
फेब्रुअरी १४, २०१८। नेपाली क्रिकेटले सधैँ सम्झिरहने दिन हो। सायद, धेरै वर्षसम्म। वर्षौँ वर्षसम्म।
नामिबियाको विन्धोएकमा त्यसदिन भएको खेलमा नेपालले क्यानडालाई एक विकेटले हराएर विश्वकप २०१९ को विश्वस्तरको छनोटमा स्थान बनाएको थियो। त्यही विश्वस्तरको छनोटबाट हो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको, इतिहासमा पहिलो पटक।
लिग चरणको अन्तिम खेल समान ६ अंक भएका नामिबिया, क्यानडा र नेपालसँगै चार अंक भएको युएईलाई महत्वपूर्ण थियो। नेपालले क्यानडा र युएईले नामिबियासँग खेल्दै थियो।
क्यानडाविरुद्धको खेल नेपालका करण केसीका लागि खास बन्यो। नेपालले एक सय ९५ रनको लक्ष्य पछ्याउनेक्रममा ४२.१ ओभरमा ९ विकेट गुमाएर एक सय ४४ रनको स्थितिमा थियो। क्रिजमा बाँकी थिए, करण र सन्दीप लामिछाने। दुवै ब्याट्सम्यानले खाता खोल्न सकेका थिएनन्। सानो गल्तीले पनि नेपाल विश्वकपको छनोटमा पुग्न असफल हुने थियो।
तर करण र सन्दीपले १० औँ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरे। १० औँ नम्बरमा ब्याटिङमा आएका करणले ३१ बलमा चार छक्का र तीन चौका प्रहार गरे। १८ बल खेलेका सन्दीपले आफू टिकेर करणलाई ब्याटिङ गर्ने ठाउँ दिइरहे। सन्दीपले केवल पाँच रन जोडेका थिए।
नेपाललाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो। स्ट्राइकमा रहेका करणले सुरुका चार बलमा रन जोड्न नसकेपछि नेपालमाथि दबाब चर्किएको थियो। धन्न ! उनले पाचौँ बलमा छक्का प्रहार गरे। छैठौँ बल क्यानडाका बलरले वाइड फ्याँकेपछि दुवैको योगफल बराबरी भयो, नेपालले थप एक बल खेल्ने र जितका लागि आवश्यक एक रन जोड्ने मौका पायो। करणले अन्तिम बलमा एक रन लिएर नेपाललाई जिताए, अस्वभाविक प्रदर्शनसहित।
खेलको अन्त्यमा नेपाल पाँच खेलबाट ८ अंक जोडेर तालिकाको शीर्षस्थानमा रह्यो। दोस्रोदेखि चौथो स्थानसम्म रहने टोलीको समान ६ अंक रहेको थियो। नेटरनरेट आधारमा युएई दोस्रोमा रहेर विश्वकपको विश्वस्तरको छनोटमा पुग्यो। ६ अंक भएका क्यानडा र नामिबिया भने अभागी रहे।
विश्वस्तरको छनोटको खेल !
विश्वस्तरको छनोटमा आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप २०१५-२०१७ का शीर्ष चार टोली नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ र पपुआ न्युगिनी थिए।
वर्ल्ड क्रिकेट लिग डिभिजन-२ बाट अगाडि बढेका नेपाल र यूएईसहित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसीसीको एकदिवसीय वरियतामा रहेका पछिल्ला चार टेस्ट टोली जिम्बावे, वेस्ट इन्डिज, अफगानिस्तान र आयरल्यान्ड (९ देखि १२ औँ स्थानसम्मका टोली) गरी जम्मा १० टोलीले विश्वकपको विश्वस्तरको छनोट खेलेका थिए। यो प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुने प्रावधान थियो।
सन् २०१८ को मार्चमा जिम्बावेमा भएको यो प्रतियोगिताको पहिलो चरणमा सहभागी १० टोलीलाई ५/५ गरी दुई समूहमा बाँडिएको थियो। दुवै समूहका शीर्ष तीन/तीन टोली सुपर सिक्समा पुग्ने थिए। नेपाल सुपर सिक्समा पुग्न सकेन। अब सातौँ स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने थियो। सातौँ स्थानका लागि भएको पहिलो खेलमा नेपालले पपुआ न्युगिनीसँग खेल्नु पर्ने थियो।
यो त्यस्तो खेल थियो जसमा जित हात पारेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता निश्चित थियो। सुपर सिक्समा पुगेका ६ टोलीमध्ये चार टोली टेस्ट मान्यताप्राप्त थिए। सन् २०१७ मा आईसीसीले आयरल्यान्ड र अफगानिस्तानलाई टेस्ट मान्यता दिनुअघि ६ वटा एसोसिएट सदस्यलाई चार/चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिने गरेको थियो। अब शीर्ष चार एसोसिएटलाई आईसिसीले उक्त मान्यता दिँदै थियो।
आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप २०१५-२०१७ को विजेता भएका हिसाबले नेदरल्यान्ड्सले चार वर्षका लागि एकदिवसीय मान्यता पाइसकेको थियो। नेपाललाई शीर्ष तीन एसोसिएट भित्र पर्नु थियो, विश्वकपको विश्वस्तरको छनोटमा।
सुपर सिक्समा दुई वटा एसोसिएट थिए यूएई र स्कटल्यान्ड। नेदरल्यान्ड्सले पहिला नै एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाइसकेकाले नेपाललाई कम्तिमा आठौँ हुनु थियो।
किनभने सातौँ स्थानका लागि सेमिफाइनलमा नेदरल्यान्ड्सले हङकङ र नेपालले पपुआन्युगिनीसँग खेल्दै थियो। नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपाल आठौँ भएमात्र पनि पुग्थ्यो। तर, त्यसअघि पपुआ न्युगिनीलाई हराउनु थियो। मार्च १५ तारिखमा भएको खेलमा नेपालले पहिला ब्याटिङ गरेको पपुआ न्युगिनीलाई २७.२ ओभरमा एक सय १४ रनमा समेटेर जितको आधार बलियो बनायो।
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले चार चार विकेट लिए। करण केसी र सोमपाल कामीले दुवै ओपनरलाई आउट गरे। सन्दीपले तेस्रोदेखि छैठौँ नम्बरसम्मका ब्याट्सम्यानलाई आउट गरे। सातौँदेखि १० औँ नम्बरसम्मका ब्याट्सम्यानलाई दीपेन्द्रले पवेलियन पठाए। नेपालले २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
मध्यक्रमका दीपेन्द्र ५० रनमा अविजित रहे। दुवै प्रारम्भिक ब्याट्सम्यानलाई सस्तोमा गुमाएको नेपाललाई २० रन बनाएका कप्तान पारस र २६ रन बनाएका आरिफ शेखले पनि गतिलो साथ दिएका थिए। नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपाल पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउन सफल भयो।