
झापा – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अब चुनावमा जानुको विकल्प नभएको बताएका छन्।
प्रेस युनियन झापाले बुधबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले सर्वोच्च अदालतको दोस्रो फैसलापछि देशमा राजनीतिक अन्यौल बढेको बताए।
उनले नेकपा एमालेसंग कांग्रेसको सहकार्यको संभावना नरहेको जानकारी दिए । संविधान समाप्त पार्ने खेलमा लागेका कारण एमालेसँग सहकार्य गरेर कांग्रेस सरकारमा जान नसक्ने नेता कोइरालाको भनाइ थियो।
‘संसद पुनस्थापनापछि संविधान त बाँच्यो तर संसद चल्न सक्ने अवस्था छैन’, कोइरालाले भने, ‘अब देशलाई निकास दिन निर्वाचनमा जानुको विकल्प छैन्।’
नेपाली कांग्रेसले अब चुनावी गतिविधि बढाउनु पर्नेमा कोइरालाको जोड थियो।
संविधान बनाउने पनि झापाली र संविधान समाप्त पार्ने खेल पनि झापालीले गरेको भन्दै नेता कोइरालाले ठट्यौली गरे।
उनले केपी ओली नेतृत्वको सरकारले देशलाई बर्बादीको दिशामा लगेको बताउँदै सत्तामा उनको निरन्तरता झन् दुर्भाग्यपूर्ण हुने बताए।
कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको बलियो दाबेदार भएको बताए। नेता कृष्णप्रसाद सिटौला पनि आफूसँगै रहेको बताउँदै कोइरालाले उनीसँग छुट्टै कुरा गर्ने बताए।