मोरङ- विराटनगरको सीमा हुदै दुई नेपाली महिलालाई भारततर्फ लैजादैं गरेका दुईजना पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको जुगल गाँउपालिका २ की २३ र ३२ वर्षीया दुई महिलालाई विराटनगर महानगरपालिका १६ दक्षिण गेट हुदैं लैजाने क्रममा दुई जना पुरुष पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा महानगरपालिका १६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेम बहादुर मगर रहेका छन्।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरि अनुसन्धान अघि बढाइएको हो ।
राम्रो कामको प्रलोभन दिदैं उनीहरुलाई भारततिर लैजान लागेको देखिएपछि तामाङ र मगरलाई पक्राउ गरिएको उनको भनाइ छ।
तामाङ थरका दुवै महिलाले भारतमा पुगेर राम्रो कमाई हुने भन्दै आफूहरुलाई काठमाडौंदेखि बस चढाएर विराटनगर ल्याइएको बताएका छन्।
प्रहरी प्रवक्ता राईका अनुसार दुवै जना काठमाडौंबाट बस चढेर फागुन २० गते दिउँसो ३ बजेतिर विराटनगर बसपार्क आइपुगेका थिए।
विराटनगर बसपार्कमा लिन पुगेका उनीहरुलाई काजीले एकरात लजमा राखेर फागुन २१ गते भारत पुर्याउन खोजेको पाइएको उनको भनाई छ।
यद्धपि, काजीले महिलाहरुलाई भारततर्फ लैजान प्रेमबहादुरको सहयोग मागेको अनुसन्धानका क्रममा देखिएको राईले बताए।
अर्कोतर्फ काठमाडौबाट आएका महिलाले बसमा चढाइदिने र बसपार्कमा लिन आउनेलाई नचिन्न जानकारी दिएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट काठमाडौंमा रहेका बेला फोन गरेर दुवै महिलालाई विराटनगर बोलाउने काम भने काजीले गरेको भेटिएको छ।
काठमाडौंमा काजीको सम्पर्कमा रहेर महिलालाई विराटनगर पठाउने व्यक्तिको विषयमा समेत प्रहरीले खोजी सुरु गरेको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































