
झापा – नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित मोतीराम पत्रकारिता पुरस्कारबाट झापाका पुराना पत्रकार गोविन्दचन्द क्षेत्री पुरस्कृत भएका छन्।
शनिबार झापाको बिर्तामोडमा आयोजित पुरस्कार वितरण कार्यक्रममा क्षेत्रीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। क्षेत्रीलाई पुरस्कारस्वरुप ५१ हजार रुपैयाँ प्रदान गरिएको हो।
उनी झापाका जेठो पत्रकारका रुपमा चिनिन्छन्। उनको उमेर ७७ वर्ष रहेको छ। क्षेत्री ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाको झापा संवाददाताको रुपमा काम गरिरहेका छन्।
साथै पत्रकार महासंघ झापा शाखाले नै स्थापना गरेको ‘केटो’ पत्रकारिता पुरस्कार पत्रकार गीता ढुंगानालाई प्रदान गरिएको छ।
ढुंगाना हिमशिखर टेलिभिजनमा कार्यरत पत्रकार हुन्। उनलाई १५ हजार रुपैयाँ नगदसहित केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो।
‘केटो’ तत्कालिन मेची अञ्चलको जेठो पत्रिका हो। त्यही पत्रिकाको नाममा उक्त पुरस्कार स्थापना गरिएको हो।