
बुटवल– नेकपा (ओली समूह)ले बिहीबार बुटवलमा मोटरसाइकल र्याली निकालेको छ। फागुन १ गते बुटवलमा हुन लागेको जनसभाको पूर्वसन्ध्या र नयाँ निर्वाचनको स्वागतमा युवा विद्यार्थीले संयुक्त रूपमा बृहत् मोटरसाइकल र्याली गरेका हुन्।
र्यालीको बुटवल राजमार्ग चौराहामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए। चौराहाबाट मोटरसाइकल र्याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क, ट्राफिकचोक, गोलपार्क, अमरपथ हुँदै पुष्पलाल पार्कमा आएर टुङगिएको थियो।
र्यालीलाई सम्वोधन गर्दै नेता महेश बस्नेतले काठमाडौँको आमसभा भन्दा बुटवलको सभा ठूलो हुने बताए।
यसअघि नेकपा ओली समूहले बुटवलमै पत्रकार सम्मेलन गरी सभाको तयारीबारे बताएको छ।
सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलले दावी गरे।
बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भन्नलाई दुई लाख होइन। यर्थाथमै दुई लाख जनता सहभागी हुनेछन्। एक लाख जनता रुपन्देहीका र एक लाख प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुनेछन्। बुटवलको सभा यर्थाथमै ठूलो सभा हुनेछ।’
सभा सुरु हुनुपूर्व अस्पताल लाइनको खाली जग्गामा जम्मा भएर राजमार्ग चौराहा हुँदै बुटवल ७ को सिद्देश्वरी माविको खेल मैदानमा पुग्ने उनले बताए। सभामा नेकपा अध्यक्ष केपी ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले सम्वोधन गर्नेछन्।