
काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्ने उद्देश्यले सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले एक समारोहका बीच काठमाडौंमा हस्ताक्षर गरेका हुन्।
महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्र बीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष गोल्छाले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष ४ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास व्यक्त गरे।
उद्योग विभागका महानिर्देशक भुषालले महासंघसंग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी सांच्चै समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने बताए।
महानिर्देशक भुषालले उद्योग विस्तार गर्न कहाँ समस्या छन् त्यसको पहिचान गरी समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा यो सहमती महत्वपूर्ण पहल हुने पनि बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठले आजको सहमती ऐतिहासिक भएको भन्दै उद्योगसंग सम्बन्धित नीति निर्माणमा यसले ठूलो सहयोग पुर्याउने बताए।
उक्त सम्झौता अनुसार तयार गरिएको डाटावेसको सम्बन्धमा कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुत्त रूपमा महासंघ र विभागको स्वामित्वमा हुनेछ । दुबै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसंग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिवद्धता जनाएका छन् ।
आपसी सहमती अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवर्द्धन एवं उद्योगहरुको संचालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा संवोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ।
उद्योग व्यवसायको निरन्तर संचालन मार्फत दीगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पुर्याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनर्स्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ।
आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्था बीच विभागको संयोजकत्वमा ६ सदस्यीय एक कार्यदल गठन गर्ने पनि समझादारीपत्रमा उल्लेख गरिएको छ।
सोही समिति मार्फत नियमितरूपमा दुवै संस्थाहरु एक ठाउँमा वसी बैठक छलफल गर्ने, संकलित तथ्यांकको भण्डारण, प्रशोधन, विश्लेषण र त्यसको प्रचार प्रसार र समन्वयवका लागि केन्द्रीय तथ्यांक विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारीहरू र गैर सरकारी संस्थाका प्रतिनिधिलाई समेत आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने उल्लेख छ।
मुलुकभित्र संचालित उद्योग व्यवसायका सम्बन्धमा ठोस र आधारिक तथ्यांकको नहुंदा उद्योग व्यवसाय विस्तारमा समेत कठिनाई पर्न गएको यथार्थता बीच महासंघ र विभागको यो सहकार्यबाट संवोधन हुने अपेक्षा गरिएको छ।