छोरीको ग्रान्डस्लाम खेल्ने सपना पूरा गर्न पछिपछि दौडिरहेका बाबु भन्छन्- छोरी नथाकेसम्म लागिरहने हो

+
-

पुरुषोत्तम कोइरालालाई बाबुले भन्ने गर्थे- देशका लागि केही गर्नुपर्छ। देशलाई चिनाउनुपर्छ।

बाबुले उनलाई विभिन्न कार्यक्रमहरुमा लिएर जान्थे।

‘तर मैले बुबाले भन्न खोजेको कुरा बुझिन। उहाँले प्रोत्साहित गर्नु भएको रहेछ भनेर पछि मात्र थाहा पाएँ। अक्सर बाबुहरु छोराछोरीलाई आफ्नो माया देखाउन जान्दैनन्’, पुरुषोत्तमको अनुभव छ।

छोराछोरीलाई आफुले बच्चैदेखि माया देखाएको र उनिहरुका ‘इन्ट्रेस्ट’ बुझेर सुझाएको पुरुषोत्तम बताउँछन्। उनका तीन सन्तानमध्ये छोरा अभिनय क्षेत्रमा संघर्ष गर्दैछन्। जेठी छोरी अमेरिकामा अध्ययन गरिरहेकी छिन्। कान्छी छोरी नेपाली लन टेनिसकी स्टार खेलाडी हुन्। खेलकुदमा लागेकी उनै छोरी प्रेरणाको सपना पुरा गर्न लागि परेका छन् पुरुषोत्तम यतिबेला आफै खर्च गरेर।

‘मैले त बुबाको सपना पुरा गर्न सकिन। मैले मेरा छोराछोरीलाई भनेको छु- मैले केही गर्न नसकेपनि अब तिमीहरुको सपनामा बाँच्छु। तिमीहरुको सपनाबाट संसार हेर्न चाहन्छु। मेरा बाको सपना पनि तिमीहरु पुरा गर।’ 

राष्ट्रिय च्याम्पियन भइसकेकी १७ वर्षीय प्रेरणा सन् २०१८ यता घरेलु प्रतियोगितामा अपराजित छिन्। उनले दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेर यो सफलता हात पार्ने पहिला नेपाल महिला लन टेनिस खेलाडी भइन्। तर यी दुवै बाबु छोरी यी सफलतामा त्यति सन्तुष्ट छैनन्। किनभने विश्व खेलकुदमा सम्पन्न देशका खेलाडीहरुले समेत कम्तिमा एकपटक खेल्न उदेश्य राख्ने ग्रान्डस्लाम टेनिसको सपना उनिहरुले पनि देखेका छन्। दक्षिण एसियामै कास्य पदक मात्र जितेको खेलको एकल स्पर्धामा विश्वका एक सय २८ खेलाडीले मात्र प्रतिस्पर्धा गर्ने ग्रान्डस्लाम खेल्ने सपना देख्नु पक्कैपनि वास्तविकताभन्दा निकै टाढाको विषय हो।

‘सपना ठुलै देख्नुपर्छ। हामीले आफ्नो क्षमता अभिवृद्धी गरेर देखाउनु पर्छ। नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन घरेलु च्याम्पियन भएर मात्र पुग्दैन। अन्तर्राष्ट्रिय स्टेजमा देखाउन सक्नुपर्छ। त्यसका लागि बाटो खन्ने प्रेरणाले नै हो। मैले उसले देखाएको बाटोमा हिँड्ने मात्र हो।’

पुरुषोत्तमको परिवारमा खेलकुद पृष्ठभूमीको कोही पनि थिएनन्। तर टेलिभिजनमा भने खेलहरु हे‍र्थे। छोराछोरीहरु पनि रमाएको देख्थे। एकपटक प्रेरणा कीर्तिपुर क्रिकेट मैदानबाट हिलाम्मे भएर घर आएपछि उनले थाहा पाए- खेलकुदमा छोरीको रुची रहेछ। तर महिला क्रिकेटमा सम्भावना कम रहेको उनलाई लाग्यो। उनले अन्य खेलहरु खोज्दै गए। कुन खेलबाट छोरीलाई नाम कमाउन सजिलो हुन्छ भन्ने उनले बुझ्न थाले। खोई किन हो, उनको मन लन टेनिसमा अढियो।

‘ म पनि लन टेनिसका खेलहरु टेलिभिजनमा हेर्थेँ। खासगरी महिला खेलाडीहरुले खेलेको निकै मन पर्थ्यो।’ 

उनले छोरीलाई हेम्स एकेडेमीमा भर्ना गरे। निकै दौडनुपर्ने र बल लगाउनु पर्ने लन टेनिस सुरुमा प्रेरणाले मन पराइनन्। तर पुरुषोत्तम हरेक दिन उनलाई उत्प्रेरित गर्थे।

‘मैले सुरुमा उसलाई यो खेलमा रुची जगाउनु थियो र त्यसपछि भोक’

पुरुषोत्तमले भने अनुसार प्रेरणा मान्दै गइन्। तर उनले सातदोबाटोस्थित टेनिस कोर्टमा पुगेको पहिलो दिनमै नमिठो झड्का पाए। एक जना अभिभावक आएर भने,’ छोरीलाई लन टेनिस खेलाउन लाग्नु भएको रहेछ, यो त निकै महँगो खेल हो। कति कमाउनु हुन्छ ? एक महिनामा एक लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ खेलमा मात्र।’  उनी एकपटक त तर्सिए पनि। उनले हेर्नुपर्ने अरु दुई सन्तान पनि थिए। तर आँत्तिएनन्। हरेक दिन बिहान ६ बजे नै छोरीलाई लिएर टेनिस कोर्टमा पुग्न थाले। कोर्टमा आफु हेपिएको उनीसँग कैयौँ अनुभव छन्। उनलाई लाग्थ्यो- पैसा र राम्रो कपडाले मात्र केही हुन्न, देखाउने ने त क्षमताले हो, मिहेनतले हो।

‘विस्तारै प्रेरणा बिहान ६ बजे अघि बाबा जाउँ कोर्ट, ढिला भइसक्यो भन्न थालिसकेकी थिई। तीन वर्ष त हामी बाउ छोरी अर्ली इन द मर्निङ कोर्टमा पुग्थ्यौँ।  सुरुमा त छोरीले कति हारि कति ? तर म कहिल्यैपनि आँत्तिन। हारेका हरेक साँझ उ बढी फिटनेश गर्थी।’

जब प्रेरणाले जित्न थालिन्, उनको सपना पनि ठुलो हुँदै गयो। उनले जितलाई सामान्य बनाउँदै गइन्। त्यसपछि उनले भन्न थालिन्-बाबा मलाई राम्रो प्रशिक्षण दिनुस् म गरेर देखाउँछु। उनले छोरीलाई ६ महिना  प्रशिक्षणका लागि भारत पठाए। त्यसको प्रभाव १३ औँ सागमा देखियो। प्रेरणाले कास्य जितिन्। घाइते नभएको भए छोरीले त्यतिबेला फाइनलसम्मको यात्रा तय गर्ने विश्वास पुरुषोत्तमको थियो। त्यो सफलतामा उनी धेरै उत्साही भएनन्। किनभने छोरीले निकै लामो यात्रा तय गर्ने विश्वास उनको छ। उनि यतिबेला सन्तुष्ट भए वा सन्तुष्ट भएको देखाए छोरीको लक्ष्यमा प्रभाव पर्ने उनलाई लाग्छ।

‘ लन टेनिस भन्ने खेल ७० प्रतिशत मानसिक र ३० प्रतिशत फिजिकल रहेछ। म सक्छु र म जित्छु भन्ने आत्मविश्वासको भुमिका ठुलो हुने रहेछ।’

प्रेरणा काठमाडौँमा आईटीएफ ग्रेड-५ खेल्दै थिइन्। उनी दोस्रो चरणमा भारतीय खेलाडीसँग पराजित भइन्। ग्रेड-५ को दोस्रो चरणमा हार्ने खेलाडी अनि सपना चाहीँ ग्रान्डस्लाम खेल्ने भन्दै दुवै बुबा र छोरीलाई सामुन्ने गिज्याए। त्यही खेलाडीलाई पछि पोखरामा हराउँदै प्रेरणा ग्रेड-५ विजेता बनिन्। पुरुषोत्तमसँग पहिला त्यसरी गिज्याउने मानिसहरु अब अगाडि पर्न छाडे। पुरुषोत्तमले जहाँ-जहाँ छोरीलाई खेल्न पठाएका छन्, प्रशिक्षणका लागि पठाएका छन्, सन्पूर्ण खर्च उनकै छ। करिब दुई करोड रुपैयाँ खर्च भइसकेको छ। अझै कति खर्च हुन्छ, यकिन छैन। कम्तिमा एक करोड रुपैयाँ अझै लाग्ने उनको अनुमान छ। राष्ट्रिय च्याम्पियन भइसकेको खेलाडीलाई थप तयार गर्ने काम त राज्यको हुनुपर्ने हो। उसको क्षमता पहिचान गरि त्यसलाई सुधार गर्ने र सफलता दिलाउन राज्य लागीपर्नु पर्ने हो। अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त गर्न त्यही किसिमको तयारी र लगानी हुनुपर्छ भन्ने उनले बुझेका छन्।

‘गएको सागमा म एक जना खेलकुदका जिम्मेवार व्यक्तिकहाँ गएको थिएँ। मैले छोरीलाई मासिक एक लाख रुपैयाँ तिरेर प्रशिक्षण गराइरहेको छु राज्यले केही सहयोग गर्न सक्छ कि भनेर अनुरोध गरेँ। तर उहाँले सबै खेलाडीले नेपालमै ट्रेनिङ गरिरहेका छन् किन विदेशमा गर्नु पर्‍यो भन्नुभयो। कोइराला त राजनीतिमा मात्र थिए खेलकुदमा पनि छन् र भनेर मजाक गर्नु भयो।’

अभिभावकका रुपमा पुरुषोत्तमले छोरीका स-साना कुराहरुमा ख्याल गर्छन्। उनले खाने खानादेखि लिएर उनको कपडा क्लिन छ कि छैन, उसको जुत्ता के छ ? जुत्ताको सोलहरु त्यो पिचका लागि ठिक छ कि छैन, त्यो पाइला पाइलामा ध्यान पुर्‍याउँछन्। छोरीका लागि पुरुषोत्तम पनि लन टेनिसको स्टडि गर्छन्। रातदिन टेनिस हेर्छन्। राम्रा प्रशिक्षकका ट्रेनिङहरुमा ध्यान दिन्छन्। उनलाई थाहा छ- ग्रान्डस्लाम खेल्ने सपना राख्ने खेलाडीले एउटा खेल हैन निरन्तर खेल जित्नुपर्छ त्यो पनि माथिल्लोस्तरमा।

‘ कहिलेकाहिँ त लाग्छ- हाम्रो लगानी खेर गयो भने ! तर प्रेरणाले कहिल्यै निराश बनाएकी छैन। उसले लगानीको प्रतिफल दिएकी छ र हामीलाई भनिरहेकी छे- मलाई अझ राम्रो प्रशिक्षण चाहियो, म अझ राम्रो गर्न सक्छु। जबसम्म ऊ आफ्नो सपना यात्रामा थाक्दिन, हामीले साथ दिइरहनुपर्छ।’    

पुरुषोत्तम छोरी दुखी भएको कत्ति पनि हेर्न सक्दैनन्। जब उनी घाइते हुन्छिन्, आफैँ घाइते भएको जस्तो लाग्छ उनलाई। जब खुसी देख्छन्, आफू पनि रमाउँछन्। उनलाई थाहा छ- गरेर देखाएपछि मात्र विश्वास गर्ने जमात ठूलो छ। त्यसका लागि तय गर्नुपर्ने संघर्ष छोरी प्रेरणासँगै आफूले मात्र देखिरहेका छन्। उनि कल्पनै गरेर साहस बटुल्छन् र हिम्मत गर्छन्।

‘छोरीले युरोप, अमेरिका र अस्ट्रेलिया पुगेर नेपालको प्रतिनिधित्व गर्दा……’

जे होस्, प्रेरणा अब जहाँसम्म पुगे पनि, उनले तय गरिसकेको यात्रा नै विशेष बनिसकेको छ। त्यसमा पुरुषोत्तमले गर्व गर्नुपर्ने कारणहरु धेरै छन्। सबै सपनाहरु पूरा हुन्छन् भन्ने छैनन्। तर देखिरहेको सपना पूरा गर्दैगर्दा तय गर्ने यात्रा आफैमा विशिष्ट बनिसकेको हुन्छ। त्यसैले भनाइ नै छ नि- सपना देख्नुपर्छ। त्यसका लागि त्यहाँसम्म पुग्न आवश्यक पर्ने कर्म पनि चाहिन्छ।

यो पनि पढ्नुहोस्

लनटेनिसकी प्रेरणा: परिवारकै करोडौँ खर्चमा नेपाललाई ग्रान्डस्लाममा पुर्‍याउने सपना देखेकी किशोरी

लनटेनिसकी प्रेरणा: परिवारकै करोडौँ खर्चमा नेपाललाई ग्रान्डस्लाममा पुर्‍याउने सपना देखेकी किशोरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?