
झापा – प्रतिवन्धित लागू पदार्थ अफिमसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ।
भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षिया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल दार्जिलिङ निवासी ३८ वर्षीया गायत्रीदेवी क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका दुवैजना भारतीय नागरिक भए पनि नेपालीभाषी भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।
लागू औषध नियन्त्रण ब्युरो काठमाडौं र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई बुधवार मेचीनगर नगरपालिका ६ स्थित न्यु विशाल होटेलमा छापा मारेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।
होटेलको कोठा नम्बर १०५ मा अफिमको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीको टोली खानतलासीका लागि खटिएको थियो।
छापा मारेर प्रहरीले उनीहरूको साथबाट २ केजी अफिम बरामद गरेको डिएसपी थापाले बताए।
पक्राउ परेका महिलाहरूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान अघि बढाइसकेको प्रहरीले जनाएको छ।