भिडियो स्टोरी

लनटेनिसकी प्रेरणा: परिवारकै करोडौँ खर्चमा नेपाललाई ग्रान्डस्लाममा पुर्‍याउने सपना देखेकी किशोरी

+
-

लाइक अ स्मल बोट

अन द ओसियन

सेन्डिङ बिग वेभ्स

इन्टु इमोसन

लाइक हाउ अ सिङ्गल वर्ड

क्यान मेक अ हार्ट ओपन

आई माइट अन्ली ह्याभ वन म्याच

बट आई क्यान मेक एन एक्सप्लोजन

दिस इज माई फाइट सङ

टेक ब्याक माई लाइफ सङ

प्रुभ आई एम अलराइट सङ

माई पावर्स टर्न्ड अन

आई विल प्ले माई फाइट सङ

एन्ड आई डन्ट रिअल्ली केयर इफ नोबडी इल्ज विलिभ्स

‘कज आई ह्याभ स्टिल गट अ लट अफ फाइट लेफ्ट इन मी’

prerana_koirala_lawn_tennis_nepal

गीतकारसमेत रहेकी अमेरिकी  रचेल प्लाटेनले गाएको ‘फाइटिङ सङ’ बोलको गीतका केही हरफहरु हुन् यी। सन् २०१५ मा प्लाटेनको अफिसियल यूट्युब च्यानलमा अपलोड भएको यो गीत मंगलबारसम्म करिब ५३ करोड पटक हेरिएको छ।

प्रेरणा कोइरालालाई लाग्छ- यो गीतको यतिधेरै ‘यूट्युभ भ्युज’मा उनको पनि थोरबहुत योगदान छ।

‘कति हेरियो कति’, हाँस्दै नेपाली लन टेनिसकी यी १७ वर्षीया स्टार सुनाउँछिन्। आफ्ना हरेक खेल सुरु हुनुभन्दा केही घण्टा अघिदेखि प्रेरणाको कानमा एयरफोन झुण्डिरहेको हुन्छ र यही गीत दोहोरिँदै बजिरहेको हुन्छ।

‘यो गीतले आत्मबल यस्तो बनाइदिन्छ कि कोर्टमा जोसुकै खेलाडी आएपनि त्यसलाई सिध्याई दिन्छुजस्तो लाग्छ’, खेलअघि फाइट सङ सुन्नुको रहस्य उनले खोलिन्। १४ वर्षको उमेरमा राष्ट्रियस्तरको सिनियर प्रतियोगिता जितेकी प्रेरणाले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन, लगातार घरेलु प्रतियोगिता विजेता बनिरहेकी छिन्। यतिसम्मकी यसबीचमा उनले एउटाबाहेक सबै खेल सोझो सेटमा जितेकी छिन्। कुन खेल कति कति सेटमा जितिन्, उनलाई कण्ठस्थ छ।

‘मलाई यस्तो लाग्छ कि एकपटक हराएको खेलाडीलाई कहिल्यै जित्न दिनु हुँदैन। आज भन्दा भोलि अझ सजिलै जित्नुपर्छ’, प्रेरणा भन्छिन्। उनी हरेक खेलका लागि यसरी नै तयार हुन्छिन्।

विराटनगरमा प्रेरणा हुर्किएको पारिवारिक माहोल नै यस्तो थियो कि कोही-कोहीसँग हार्न नचाहने। जित्नैपर्छ भन्ने बानी पारिएको थियो।

दुई छोरी र एक छोराका बाबु पुरुषोत्तम सन्तानलाई भन्थे- तिमीहरुमा कोइरालाको ब्लड छ। तिमीहरु डोमिनेट हुने हैन, लिडर बन्ने हो।

गिरिजाप्रसाद कोइराला, मनीषा कोइरालालगायतको गहिरो प्रभाव थियो उनीहरुलाई।

आईपीएल सुरु भएपछि उनीहरु मग्न भएर खेल हेर्थे। विराट कोहलीलगायत खेलाडीको चर्चाले प्रेरणा लोभिन्थिन्। उनीहरुजस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। अनि स्कुलमा गएर क्रिकेट, ब्याडमिन्टनलगायत खेलहरु खेल्थिन्। क्रिकेटमा उनको अलिक बढी लगाव थियो। उनलाई आनन्द लाग्थ्यो। छोरीको खेलकुदमा रुचि देखेपछि एक दिन प्रेरणालाई बुबाले भने, ‘नेपालमा टिम गेमको फ्युचर छैन, खेलकुदमै लाग्छेस् भने इन्डिभिज्युअल गेम खेल।’

प्रेरणालाई लाग्छ- सायद, इन्डिभिज्युअल गेमबाट चर्चा कमाउन सजिलो हुन्छ भन्ने बाबालाई लागेको थियो कि!

त्यतिबेला प्रेरणाको ६ कक्षाको पढाई सकिन लागेको थियो। उनलाई बुबाले एक्कासी तिमी खेल्ने नै भए लन टेनिसमा लाग न त भने। उनी अक्क न बक्क भइन्। केही बोलिनन्। बरु लन टेनिसमा नाम चलेका विदेशी खेलाडीबारे ‘सर्च’ गर्न थालिन्। सेरेना विलियम्सको खेल जीवन अध्ययन गरिन्। उनले गरेको संघर्षबारे बुझिन्।

‘खै किन हो क्रिकेटको जत्तिकै लगाव लगाएँ भने म यो खेल खेल्न सक्छु भन्ने लाग्यो’, प्रेरणा भन्छिन्। उनलाई लन टेनिस सिक्न हेम्स एकेडेमीमा भर्ना गरियो। ६ महिना सिकिन्।

‘क्रिकेट खेलिरहेको मान्छे लन टेनिस खेल्दा निकै थाक्थेँ। कोर्टको चारैतिर लगातार दौडिनुपर्दा किन यो खेलमा आएँ नि भन्ने हुन्थ्यो’, उनको अनुभव छ।

नेपालमा केही यस्ता खेलहरु छन् जसमा खेलाडीहरु रहर र नामका लागि खेल्छन्, सके भने राष्ट्रिय च्याम्पियन बन्छन् नत्र आफ्नो अध्ययनमा केन्द्रित हुन्छन्। त्यसमा पनि लन टेनिस घरानियाँ खेलका रुपमा परिचित छ। काठमाडौँ उपत्यकामा मात्र सीमित छ। खेलाडीहरु पनि निकै सीमित छन्। वर्षमा १/२ भन्दा बढी घरेलु प्रतियोगिताहरु हुँदैनन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडी कमजोर देखिन्छन्। सहभागिता पनि कम हुन्छन्। महिला खेलाडीहरु उच्च शिक्षाको अध्ययनमा पुगेपछि हराउँछन्। सायद अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त नभएकै कारण खेलाडीहरु हराउने गर्छन् !

प्रेरणाले भने बाहिर के भइरहेको छ, वास्ता गरिनन्। त्यतिबेलै भुकम्प गएपछि उनको प्रशिक्षण ८/९ महिना रोकियो। फेरि कोर्टमा फर्कँदा उनी कक्षा-८ मा पुगिसकेकी थिइन्। उनीसँग नाम चलेका खेलाडीहरु अभ्यास गर्नसमेत हिच्किचाउँथे।सुरु-सुरुमा उनी लगातार थुप्रै खेलमा पराजित भइन्।

एक दिन उनी आफन्त दाइसँग पशुपतिनाथ मन्दिर पुगेकी थिइन्। आर्यघाटमा जलिरहेको लास देखाउँदै उनले प्रेरणालाई सोधे- तँलाई त्यसरी नै मर्ने मन छ ?

जलिरहेको लास वरिपरि कोही पनि थिएनन्। मानिसहरु कोही रोइरहेका थिएनन्। प्रेरणालाई दिदीको प्रश्न र त्यो दृश्यले ‘स्ट्राइक’ गर्‍यो। मनमनै सोचिन्- कम्तिमा म यसरी जल्दा मानिसहरु वरिपरि हुन्। उनीहरुलाई दुख लागोस्। देशले दुख मानोस् र मलाई सम्झियोस्। म यो देशमा चिनिन्छु, यसरी मर्दिन। मलाई यसरी मर्नु छैन।

दाइले फेरि भने- तँलाई परिवारको यतिधेरै सहयोग छ, यदि तैँले केही गर्न सकिनस् भने तेरो गल्ती हुन्छ।

यो कुराले प्रेरणालाई अझ छोयो।

उनी बिहानै कोर्टमा पुग्थिन्। थाकेर त्यहीँ सुत्थिन्। साँझतिर मात्र फर्किन्थिइन्। ८,९ र १० कक्षामा उनी कमै मात्र स्कुल गइन्।

‘कहिलेकाहिँ म एक्लै बसेर सोच्थेँ- भीख माग्ने मान्छेले दिनभर भिख माग्छ, साँझको खानाका लागि। अर्थात उसले पनि दिनभर त्यत्रो संघर्ष गर्छ। मैले पनि माथि पुग्नु छ भने अथक मिहेनत गर्नुपर्छ’, उनी संघर्षका दिनहरुमा फर्किन्छिन्।

प्रेरणालाई हरेक हारहरुले गिज्याउँथे। तर उनलाई पछाडिबाट बुबाले भन्नुहुन्थ्यो- सक्दो प्रयास गर, सकिनस् भने छाड्दे। प्रेरणा पछाडि हटिनन्।

अन्तत: उनले नाम चलेकै एक खेलाडीलाई हराइन्। तारिफ हुनुपर्नेमा ‘ब्याक बाइटिङ’ सुरु भयो। एउटा मिहेनत गरिरहेको उदीयमान खेलाडीको यो सफलता एउटा स्थापित खेलाडीका लागि सह्य भएन।

प्रेरणाले मनोबल थप बलियो बनाइन्- पख ! मसँग फेरि तेरो खेल पर्‍यो भने जानेको छु।

उनको एउटा खराब बानी थियो- हरेक खराब नतिजामा ‘एक्सक्युजेज’ लिने। कहिले मौसमले गर्दा खेल्न सकिन भन्ने, कहिले विपक्षी आफूभन्दा  धेरै राम्रो भएको भन्ने। सन् २०१६ मा उनी थाइल्यान्डमा खेल्न गएकी थिइन्। खेलमा हारेपछि उनले त्यस्तै एक्सक्युजेज देखाइन्। त्यसपछि कोचले उनलाई नराम्रोसँग गाली गरे।

‘तैलेँ हार स्विकार गर्न सकिनस् र आफ्नो गल्ती बुझिनस् भने जिन्दगीमा कुनै पनि फिल्डमा राम्रो गर्न सक्दिनस्’, प्रेरणाले कोचले भनेको कुरा सम्झिन्।

prerana_koirala

त्यसपछि उनले फिटनेसमा धेरै ध्यान दिन थालिन्। खेलेको दिन पनि साँझ फिटनेश गर्थिन्। खेल्नुभन्दा केही दिनअघि नै आफ्ना स-साना कुराहरु मिलाएर राख्दिन्। खेल्दा कुन कपडा लगाउने, कुन रिबन लगाउने, कुन क्याप लगाउने, कुन जुत्ता लगाउने, सबै कुरा पूर्व तयारी गरेर राख्थिन्। खेल अघि खाने कुरामा पनि ध्यान दिन थालिन्।

सन् २०१७ मा दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले यू-१४ र यू-१६ स्पर्धामा पहिलो स्थान हात पारिन्। सन् २०१८ को अप्रिलमा भएको छैटौँ सिटिजन्स बैंक ओपन टेनिस प्रतियोगिताका रुपमा उनले पहिलो सिनियर प्रतियोगिता जितिन्। त्यसयता उनलाई घरेलु लन टेनिसमा कसैले पनि हराउन सकेको छैन।

‘जुन दिनदेखि मैले हार स्वीकार गरेर एक्सक्युजहरु दिन छाडेँ, सायद त्यसै दिनदेखि मैले जितको आधारहरु सुरु गर्न थालेको थिएँ। जित्न थालेपछि मैले आएका प्रेसरहरुलाई खाईदिएर बाहिर निस्कने बानी मलाई परेको छ। त्यही समयदेखि होला, म अपराजित रहेको पनि !’ उनी भन्छिन्।

‍‍‍

 

प्रेरणा आफूमाथि निकै विश्वास गर्छिन्। उनलाई लाग्छ- एउटा खेलाडीलाई ऊबाहेक बढी अरु कसैले चिनेको हुँदैन।

‘कुनैपनि खेलाडी कसरी हारिरहेको हुन्छ भन्ने उसलाई मात्र थाहा हुन्छ’, प्रेरणा भन्छिन्। उनलाई थाहा छ- म कहाँसम्म पुग्छु भन्ने। त्यसभन्दा अगाडि उनले कति लामो यात्रा तय गर्नुपर्छ भन्ने पनि बुझेकी छिन्। उनले आफुले सुधार गर्नुपर्ने पक्ष र बढाउनुपर्ने स्तर औँल्याएकी छिन्।

त्यसैले त उनि भनिरहेकी छिन्- म ग्रान्डस्लाम टेनिस खेल्न सक्छु।

दक्षिण एसियाली खेलकुदको एकल स्पर्धामा पदक पनि जित्न नसकेको नेपाली महिला लन टेनिसमा प्रेरणाको यो आत्मविश्वासको खिस्सी गर्ने धेरै थिए। उनी ६ महिना भारतको अलेक्जाण्डर वास्की टेनिस युनिभर्सिटीमा सिकेर १३ औँ दक्षिण एसियाली खेलकुदमा सहभागी भएकी थिइन्। प्रतियोगितामा कास्य पदक जित्दै प्रेरणाले नेपाली लन टेनिसमा इतिहाँस रचिन्।

‘ म खुसी भएँ तर सन्तुष्ट थिइन। म अझै धेरै गर्न सक्छु जस्तो लागेको थियो। तर आफ्नै गल्तीले मैले चोट ब्यहोर्न पुगेँ। यहि कारण कास्य पदकमै सिमित भएँ’, प्रेरणाको अनुभव छ।

प्रेरणालाई थाहा छ- सपना पूरा गर्न उनले धेरैभन्दा धेरै माथिल्लोस्तरको प्रशिक्षण लिनुपर्छ।

‘नेपालमा अन कोर्ट मात्र प्रशिक्षण हुन्छ। भारतमा रहँदा मेरा हरेक अफ कोर्ट गतिविधिबारे पनि कोचलाई थाहा हुन्थ्यो। मैले के खान्छु, कति खान्छु नजिकै बसेर हेर्थे। किनभने मलाई कहाँ पुर्‍याउने भन्नेमा मसँगै कोचको ठुलो भूमिका हुन्छ’, उनको बुझाइ छ।

ग्रान्डस्लाम टेनिसका कीर्तिमानी खेलाडीहरु रोजर फेडेरर, नोभाक जोकोभिच, राफेल नाडालले पनि राम्रोभन्दा राम्रो कोचहरु राखिरहेका छन्। ‘ जहिले पनि सुधार गर्ने ठाउँहरु रहन्छन्।त्यसका लागि आफु पनि तयार हुनुपर्छ तर त्यो स्तरमा तयार गर्ने कोच पनि’, उनी भन्छिन्।

नेपालमा आफूभन्दा ‘युनिक’ सोच भएकाहरुलाई खेदिने गरेको प्रेरणाको अनुभव छ। आफु जन्मिदा ग्रान्डस्लाम जिति सकेकी कीर्तिमानी सेरेना विलियम्ससँग खेल्दा नाओमी ओसाका डराएको भए, आफु बढी उमेरको भएकाले युवा खेलाडीसँग खेल्न नसक्ने महसुस सेरेनालाई भएको भए उनिहरु विजेता बन्न सक्थे होलान् त ? आफ्नो ग्रान्डस्लाम खेल्ने सपनाबारे प्रष्ट पार्दै प्रेरणा आफ्नै एउटा उदाहरण पनि सुनाउँछिन्-  भारतमा प्रशिक्षणमा रहँदा एक जना गार्गी पवार भन्ने खेलाडी थिइन्। उनी यस्तो खत्रा ख‍ेलाडी थिइन् कि अनुहार हेर्न पनि डर लाग्थ्यो। काठमाडौँमा भएको आईटीएफ ग्रेड-५ मा म उनीसँग हारेँ। तर त्यही खेलाडीलाई मैले पोखरामा पराजित गरेँ। यदि म डराएर बसेको भए !

प्रेरणा जहाँ जहाँ प्रशिक्षण गर्न गएकी छिन्, सबै परिवारको खर्च छ। उनका अनुसार उनको खेलका लागि मात्र परिवारले २ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ।

‘मैले खेलेर देखाउनै पर्छ। हामी यस्तो देशमा जन्मिएका छौँ त्यहाँ हामीले केही नदेखाई कसैले पत्याउँदैन, सरकारले पनि। बाबाले पनि भन्नुहुन्छ- तैँले सरकारलाई गरेर देखाउनुपर्छ’, प्रेरणा भन्छिन्।

हो, यतिबेला प्रेरणाको साथमा उनको परिवार छ। ‘ जब खेलाडीलाई परिवारको सपोर्ट हुन्छ उ डिफरेन्ट लेभलमा डेभलप हुन्छ। स्ट्रङ भएर डेभलप हुन्छ। जुनसुकै समस्यालाई पनि सजिलै सामना गर्न सक्छ’, उनी भन्छिन्।

प्रेरणा फेरि पनि परिवारकै खर्चमा वैदेशिक प्रशिक्षणमा जाँदैछिन्।

कहिले काहीँ प्रेरणा एक्लै बसेर सोचमग्न हुन्छिन्- यदि म अगाडि बढ्न सकिन भने वा कहिँ कतै रोकिएँ भने !

तर जब उनी खेलमा फर्किएर जित्छिन् यस्ता सबै कुरा बिर्सिन्छिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?