महिलाप्रति सम्मान छ भन्ने पन्तले किन गरे यौनिकताको प्रश्न?

महिलाप्रति सम्मान छ भन्ने पन्तले किन गरे यौनिकताको प्रश्न?
+
-

काठमाडौँ- अनिश्चयको भूमरीमा राजनीतिलाई धकेलेर आफूलाई योग्य सावित गर्ने अस्वस्थ दौड सुरु गरेका नेताहरुले महिलाको यौनिकतामाथि सार्वजनिक रुपमै प्रहार गर्न थालेका छन्। अर्थात उनीहरु लैंगिकद्वेषी भाषालाई प्राथमिकता दिन थालेका छन्।

त्यसबाट उनीहरुको महिलाप्रति सोच कुण्ठाग्रस्त रहेको भन्ने उदाङ्गो हुन थालेको छ। खासगरी आन्तरिक कलहले दुई चिरामा विभक्त नेकपाका नेताहरुले चर्को भाषण गरेर विपक्षबीच ‘हिरो’ बन्ने अभीष्ट पूरा गर्न खोज्दा महिलाको संवेदनशीलतालाई बेवास्ता गर्न थालेका छन्।

नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमाका नेता रघुजी पन्तले विपक्षी खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महिला सांसदलाई अवसरबाट बञ्चित गरेको आरोप लगाउने क्रममा ओली खेमाकी राष्ट्रियसभा सदस्य कोमल वलीले ‘पोइला जान पाम् भन्ने गीत गाएर, सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि उनलाई ओलीले सांसद बनाएको’ भन्ने अभिव्यक्ति दिएका थिए।

तत्कालै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा पन्तले भनेका छन्, ‘महिलाहरु अहिले केपीतिर पनि लागेका छन्। बीसौं वर्ष बिहे नै नगरेर यो पार्टीमा लागेका महिलाहरु छन्। तर, तिनले टिकट पनि पाएनन् । राष्ट्रिय सभा पनि पाएनन्। केपी ओलीले यसो केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि संसद त तिनै भइन्।’

आफ्नै खेमाका महिला नेता असन्तुष्ट


शनिबार सार्वजनिक उनको यो अभिव्यक्तिको विरोधमा पन्तकै खेमाका महिला नेताहरु पनि सन्तुष्ट छैनन्। नेता अष्टलक्ष्मी शाक्यले कोमल वली जस्ता पात्रहरुले पार्टीको विधि र प्रक्रिया मिचेर माथि पुगेको र उनलाई सांसद बनाउने ओली पनि दोषी भएको आरोप लगाइन्।

पन्तले वलीको यौनिकतामाथि उठाएको प्रश्नबारे तपाईँको प्रतिक्रिया के हो? भन्ने प्रश्नमा शाक्यले घुमाउरो जवाफ दिइन्।

शाक्यले भनिन्, ‘महिलाको शरीरमाथि टिप्पणी जो कसैले गर्न हुन्न। यसमा सबै जना संवेदनशील हुनुपर्छ। रघुजीले बोल्नुभएको के थियो र त्यसको आशय के थियो भन्ने मैले बुझ्न पाएको छैन। नबुझिकन मैले टिप्पणी गर्न मिल्दैन।’ त्यसबाट शाक्य पन्तको अभिव्यक्तिप्रति सन्तुष्ट छैनन् भन्ने स्पष्ट बुझ्न सकिन्छ।

पन्तको अभिव्यक्तिलाई लिएर सोही खेमाकी अर्की नेता पम्फा भुसालले पनि घुमाउरो असन्तुष्ट व्यक्त गरिन्। भुसालले भनिन्, ‘कुनै वक्ताले अघि र पछि बोलेका कुरा काटेर भिडियो पोष्ट गर्ने चलन छ। उहाँले वास्तवमा के के भन्न खोज्नुभएको हो या के भन्नुभएको थियो भन्ने पूर्णसामग्री उपलब्ध छैन। तर आफ्ना अभिव्यक्तिबाट के कस्तो असर पर्छ भन्नेमा सबै नेताहरु सचेत हुनुपर्छ।’

पन्तले यसअघि ओलीविरुद्ध शक्ति प्रदर्शन गर्नेक्रममा गत माघ २८ गते धार्मिक आस्थामा चोट पुग्ने गरी अभिव्यक्ति दिएका थिए। उनले ‘पशुपतिनाथको शरणमा जाँदैमा ओलीलाई पशुपतिनाथले नबचाउने’ अभिव्यक्ति दिएपछि त्यसको विरोध भएको थियो।

ओलीप्रति आक्रामक बन्ने क्रममा पन्तलाई महिलाको यौनिकतामाथि प्रश्न उठाउने हक नभएको भन्दै अधिकारकर्मीहरु उनीविरुद्ध खनिएका छन्। महिला भएकै कारण होच्याउनु, धम्की दिनु, गाली–गलौज गर्नु, भेदभाव गर्नु, भावनात्मक चोट पुर्‍याउनु, झुटा आरोप लगाई बेइज्जती गर्नु मानसिक हिंसा भएकाले पन्त कारवाहीको दायरामा आउनुपर्ने आवाज उठेको छ।

पन्तको अभिव्यक्तिसँगै वलीले आफूसहित अरु महिला नेताहरुको पनि प्रश्न उठाएकी छिन्। तर पन्तको अभिव्यक्तिबाट आफू कति पनि विचलित नभएको बताइन्। कार्यक्रमका सिलसिलमा गृहजिल्ला दाङ पुगेकी वलीले आफूले नेता मान्दै आएका पन्तप्रतिका भ्रम तोडिएको बताइन्।

उनले भनिन्, ‘वास्तवमा पन्त कति निच हुनुहुँदोरहेछ यो अभिव्यक्तिबाट स्पष्ट भयो। मलाई उहाँले जसरी प्रश्न उठाउनु भएको छ त्यसरी नै मैले उहाँको खेमाका महिला नेतालाई पिंडुला देखाएर त्यहाँ पुग्नु भएको हो भनेर प्रश्न गरेँ भने के जवाफ दिनुहुन्छ? कुनै पनि महिला पदमा पुग्दा पन्तको जस्तो दरिद्र सोचको शिकार हुनुपर्ने?’

रेडियो नेपालको समाचार वाचिकाको जागिर त्याग गरी वलीले राप्रपाको केन्द्रीय सदस्यका रुपमा राजनीति सुरु गरेकी थिइन्। तर केही समयमै राप्रपा त्यागेर तत्कालिन एमाले प्रवेश गरेकी उनी राष्ट्रयसभा सदस्य बन्दा उनको पार्टीभित्रबाटै तीव्र विरोध भएको थियो। पार्टीमा लामो योगदान पुर्‍याएकाहरुलाई बेवास्ता गरेर भर्खरै आएकालाई अवसर दिइएको भन्दै आलोचना भएको थियो।

वलीको राजनीतिक पदसँग उनको यौनिकता जोड्न नमिल्ने नमिल्ने भन्दै उनको पक्षमा आवाज बलियो भएको छ। वलीले भनिन्,‘ म आफ्नो क्षेत्रमा संघर्षशील महिला हुँ। पार्टीमा पनि मेरो योगदान छ। मेरो पदसँग मेरो प्रतिष्ठालाई जोडेर यस्तो तल्लोस्तरको टिप्पणी गर्ने आँट कसरी आउँछ खासगरी पुरुष नेतालाई?’

आफ्नो अभिव्यक्तिका कारण एकाएक विवादमा तानिएका पन्त यतिबेला तनावग्रस्त छन्। पन्तले आइतबार देशसञ्चारसँग भने, ‘मेरो अभिव्यक्तिको आशय कोमल वलीजीको भावनामा चोट पुर्‍याउने होइन। तर मेरो अभिव्यक्तिले उहाँलाई चोट पुगेकोमा दुःखी छु।’

तपाईँ माफी माग्नुहुन्न? भन्ने प्रश्नमा पन्तले आफ्नो आशय महिलाको भावनामा ठेष पुर्‍याउने नभएकाले माफी नमाग्ने अडान लिए। पन्तको अभिव्यक्तिविरुद्ध वली अदालत जाने तयारी गरेको प्रसंगमा भने पन्तले बरु आफू अदालतको सामना गर्ने दाबी गरे।

पन्तले वलीसँगै आम महिलालाई अपमान हुनेगरी गरी अभिव्यक्ति दिएकाले सार्वजनिक रुपमा उनले माफी माग्नुपर्नेमा पनि दबाब बढेको छ।

पन्तले आफू निकट एक केन्द्रीय सदस्यसँग आफ्नो जिब्रो चिप्लिएको बताएका छन्। ‘मलाई तनाव भएको छ। वास्तवमा मेरो जिब्रो चिप्लिएको हो। नियत खराब होइन। अब जे परिस्थिति आउँछ सामना गर्न तयार छु,’ ती नेताले पन्तलाई उद्धृत गर्दै भने।

महिला संवेदनशिलतामा गम्भीर नभएको आरोप पुरुष नेताहरुलाई मात्रै लागेको छैन। पन्तकै खेमाकी रामकुमारी झाँक्रीले राजनीतिक टिप्पणी गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको यौनिकतामाथि प्रश्न उठाएको भन्दै तीव्र विरोध भयो।

झाँक्रीले राजनीतिमा लिङ्ग नहुने भनेर आफ्नो अभिव्यक्ति सच्याउने कोशिस गरेपनि उनलाई प्रहरीले नियन्त्रणमा लिएर स्पष्टिकरण लिइछोड्यो। झाँक्रीले आफ्नो अभिव्यक्तिको आशय राष्ट्रपतिको इज्जतमा प्रहार गर्ने नभएको भन्दै प्रहरीसमक्ष स्पष्टिकरण दिन बाध्य भइन्।

अभिव्यक्ति दिएकै भरमा प्रहरीले उनलाई नियन्त्रण गर्नु अस्वाभाविक भएपनि यो घटनाबाट जोकसैले अभिव्यक्ति स्वतन्त्रताका नाममा जथाभावी बोल्न हुन्न भन्ने सन्देश गयो।

यसअघि नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका नेपाली छात्राहरुलाई लिएर दिएको अभिव्यक्तिका कारण मन्त्री पदनै गुमाउनु परेको थियो।

उनले भनेका थिए, ‘बंगलादेशमा एमबीबीएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने अवस्था छ।’

आफ्नो अभिव्यक्तिको तीव्र विरोध भएपछि तामाङले रुँदै मन्त्री पदबाट राजीनामा दिएका थिए।

यो पनि पढ्नुहोस्

रघुजी पन्तको प्रतिक्रियाः मेरो अभिव्यक्तिले कोमल वलीको भावनामा चोट पुगेकोमा दुखी छु, अदालतको सामना गर्न तयार छु

रघुजी पन्तको प्रतिक्रियाः मेरो अभिव्यक्तिले कोमल वलीको भावनामा चोट पुगेकोमा दुखी छु, अदालतको सामना गर्न तयार छु

रघुजी पन्तविरुद्ध कोमल वली अदालत जाने

रघुजी पन्तविरुद्ध कोमल वली अदालत जाने

पिडुँला देखाएको भरमा ओलीले सांसद बनाएको पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति

पिडुँला देखाएको भरमा ओलीले सांसद बनाएको पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?