
झापा – झापाको कनकाई नगरपालिकास्थित चम्पापुर माविमा अध्ययनरत् एक विद्यार्थीको शंकास्पद मृत्यु भएको छ।
ती विद्यार्थीको शिक्षकको कुटाइबाट मृत्यु भएको मृतक विद्यार्थीका परिवार तथा आफन्तले आरोप लगाएका छन्।
कन्काई न.पा-६ चम्पापुरका ११ वर्षका कृष्ण राजवंशीको मृत्यु भएकाे हाे।
शिक्षक रवीन मगरले कान निमोठेर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको दाजु संदिप राजवंशीले दाबी गरेका छन्।
बालकको शव पोस्टमार्टमपछि अहिले बिएण्डसी अस्पतालको शव गृहमा राखिएको छ।
शिक्षक रवीन मगरलाई उनकै सुरक्षाका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।
गत माघ १८ गते विद्यार्थी कृष्ण राजवंशीलाई शिक्षक मगरले कान निमोठेको मृतक बालकका परिवारका सदस्यको आरोप छ।
उपचारका क्रममा बिर्तामोड बिएण्डसी अस्पतालमा बालकलाई पुर्याउँदा उनी निमोनियाका कारण सिकिस्त रहेको अस्पतालका चिकित्सकहरूले बताए।
उनीहरूका अनुसार पछि मिर्गौलामासमेत समस्या रहेका कारण डायलासिसका लागि नोबेल अस्पताल रेफर गरिएको बिएण्डसी अस्पतालले जनाएको छ।
ती बालकको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो।