
काठमाडौँ- अध्यक्ष केपी शर्मा ओलीसँगै बस्ने सम्भावना समाप्त भएको निष्कर्ष निकालेको भोलिपल्टबाटै नेकपा एमाले नेता माधवकुमार नेपालले हालै आफूसँग कानुनी रुपमा अलग भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको संवादमा सक्रियता देखाएका छन्।
ओली अब सच्चिने सम्भावना नरहेको र यही अवस्था कायमै रहे उनीसँग मिल्न नसक्ने निष्कर्ष शनिबार मात्रै नेपालले आफू निकट नेताहरुलाई बानेश्वरस्थित एक होटलमा सुनाएका थिए।
आइतबार पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित नेपाल निवास नजिकै एक घरमा आकस्मिक तर लामो छलफल भएको छ।
नेपाल निकट स्रोतका अनुसार उनीहरुको छलफलको प्राथमिकतामा मुख्यतया सरकार गठन र वाम एकता परेका थिए।
‘अब नेपाल ओलीसँग बस्ने स्थिति छैन। पार्टी विभाजन भएको खण्डमा एकता हुने भनेकै प्रचण्डसँग हो। त्यस विषयमै छलफल केन्द्रित भएको थियो। छलफल फेरि पनि हुनेछ,’ स्रोतले भन्यो।
छलफलमा एमाले नेता झलनाथ खनाल पनि सामेल थिए। खनालले पनि अब ओली परिवर्तन हुने अपेक्षा त्याग्न उचित हुने निष्कर्ष सुनाएका थिए। उनले सकेसम्म एमाले नफुटाउने प्रयास आफूहरुको भए पनि त्यो सम्भावना सकिएको बताएका थिए।
छलफलमा प्रचण्डले भने एकताका लागि ढिलो गर्न नहुने सन्देश दिएको उनी निकट स्रोतले बतायो। त्यहाँ एमाले उपाध्यक्ष वामदेव गौतमको बारेमा पनि छलफल भएको थियो।
उपाध्यक्ष गौतमले हालै ओलीले नेपाल पक्षका पार्टी विभागीय प्रमुख र इन्चार्जलाई हटाउने, माओवादी केन्द्रका नेताहरुलाई केन्द्रीय कमिटी सदस्य बनाउने र पार्टी विधानमा रहेको ७० वर्षे हदम्याद हटाउने लगायत एकलौटी रुपमा गरेका निर्णय फिर्ता गर्न सार्वजनिक रुपमा आह्वान गरेका छन्। र ओलीसँग मिल्न अब कठिन भएको निष्कर्ष पनि उनले सुनाएका छन्। नेपाल पक्षले ओलीले आफूखुसी आगामी चैत्र ७ गते बालुवाटारमा डाकेको एमाले कन्द्रीय कमिटी बैठकमा सामेल नहुने घोषणा गरिसकेको छ।
नेपाल पक्षले आगामी चैत्र ४ र ५ गते ओलीविरुद्ध कार्यदिशा तय गर्न राष्ट्रिय कार्यकर्ताको भेला काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको भोलिपल्ट आइतबार ओलीले चैत्र ३ गते बालुवाटारमा चियापानको आयोजना गर्ने निर्णय गर्दै त्यसको निम्तो नेपाल पक्षलाई पनि पठाएका छन्।
बालुवाटारको चियापान समारोहमा सामेल हुने/नहुनेबारे निश्चित भइनसकेको नेपाल पक्षका नेता राजेन्द्र राईले बताए। नेपाल पक्षले ओलीसँगै बस्न नसक्ने निष्कर्ष निकाल्दै आफ्नो संगठनलाई बलियो बनाउन थालेको छ। नेता नेपाल स्वयं त्यसमा अहोरात्र खटिन थालेका छन्।
नेपाल पक्ष बलियो हुँदै जाँदा आफू अल्पमतमा पर्ने निश्चितप्रायः भएपछि ओलीले विधान विपरित माओवादी केन्द्रका नेताहरुलाई केन्द्रीय कमिटी सदस्य बनाएका छन्।
तर उक्त निर्णय अवैध भएको निष्कर्ष निकाल्दै त्यो कार्यान्वयन नगर्न नेपाल पक्षले निर्वाचन आयोगमा पत्रसमेत बुझाइसकेको अवस्था छ। अर्कोतिर ओलीले आगामी ७ गतेको बैठकमा नेपाल पक्षका नेताहरु नआएमा र आगामी बैठकमा दुई पटक निरन्तर उपस्थित नभएमा उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाउने घुमाउरो चेतावनी सार्वजनिक रुपमा दिएका छन्, शनिबार।
नेपाल पक्षले ओलीसँग मिल्नका लागि ओलीको पछिल्लो निर्णय खारेज हुनुपर्ने, पार्टीलाई विधान, सिद्धान्त र प्रक्रियामा चलाउनुपर्ने, ओलीको राजीनामा नमागेको बरु वाम सरकार नै बनाइराख्नु पर्ने, वाम एकता प्रक्रिया अघि बढाउनुपर्ने लगायत सर्त अघि सारेको छ।
आफ्ना सर्तहरु ओलीले कार्यान्वयन गर्ने अपेक्षा भने यो पक्षको झिनो छ। नेता नेपालले ओलीबाट निरन्तर अपमानित भएकोले अब सहन नसक्ने निचोडमा पुगिसकेका छन्।
‘अब केही चमत्कारै भयो भने मात्रै ओलीसँग मिल्ने सम्भावना रहला। त्यो बाहेक अरु सम्भावना छैन,’ नेता नेपाललाई उद्धृत गर्दै नेपाल पक्षका एक केन्द्रीय सदस्यले भने।
त्यसो भए आगामी ७ गते नेपाल पक्ष ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा सामेल भएन भने के होला? ओलीले भनेजस्तै नेपाल पक्षका नेताहरुलाई निस्काशन गर्लान्?
अड्कलबाजी तीव्र भएको छ। एमालेको पछिल्लो पटक संशोधित विधानमा पार्टीको बहुमतले निर्णय गर्ने भन्ने व्यवस्था गरिएको छ। विधानको धारा ४१ (क) मा पार्टीभित्र गुटबन्दी गरेको, षड्यन्त्र गरेकोमा कारवाही गर्ने व्यवस्था गरिएको छ।
धारा ४९ (च)मा लगातार तीन पटक कमिटी बैठकमा बिना सूचना र बिना कारण अनुपस्थित रहे कमिटी सदस्यता स्वतः समाप्त हुने प्रावधान छ।
ओली रक्षकका रुपमा चिनिएका नेता महेश बस्नेतले नेपाल पक्ष माओवादी केन्द्रको दूत बनेर एमालेमा घुस्न खोजेको आरोप यो बीचमा लगाएका छन्।
नेता बस्नेत मात्रै होइन ओलीका ‘क्याबिनेट’ मन्त्रीहरुले पनि एमालेलाई बहुकेन्द्रका रुपमा विकास गर्न नदिने भनेर नेपाल पक्ष अलग होस् भन्ने सन्देश दिन खोजेका छन्।