ओलीले राजीनामा नदिँदा उनी निकट नेताहरु नै असन्तुष्ट

ओलीले राजीनामा नदिँदा उनी निकट नेताहरु नै असन्तुष्ट
+
-

काठमाडौँ- नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङ पार्टी अध्यक्ष केपी शर्मा ओली खेमाका भनेर चिनिन्छन्। उनी पूर्व एमालेको नवौँ महाधिवेशनमा खुलेरै ओलीको पक्षमा उत्रिएका थिए। पार्टीमा पटक–पटक विवाद उत्पन्न हुँदा उनी ओलीकै बचाउमा उत्रिन्थे। पछिल्लो पटक संसद विघटकै पक्षमा थिए,उनी। अर्थात् ओलीको कदम उनलाई उचित लागेको थियो।

तर सर्बोच्च अदालतबाट संसद पुनःस्थापनाको फैसला आएपछि उनको मान्यता र अभिव्यक्ति एकाएक बद्लिएको छ। पार्टीको पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमा र अन्य प्रतिपक्षी दलहरुकै शैलीमा उनले पनि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिँदा आगामी राजनीतिक बाटो सहज हुने मान्यता अघि सारेका छन्।

उनले देशसञ्चारसँग बुधबार भने, ‘सम्मानित अदालतको फैसला हामी सबैले मान्नुपर्छ। थप जटिलता उत्पन्न नहोस् भन्नका लागि सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। त्यसपछि संसदको सामना गर्न उहाँलाई सहज हुन्छ र पार्टी एकता पनि बचाउन सकिन्छ। मैले प्रधानमन्त्रीलाई दिने सुझाव पनि यही हो।’

बुधबार बिहान बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठकमा अनुपस्थित उनी प्रचण्ड खेमामा प्रवेश गर्लान्? यसको स्पष्ट जवाफ भने उनले दिएनन्। बरु, आफू विचारको पक्षमा रहेको भनेर टारे। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका उनले यताउता जाने भन्नेबारे सोचि नसकेको जबाफ दिएका हुन्। तर उनी निकट एक स्थायी कमिटी सदस्यका अनुसार उनी पछिल्लो पटक ओलीसँग रुष्ट थिए र सर्वोच्चको संसद पुनःस्थापनाको फैसलाले उनलाई प्रचण्ड खेमामा जान बल पुगेको छ। प्रदेशसभा सदस्य भएकाले प्रधानमन्त्री हटाउने प्रक्रियामा भूमिका नभएपनि प्रचण्ड खेमामा उनको प्रवेश महत्वपूर्ण मानिन्छ। गुरुङको प्रदेशको मुख्यमन्त्री ओली निकट पृथ्वीसुब्बा गुरुङ हुन्।

प्रधानमन्त्री ओलीका अर्का बफादार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद पुनःस्थापित भएमा प्रधानमन्त्री र आफूहरु नैतिकताका आधारमा पदमा बस्न नमिल्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए, केही दिन अघि एक टेलिभिजन अन्तर्वार्तामा। त्यसलगत्तै प्रधानमन्त्री ओलीले उनलाई बालुवाटार बोलाएर राजीनामाबारे बोल्न किन हतार गरेको भनेर हप्काएको बालुवाटार स्रोत बताउँछ।

संसद पुनःस्थापनाको फैसला आएलगत्तै मन्त्री ज्ञवालीले टेलिभिजन अन्तर्वार्तामा दिएको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। बुधबार ओली पक्षीय नेकपा स्थायी कमिटी बैठक सकिएलगत्तै पत्रकारहरुले सोही प्रसंग कोट्याउँदा ज्ञवालीले प्रधानमन्त्री ओलीको राजीनामाको मामिला टुंगो नलागिसकेको भनेर टारे।

सार्वजनिकरुपमा प्रश्नको सामना गर्न असहज मानेका ज्ञवाली पछिल्लो पटक ओलीसँग असन्तुष्ट रहेको स्रोतको दाबी छ। तर उनीसँग ओली खेमा छोडेर आफ्नो खेमा आउने नैतिक आधार योबीचमा गुमाएको नेता पम्फा भुसालले दाबी गरिन्।

प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने पक्षमा उनी निकट स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा पनि रहेको बुझिएको छ। यसबारे खुलेर कुरा गर्न नचाहेका नेता विश्वकर्माले अब ओली पदमा रहिरहँदा नेकपा एकताको सम्भावना पनि टुट्ने बताएका छन्, उनी निकट एक केन्द्रीय सदस्यसँग।

उपप्रधानमन्त्री ईश्वर पोखरेल ओलीसँग निकट देखिन खोजेपनि उनीसँगको विश्वास कमजोर बन्दै गएको बुझिएको छ। आफ्नो चाहनाअनुसार ओलीले पार्टीमा आफ्नो उत्तराधिकारी नबनाएको र रक्षामन्त्री खोसिदिएकोमा पोखरेलको ओलीसँग चित्त दुखाई छ। र, पछिल्लो पटक उनीहरुबीचको सम्बन्ध अझै टाढा भएको ओली र पोखरेललाई नजिकबाट नियालिरहेका एक स्थायी कमिटी सदस्यले दाबी गरेका छन्।

ओली खेमाका सांसदहरु प्रचण्डतिर जालान्?


ती सदस्यलाई विश्वास गर्ने हो भने पछिल्लो पटक प्रचण्ड खेमाबाट विभिन्न प्रलोभनमा परी ओली खेमामा गएका करिव एक दर्जन सांसदहरुको मनस्थिति गुरुङको जस्तै बद्लिन थालेको छ, संसद पुनःस्थापना भएको २४ घण्टा नबित्दै। तर उनीहरुले प्रचण्ड खेमामा प्रवेश गइसकेको सार्वजनिक घोषणा भने गरिसकेका छैनन्।

प्रचण्ड पक्षले बुधबारदेखि संसदीय दलमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न बहुमत जुटाउने कसरत सुरु गरिसकेको छ। यो खेमाका एक अध्यक्ष माधवकुमार नेपालले आफ्नो पक्षमा ओलीतिरबाट धेरै सांसदहरु आउने भएकाले उनीहरुलाई गर्ने मानसम्मानमा कुनै पनि कमी नराख्न र उपत्यका नछोड्न निर्देशन पनि दिएका छन्, बुधबार।

ओलीले राजीनामा दिइ आत्मलोचना गरेमा पार्टी एकता सम्भव !


नेकपा विभाजनको अवस्थामा पुग्नुमा संसद विघटन महत्वपूर्ण कारण बनेको थियो। अर्थात् संसद विघटनपछि विवादैविवादमा डुबेको नेकपा राजनीतिक रुपले दुई फ्याँक भएको थियो। निर्वाचन आयोगले यसको आधिकारिता टुंगो लगाउन मात्र बाँकी छ।

तर संसद ब्यूँतिएसँगै प्रधानमन्त्री ओलीले राजीनामा दिएर जनतासमक्ष आत्मालोचना गरेका खण्डमा पार्टी एकता नयाँ ढंगबाट अघि बढ्ने अभिव्यक्ति नेताहरुले सार्वजनिकरुपमै दिन थालेका छन्। र, पार्टी विभाजनपछि तटस्थ बसेको दाबी गर्ने नेकपा उपाध्यक्ष बामदेव गौतमले ओलीले राजीनामा दिनुपर्ने र पार्टीका बैठकहरु केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नुपर्ने भन्दै बुधबार विज्ञप्ती निकालेका छन्।

पेरिसडाँडामा आफू पक्षीय स्थायी कमिटी बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि ओलीले राजीनामा दिएर आफ्ना गल्तीहरुको पश्चाताप गरेको खण्डमा पार्टी एकता सम्भव भएको मान्यता अघि सारे। धनगढीमा रहेका यो पक्षका स्थायी कमिटी सदस्य भीम रावलले पनि त्यसको स्पष्ट संकेत गरेका छन्।

परराष्ट्रमन्त्री ज्ञवाली पार्टी एकताका पक्षमा आफूहरु रहेकाले नै अहिलेसम्म कुनै पनि नेताहरुलाई कारवाही नगरेको भने पनि ओलीको राजीनामालाई लिएर भने मौन देखिए।

पार्टी एकताको पक्षमा ज्ञवाली मात्रै होइन, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङदेखि पार्टीमा विभाजनपछि जिल्ला–जिल्लामा ओली समूहको पार्टी कार्यालयको व्यवस्था र संगठन निर्माणमा जुटेका महेश बस्नेतसम्मले पार्टी एकता जोगाउनुपर्ने भनिसकेका छन्।

नेता पम्फा भुसालको प्रश्न छ, ‘राजीनामा पनि नदिने, आत्मलोचना पनि नगर्ने अनि पार्टी एकताको कुरा गर्ने? नैतिकताले ओलीलाई यसो गर्न दिन्छ?’ यो पक्षका अध्यक्षद्वय प्रचण्ड र नेपालले मंगलबार नै ओलीलाई राजीनामा दिन आग्रह गरिसकेका छन्।

देउवाले ओलीलाई नै साथ दिने दाबी


संसद पुनःस्थापनासँगै राजीनामाका लागि दवावमा परेका ओलीले सत्ता साझेदारीका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आन्तरिक छलफल सुरु गरिसकेको बुझिएको छ।

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नुभन्दा पहिले नै ओलीले देउवासँग सत्ता साझेदारीबारे छलफल गरिसकेको ओली निकट एक केन्द्रीय सदस्यले बताए।

उनले भने, ‘संसद पुनःस्थापना भयो भनेर तनाव लिनै पर्दैन। देउवा ओलीसँग सहकार्य गर्ने निश्चित नै हो। उनलाई प्रधानमन्त्री बनाइन्छ। र, डेढवर्षपछि चुनावमा गइन्छ।’

उनका अनुसार ओलीसँग सत्ता सहकार्य गर्दा ओली गुटसँग मात्रै गर्नुपर्ने हुन्छ देउवालाई। तर प्रचण्ड खेममा उनी एक्लै छैनन्, माधव नेपाल, नारायणकाजी श्रेष्ठ लगायतको गुटसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?