
बिर्तामोड– अहिले सामाजिक सञ्जालहरूमा दुई दिनदेखि एउटा भिडियो अचानक भाइरल भएको छ।
दिवंगत पूर्व रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह अर्थात चाँदनी शाहद्वारा रचित, दिवंगत संगीतकार नातिकाजीद्वारा संगीतवद्ध र दिवंगत गायिका तारादेवीद्वारा स्वरवद्ध गीतमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल हाँसी-खुशीसाथ नाचिरहेको उक्त भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाइरल भएको छ।
‘शुभकामना भरि…….’
गत फागुन ७ गते झापाको मेचीनगरमा रहेको होटल मेची क्राउनमा एक विशेष कार्यक्रमको आयोजना भएको थियो।
त्यसको केही दिन अघिदेखि नै पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार उक्त होटलमै बसेका थिए।
पूर्वरानी कोमलको ७० औं जन्मदिनको उपलक्ष्यमा पूर्व राजपरिवार गत फागुन ७ गते शुक्रबार मेची क्राउन होटलमा भेला भएका थिए।
उक्त होटलकी एक जना कर्मचारीले भनिन्, ‘उहाँहरू चार दिन अघिदेखि नै होटलमा आउनुभएको थियो। यहीँ बस्नु भयो।’
उक्त भिडियोमा देखिएका पूर्व राजपरिवारका सदस्य प्रफुल्लित देखिन्छन्।
त्यहाँ उपस्थित सामान्य लाइभ ब्यान्डको प्रस्तुतीमा ‘शुभकामना भरि…’ गीत सकिएपछि फेरि गुन्जियो ‘ह्याप्पी बर्थडे टु यु…।’
हिमानी शाह नामक ट्वीटर अकाउण्ट शनिबार उक्त भिडियो ट्विट भएपछि अहिलेसम्म उक्त भिडियो झण्डै चार सय जनाले रिट्विट गरेका छन्। ७५ जनाले कमेन्ट गरेका छन् भने ३ हजार ५ सयभन्दा बढीले उक्त भिडियो लाइक गरेका छन्।
उक्त भिडियोमा कमेन्ट गर्दै गणेश पौडेल लेख्छन्, ‘न आवेग, न कुनै उत्तेजना शालिन र भद्र व्यवहार सौम्य र शान्त मुद्रा गम्भीर र जिम्मेवार व्यक्तित्व प्रसन्न र हसमुख स्वभाव। आहा! राजनीति र पूर्वराजाको परिचयलाई बाहिर राखेर कुनै आग्रह र पूर्वाग्रह नराखी हेर्दा ज्ञानेन्द्रको व्यक्तित्वको आभा निकै तेजिलो भेटे, हरकोही यस्तो बन्न सके।’
कमेन्ट गर्ने अधिकांशले पूर्वरानी कोमलको दीर्घायुको कामना गरेका छन् भने केहीले नकारात्मक कमेन्ट पनि गरेका छन्।
♥️🎉♥️ pic.twitter.com/OhsVtLKMwB
— Himani shah/हिमानी शाह🇳🇵 (@HimaniFanclub) February 20, 2021