरुलाई उस्तै लाग्छ।

जुलस हेरिरहँदा के सोच्नु भयो? एक टक्क जुलुस हेरिरहेका नुवाकोटका राजन बोगटीले भने, ‘मुुलुकमा लामो समयदेखि चलेको अस्थिरताको श्रृङ्खलाले हामीजस्ता युवालाई विदेश जान बाध्य बनाएको छ। अहिलको नेतृत्वले यस्तो समस्या समाधान गर्न सक्दैन अब। उहाँहरुको जुंगाको लडाईँको साक्षी हामी कति दिन भइरहने?’

आफ्नै परिस्थिति र भोगाइमा रहेका उनीहरु यस्तो आन्दोलनले विघटित संसद व्यूँतिन्छ भन्नेमा विश्वास गर्दैनन्।

सर्वोच्च र निर्वाचन आयोगलाई चुनौतीका चाङ


आन्दोलनरत नेताहरुले भने आफ्नो तर्फबाट अहिलेसम्मकै धेरै जनता सडकमा उतार्ने कोशिस गरेर संसद फर्काउने फेरि एक पटक संयुक्त घोषणा गरेका छन्, अगाडि विभिन्न ठाउँबाट झिकाएका हजारौँ जनतालाई साक्षी राखेर।

विरोधसभामा ओली प्रवृत्ति, सर्वोच्च अदालत, निर्वाचन आयोगलाई चुनौतीको चाङ पनि उनीहरुले थुपारेका छन्, बुधबार। यसका साथै आफूहरु कुर्सीका लागि नभई संविधान र जनता रक्षाका निम्ति आन्दोलनमा होमिएको उनीहरुले पुनः एक पटक दाबी प्रस्तुत गरेका छन्।

यस्तै ओलीविरुद्ध अन्य दल र नागरिक समाजसँग मिलेर संयुक्त आन्दोलन गर्ने उनीहरुले आफ्नो चाहना पनि स्पष्ट पारे। हालसम्म आफूहरुबाट भएका गल्ती या कमजोरीप्रति क्षमायाचना पनि उनीहरुले गर्न भ्याए।

सडकमा उल्लेखिय संख्यामा जनता उत्रिएको देखेपछि हौसिएका प्रचण्डले कसैले आफूलाई एसएमएसद्वारा बुधबारको प्रदर्शनमा पाँच लाख मानिस सहभागी भएको जानकारी दिएको उद्घोष गरे। त्यसपछि उनको ओलीलाई चुनौती थियो, ‘अस्ति केपी ओलीले जुलुस कस्तो हुन्छ हामी देखाउँछौँ भन्नुभएको थियो। देख्नुभयो सभा कस्तो हुन्छ? देख्नु भयो विरोध कस्तो हुन्छ?’

आफूविरुद्ध उत्रिएका लाखौँ जनतालाई ओलीले अवमूल्यन गरे सिंहदरबार र बालुवाटार घेर्न ढिलो नगर्ने चेतावनी पनि प्रचण्डले दिए। ओलीलाई लक्षित गर्दै भने, ‘तपाईँको निरङ्कुशता र लोकतन्त्र हत्या गर्ने चरित्रलाई नेपाली जनताले बुझिसकेका छन्। त्यसकारण जरुरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्न अर्को आमसभा गरिनेछ।’

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यस विरुद्धका मुद्दाहरुमा सर्वोच्च अदालतमा बहस भइरहेको छ। बुधबार सरकारी वकिलहरुले संसद विघटन जायज भन्दै आफ्नो दलिल प्रस्तुत गरिरहेका बेला प्रचण्डले सडकमा उपस्थित भएका मानिसलाई देखाउँदै सर्वोच्च अदालतलाई चुनौती दिए।

उनको चुनौती थियो, ‘आज सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि राम्ररी देख्नु भयो होला। जनता के चाहेका छन्? अब ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भन्नेमा मलाई विश्वास छ।’

ओलीबाट सर्वोच्च अदालतलाई धम्की दिँदै आएको आरोप खेपिरेहका प्रचण्डले सर्वोच्चलाई अर्को पनि चुनौती दिए। उनको भनाइ थियो, ‘यदि संविधानको मर्म र भावनाविपरीत नेपाली जनताको चाहना र आकांक्षाबिपरीत केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। त्यो नेपाली जनतालाई सह्य हुने छैन। जनताको शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ? प्रत्येकले बिचार गर्न जरुरी छ।’

उनको आक्रोश त्यतिमा थामिएन। उनले विगतमा आफूले गरेको ‘जनयुद्ध’लाई लक्षित गर्दै भने, ‘सर्वोच्चले संविधानका पक्षमा फैसला गरेन भने आँधी आउँछ, हुरी चल्छ। कसैले थाम्न सक्दैन। मलाई थाहा छ विगतमा एउटा सानो समूहले सुरु गरेको विद्रोह पछि के भयो।’

तर कस्तो विद्रोह गर्न चाहन्छन् प्रचण्ड? उनले तत्कालै त्यसको जवाफ दिए, ‘शान्तिपूर्ण विद्रोह,ग्रिन रिभोलुसन हुन्छ नेपालमा। शान्तिपूर्ण क्रान्ति हुन्छ अर्को।’

त्यसअघि उनीसँग सँगै ‘जनयुद्ध’मा होमिएका नेता जनार्दन शर्माले पनि ओली नसच्चिएमा विद्रोह गर्ने धम्की दिएका थिए।

त्यसपछि प्रचण्ड संवैधानिक निकाय खासगरी निर्वाचन आयोगतिर सोझिए। ओलीले आफूले घोषणा गरेको निर्वाचन जसरी पनि गराउन र नेकपाको आधिकारिता आफूलाई प्रदान गर्न दबाब दिएपछि चेपुवामा परेको आयोगलाई प्रचण्डले चुनौती दिएका हुन्।

उनको प्रश्न थियो, ‘निरङकुश र लोकतन्त्रविरोधी व्यक्तिको सनकको भरमा, उसँग डराएर फैसला गर्छन् भनेर म पत्याउँ त? तपाईँ हामीले पत्याउन सक्छौँ त? यत्रो जनताको आवाज नसुन्ने। यो विशाल पार्टी जुन पार्टीसँग हिजोको एकताका बेलाको दुई तिहाई बहुमत छ।’

उनले भने, ‘ओलीले निर्वाचन आयोगमा गएर खबरदारी गर्नु भएछ। धम्काउनु भएछ। ओलीको काइते कुराले आयोगका कोहीकोही मान्छे यस्ता देखिएका छन्। भनेर बिग्रने पो हो कि?’

तर उनले निर्वाचन आयोगले लक्षण गतिलो नदेखाएको स्पष्ट पारे। ७० प्रतिशत केन्द्रीय समिति सदस्य एकातिर हुँदाहुँदै आयोगले ओलीको धम्कीबाट डराउने हो भने आयोगको पनि खुट्टी नेपालले देख्ने प्रचण्डको आरोप थियो। उनले आयोगलाई लक्षित गर्दै भने, ‘त्यति सजिलो नठाने हुन्छ। नेपाली जनतालाई हेप्ने कोशिस नगरे हुन्छ।’

ओलीको पशुपति यात्रा र अयोध्याधाम  निर्माणको कटाक्ष


विरोधमा सभामा प्रचण्ड, नेपाललगायत नेताहरुले जनताको शरणमा जान छोडेर भगवानको शरणमा पुगेको भन्दै ओलीको व्यंग्य गर्न पनि भ्याएका थिए। खासगरी ओलीले हालै पशुपतिनाथमा पुगेको विषयमा उनीहरुले आलोचना गरेका थिए।

नेता नेपालले ओलीले पहिले मदन भण्डारीको नाम जप्ने गरेको तर हाल आएर पशुपतिनाथ जप्न थालेको टिप्पणी गरे। तर पशुपतिनाथले पाप गर्नेलाई माफ नगर्ने भन्दै ओलीप्रति आक्रामक देखिए उनी।

पशुपतिनाथले पनि ओलीलाई धिकार्ने नेपालको कटाक्ष थियो। अर्कोतिर प्रचण्डको निर्वाचन क्षेत्र चितवन माडीमा राममन्दिर बनाउने अभियान सुरु गरेका ओलीलाई प्रचण्डले अर्को चुनौती दिए।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा मैले केही नगरेको भन्दै राममन्दिर बनाउन लाग्नु भएको छ रे। त्यो राम्रो कुरा हो। तर त्यो भन्दा पहिले राम जन्मेको ठाउँ हो भनेर पुरातात्विक अन्वेषण गरेर देखाउनुहोस्। म जति खुसी कोही हुन्न।’

त्यसक्रममा प्रचण्डले ओलीको ठग्ने, नाटक गर्ने स्वाभावलाई आफूले राम्ररी चिनेको बताए। नेता रघुजी पन्तले पनि ओलीको पशुपतिनाथ यात्राको कटाक्ष गरेका थिए। उनले प्रतिनिधिसभा विघटन गरेर रुद्राक्षको माला लाएर पशुपति जाँदैमा सत्ताको रक्षा नहुने टिप्पणी गरे।

उनले ओलीलाई लक्षित गर्दै भने, ‘प्रतिनिधिसभा विघटन गरेपछि रुद्राक्षको माला लगाएर पशुपति जानुभयो। ओलीजीले के माग्नुभयो थाहा छैन । तर ३० करोडको सुनको जलप लगाउने घोषणा गर्नुभएको छ। म यतिबेला राजा वीरेन्द्रलाई सम्झन्छु । उनले सधैं बोलिसकेपछि भन्ने गर्थे श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। सधैं पशुपतिनाथसँग गुहार माग्ने राजा वीरेन्द्रको वंशनाश भयो । तपाईंलाई कसले जोगाउँछ होला।’

अर्को प्रसंगमा नेता नेपालसँग आफ्नो एकता भावना र विचारका अधारमा भएको भन्न नछुटाएका प्रचण्डले नेता नेपाल र खनाल ओलीबाट अपमानित भएको निष्कर्ष सुनाए।

ओलीसँग गएका नेता तथा कार्यकर्ताहरु आफूसँग आउन लाम लागेको पनि प्रचण्डको दाबी थियो। उनले भने, ‘केपीजीसँग गएकाहरु मसँग फर्कन लाम लागेका छन्। केपीजीले बनाएका दुई जना मन्त्रीहरु फर्कन मसँग वार्ता गर्दैछन्।’

प्रचण्डले ओलीलाई भ्रममा अब नबाँच्न आग्रह गर्दै तत्कालै राजीनामा दिएर पश्चाताप गरेर वकत्व्य निकाल्नसमेत आग्रह गरे। उनले भने, ‘तपाईँले साह्रै ठूलो अपराध गर्नुभयो राष्ट्रका विरुद्ध। तपाईँले अलिकति पनि ठाउँ राख्ने हो भने तुरुन्तै राजीनामा दिनुहोस् र पश्चाताप गरेर वक्तव्य निकाल्नुहोस्।’

नेता झलनाथ खनाल पनि ओलीसँग उत्तिकै आक्रोशित थिए। ओलीलाई भंगेराको कथाको पात्रसँग जोड्दै उनले आगामी दुई वर्षपछि हुने चुनावमा ओलीको जमानत जफत हुने चेतावनी दिए। प्रवक्ता नारायणकाजी श्रेष्ठले चुनाव लोकतन्त्र रक्षा नभई ध्वस्त बनाउन घोषणा गरिएकाले सफल नहुनेमा जोड दिएका थिए।

मञ्चमा राष्ट्रिय स्वरुपको झल्को दिने कोशिस


ओलीविरुद्ध आन्दोलनरत नेकपाका नेताहरुले बुधबारको शक्ति प्रदर्शन र विरोधसभामा राष्ट्रिय स्वरुपको झल्को दिने कोशिस गरे। विरोधसभामा तीन जना महिलाले भाषण गर्न पाएका छन्, बुधबार।

रामकुमारी झाँक्री, अञ्जना विशंखे, अमृता थापा राष्ट्रपति विद्यादेवी भण्डारी, ओली र रामबहादुर थापा ‘बादल’विरुद्ध आक्रमक देखन्थे। आफ्नो भाषणबाट ताली बटुल्न सफल नेता झाँक्रीले राष्ट्रपति भण्डारीलाई ओलीको ‘एसिस्टेन्स’ र ओलीलाई कागजी बादशाहको रुपमा प्रस्तुत गरिन्।

उनले भनिन, ‘कार्यकारी प्रधानमन्त्रीको एउटा एसिस्टेन्सजस्तै जस्तोसुकै कुरामा छाप लगाउने ? सम्माननीय राष्ट्रपतिज्यू राष्ट्रपति संस्था सम्मानित छ र त्यसको ओज बोक्न नसक्ने पात्रका विरुद्ध बोल्न पाइन्छ। एउटा अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने राष्ट्रपतिका विरुद्ध बोल्न पाइन्छ । यसमा महिला अस्मिताको प्रश्न उठ्दैन।’

यता विशंखेले राष्ट्रपति भण्डारी ओलीको कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप लगाइन्। उनले मुलुकमा बलात्कारका घटना बढ्दै जाँदा त्यसको संरक्षक ओली र गृहमन्त्री बादल बनेको आरोपसमेत लगाइन्।

नेता थापाको पनि भण्डारी, ओली र बादललाई चुनौति थियो। मुस्लिम सुमदायबाट प्रतिनिधित्व गर्ने नेता महफुज अन्सारीले ओली सद्दाम हुसेन बन्न लागेको आरोप लगाएका थिए।

तराईबाट प्रतिनिधित्व गर्ने नेता रामचन्द्र झाले कहिले हिन्दी त कहिले नेपाली भाषामा ओलीप्रति आक्रोश पोखिरहे। सुदुरपश्चिमबाट भानुभक्त जोशी र थारु समुदायबाट प्रतिनिधित्व गर्ने सन्तकुमार चौधरी पनि उत्तिकै आक्रमक देखिन्थे।

नुवाकोटका हितबहादुर तामाङलाई अध्यक्ष बनाइएको सभाको स्वागत नेवार समुदायबाट जीवनराम श्रेष्ठले गरेका थिए। कार्यक्रम सञ्चालकको रुपमा प्रस्तुत भएका नेता लिलामणी पोखरेलले बेलाबेला जनतासँग माफी माग्दै ओलीको प्रतिगमविरुद्ध आफूहरु सडकमा आउन बाध्य भएको सुनाएका थिए।

बुधबार नेकपा नेताहरुको प्रदर्शन र विरोधसभाका कारण बिहानदेखि उपत्यकाको सवारी अवागमन प्रभावित भयो। विद्यार्थीको अध्ययनमा पनि उत्तिकै प्रभाव पर्यो। तर नेताहरुको भाषण सुनेर फर्केकाहरुमा भने रामसिंहमा जस्तै आस थोरै असन्तुष्टी धेरै देखिन्थ्यो। बुधबारको जुलुसका लागि भनेर बाराबाट आएकी ४९ वर्षीया मायादेवी शाहले भनिन,‘जुलुसमा त आइयो, झण्डा पनि बोकियो। खै हामीलाई नेताहरुले के दिने हुन कुन्नी? थाहा छैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?