
बुटवल- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अराजक र निरंकुशतातर्फ लैजान खोज्ने शक्तिले आफूविरूद्ध घेराबन्दी गरेको बताएका छन्।
राष्ट्रिय दलित पत्रकार संघको, नेपालको प्रथम राष्ट्रिय सम्मेलनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै दाहालले मुुलुकलाई अराजकता र निरंकुशतातर्फ लैजाने शक्ति आफू विरुद्ध लागेको दाबी गरे।
उनले मुलुकले प्राप्त गरेको उपलब्धी उल्टाउने खोज्नेले आफूविरुद्ध घेराबन्दी गरेको बताए। वर्षौँ लडेर स्थापित गरिएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीकरण मन नपराउने देशी विदेशी शक्तिले आफूविरुद्ध घेराबन्दी गरेको आरोप उनले लगाए।
संविधानको हत्या र अनिष्ठ निम्ताउने प्रयास भइरहेको दाहालको आरोप छ।
‘अहिले नेपालमा परिवर्तन उल्टाउने षडयन्त्र भइरहेको छ’, अध्यक्ष दाहालले भने, ‘नेपालमा शाक्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने नेताहरुलाई घेराबन्दी गर्ने प्रयास भइरहेको छ ।’
दाहालले थपे, ‘जरुरी पर्यो भने, आन्दोलनकाे आँधीबेहरी पनि आउन सक्छ। हजारौँको बलिदानीबाट प्राप्त उपलब्धीलाई कुुल्चिने र हत्याको प्रयास मान्य हुुने छैन ।’
तर, दाहालले फेरि हिंसा र बिद्रोहको आन्दोलन नहुने स्पस्ट पारे।
‘आवश्यक परे शान्तिपूर्ण आन्दोलन गर्ने छौँ । शान्तिपूर्ण क्रान्ति गर्न पर्ने अवस्था आउन सक्छ, त्यो जरुरी देखिँदै छ’, दाहालले भने ।