
बुटवल-प्रतिनिधि सभा ब्युताउने सर्वोच्च अदालतको फैसलाको खुशीयालीमा नेकपा प्रचण्ड-नेपाल पक्षले बुटवलमा विजय र्याली र सभा गरेको छ।
बुटवल राजमार्ग चौराहाबाट शुरू भएको र्याली नगरपरिक्रमा पछि ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो।
नेपालको राष्ट्रिय झण्डा, नेकपाको झण्डा र चुनाव चिन्ह सूर्यअंकित झण्डासहित र्यालीमा सहभागीहरूले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए।
केपी ओली राजीनामा दे, लोकतन्त्र जिन्दावाद, यो जित कस्को जनताको, जस्ता नारा लगाएका थिए।
र्यालीपछिको सभामा बोल्दै नेकपा केन्द्रीय सदस्य वामदेव क्षेत्रीले प्रतिगामी कदमको पराजय भएकोले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।
उनले मुलुक अस्थीरतातर्फ जानबाट रोकिएको भन्दै जनताको जित भएको उल्लेख गरे।
नेकपाकै रूपन्देही अध्यक्ष राजु गुरूङले लोकतन्त्र र संविधानको रक्षा भएको भन्दै प्रतिगामी कदम चाल्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।