
काठमाडौँ- माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आआफ्नो पूर्वपार्टीमा फर्कने निर्णय गरेर एक आपसबाट बिदा भएसँगै नेकपा एकता अन्ततः इतिहास बनेको छ।
नेकपा एकतालाई यो हविगतमा पुर्याउने अस्त्र केपी शर्मा ओली र प्रचण्डको ‘आलोपालो’ गोप्य सहमति नै मुख्य बन्यो।
आवरणमा विचार र सिद्धान्त; भित्र पद, सत्ता र शक्तिको स्वार्थपूर्ण लडाईँलाई निरन्तरता दिएका ओली–प्रचण्ड प्रवृतिले नेकपा एकता ३३ महिना मात्रै बाँच्न सफल भयो, त्यो पनि पटकपटक मरेतुल्य भएर।
यो बीचमा उनीहरुले पदीय भागगबण्डाका लागि जुनजुन हर्कत प्रदर्शन गरे, त्यसबाट समग्र मुलुकको राजनीति कति दुषित भइरहेको छ भन्नेमा पुन: जनताले स्पष्ट हुने मौका पनि पाएका छन्। अर्थात नेपाली राजनीतिमा गतिलो पाठ तयार भएको छ।
एकताको दुहाइमा ओली र प्रचण्डले देखाएका सुशासन, राजनीतिक स्थायित्व, समृद्धि जस्ता नारा असफलताका साक्षी पनि उनै जनता बनेका छन्।
२०७५ जेठ ३ गते ठूलो उत्साह प्रदर्शन गरेर एक भएका नेकपा एमाले र नेकपा माओवादीको साझा घर ओली र प्रचण्डबीचको एकपछि अर्को झगडाले धमिरा लागेको थियो। ढल्नै लागेको त्यो घर सर्वोच्च अदालतले ऋषिराम कट्टेलको पोल्टामा पार्दा भत्किएको छ।
सर्वोच्चले रिट निवेदकको मागदाबीभन्दा माथि उठेर ओली र प्रचण्डलाई अलगअलग हुनु भन्नुलाई राजनीतिक फैसला भनिएको छ। त्यसमा असहमति जनाइएको छ। तर, सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने आफ्नो दायित्व सम्झिँदै ओलीविरुद्ध प्रचण्डसँगै उभिएका माधव नेपाल र उनी पक्षर नेताहरुले सोमबार पेरिसडाँडामा प्रचण्ड र उनी पक्षधर नेताहरुसँग बिदाइका हात हल्लाए।
नेता नारायणकाजी श्रेष्ठका अनुसार दुवै पक्षको यो बैठक अन्तिम हो। अलग हुनु आफूहरुको बाध्यता भएको तर आफूहरुको हृदय विशाल भएको प्रतिक्रियासहित पेरिसडाँडाबाट बिदाइ हुनुभन्दा पहिले नै नेपालले नेकपा एमालेमै रहेर ओलीविरुद्ध संघर्ष चर्काउने निर्णय गरिसकेका थिए।
नेकपा एकता भंग हुँदा तत्काललाई ओलीलाई फाइदा देखिए पनि त्यो दीर्घकालिन हुनेमा संशय कायमै छ। अस्थिर स्वभाव र अवसरवादी नेताको आरोप खेपेका र रित्तिँदै गएका प्रचण्डले फेरि एक पटक आफ्ना युद्धकालिन सहयात्रीहरुलाई गुमाएका छन्।
ओली ‘क्याविनेट’मा रहेका रामबहादुर थापा ‘बादल’ देखि मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, दावा लामाहरुले ओलीको साथ नछोड्ने दृढता व्यक्त गरिसकेका छन्।
मन्त्रीमै रहन ओलीको साथ छोडेको आरोप लागे पनि त्यसले आफूहरुलाई प्रभावित नगर्ने उनीहरुको साझा निष्कर्ष छ। ओली र प्रचण्डले आफू निकट नेताहरुलाई समेत झुक्याएर ‘आलोपालो’ सहमति नगरेको भए नेकपा एकताको आयु बढ्थ्यो सायद।
विगतमा एकअर्कालाई सत्रु घोषणा गरेका उनीहरुले आफ्नै सहमति कार्यान्वनयमा इमान्दारी देखाएनन्। न त ठूलो पार्टीका नेता र कार्यकर्ता हुनुमै दंग परेका अन्य नेता तथा कार्यकर्ताहरुले उक्त सहमति कार्यान्वयनमा उनीहरुलाई बाध्य पारे।
एकताका बेला पार्टीमा बराबरी हैसियत थियो। सरकार पनि बराबरी चलाउने भन्दै गोप्य सहमति गरे। तर सहमति कार्यान्वयन नहुने संकेत पाएपछि प्रचण्डले सार्वजनिकरुपमा त्यसको पोल खोले।
दुई तिहाइको प्रधानमन्त्री बन्न पाउँदा मिलेको आफ्नो खुसी छिन्न ओली तयार भएनन। २०७६ साल मंसिर ४ गते आइपुग्दा उनीहरुबाट अर्को गल्ती भयो। आफूविरुद्धको समीकरण तोड्न ओलीले प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष सुम्पिने र आफू पाँचै वर्षका लागि प्रधानमन्त्री बन्ने प्रस्ताव गरे। प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको लोभले ओलीको उत्तराधिकारी बन्ने मोह त्यागे।
अहिले प्रचण्डलाई सबैभन्दा पछुतो यसैमा छ। पछिल्लो दुई महिनाका सार्वजनिक भाषणमा प्रचण्डले यो पछुतो स्पष्टरुपमा प्रस्तुत गरेर देखाए। प्रचण्ड नेकपा एकता जगाउनु पर्ने छ भन्ने तर ओलीविरुद्ध समीकरण बनाउन पनि नछोड्ने। नेताहरुले कहिले समीकरण बनाउने र कहिले खुट्टा उचालिरहे।
नेकपा एकतामा भूमिका खेलेको भन्दै उपाध्यक्ष पद र निर्वाचनमा हारेपनि राष्ट्रिसभा सदस्य हत्याउन सफल बामदेव गौतम उत्तिकै दोषी छन्,एकता भंग हुनुमा। पछिल्लो पटक एकता जोगाउन उनले सुरु गरेको अभियान पनि तुहियो। एकता जोगाउने छिमेकी मुलुक चीनको प्रयास पनि असफल भयो।
नेता नेपालले पछिल्लो पटक प्रचण्डलाई साथ नदिएको भए केही न केही सम्झौता गरेर भएपनि प्रचण्ड ओलीसँगै हुने थिए सायद। तर आज नेपाल आफ्नो पुरानो घर फर्किँदा प्रचण्ड हेरेको हेर्यै भए। एक स्थायी कमिटी सदस्यका अनुसार सोमबारको बैठकमा प्रचण्ड निकै भावुक बनेका थिए। आफूलाई ओलीले पटकपटक उपेक्षा गरेपछि अपमानित महसुस गर्दै नेपाल प्रचण्डसँगै उभिएका थिए।
सत्ता र पार्टी नेतृत्वमा आफ्नो विकल्प खोज्न थालेपछि प्रचण्ड र नेपाल पक्षलाई तितरवितर पार्ने योजना ओलीले वैशाखमै बुनेका थिए जतिबेला उनले दलविभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर सिंगो मुलुकको राजनीतिमा हलचल मच्चाइदिए।
आफ्नो पद जोगाउन ओलीले पुस ५ गते संसद नै विघटन गरिदिए। ब्यापक जनविरोध संसद पुनःस्थापना सर्वोच्च त्यही हो जसले नेकपा एकता भंग गरिदियो। ओलीलाई मैमत्त बनाउन उनी निकट नेताहरुको पनि ठूलै हात छ।
प्रचण्डले पदका लागि कचिङ्गल गरिरहेको भन्दै पूर्वएमाले ब्यूँताउन उनीहरुले मदन भण्डारी फाउण्डेशनलाई सक्रिय बनाए। जबजलाई सुत्र बनाएर अघि बढ्न ईश्वर पोखरेल, शंकर पोखरेल, सुवास नेम्वाङलगायत निरन्तर लागे।
र, उनीहरुले भने जस्तै तर उल्टो हिसाबले नेकपा एकता ऐतिहासिक र दूरगामी महत्वको बन्यो। ३३ महिने इतिहासमा सीमित भयो। राजनीतिक स्थीरता होइन, अस्थीरतातर्फ मुलुकलाई पुर्याएको छ नेकपाको यो प्रकरणले।