गाउँका मानिसको भारी बोक्ने ट्रक, ट्रक लिम्बु

गाउँका मानिसको भारी बोक्ने ट्रक, ट्रक लिम्बु
+
-

तेल्लोक (ताप्लेजुङ) – पाँचथरको गोपेटार पुगेर पारिपट्टि हेर्दा लाग्यो, आहा! गाउँ-गाउँ सडक पुगेछन्।

तर थर्पुबाट ओरालो लागेपछि सबै अनुमान चक्नाचुर भए। घरिघरि गाडी भित्तामामा ठोक्किएला जस्तो, घरिघरि डिलमुनी गइएला जस्तो।

त्यसमाथि ट्याक्सी चालकका तीनवटा मोवाइल फोनमा आइरहने घण्टीले मन नै अत्याइदिने।

चालकलाई सोध्दा ‘गरिखाने भाँडो यही हो। प्यासेन्जरले फोन गर्छन् सिट राखिदिन भन्दै। नउठाउँ, अर्काले प्यासेन्जर लगिहाल्छ।’

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाको मुकाम तेल्लोकसम्म सानातिना ट्याक्सी र मालबाहक सवारी साधन पुग्छन्। ठूला सवारी साधनको पहुँच त कल्पना भन्दा बाहिरको कुरा हो।

भोलिपल्ट बिहान गाउँपालिका परिसरमा रहेको सानो बजारमा फाटेको तथा मैलो कपडा लगाएका एक जना पुरुष भारी मिलाउँदै थिए।

उनको परिचय माग्दा भने, ‘मेरो नाम टडक लिम्बु हो।’ भरे थाहा पाउँदा ‘ट्रक’ भनेका रहेछन्।

एक्कासी उनले भने, ‘मलाई त योगेशले घरमा लगाउने टिन दिएन नि।’ को योगेश? भन्दा उनले पुनः जवाफ दिए, ‘सांसद योगेश हौ।’ उनले ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नाम लिएका रहेछन्।

ट्रक लिम्बुले साँच्चै टिन पाए/पाएनन्, त्यो कि उनलाई थाह छ कि सांसद भट्टराईलाई। तर उनले निकै ठूलो गुनासो पोखे।

उनले त्यति भनिसक्दा एक जना पुरुष छेउको पसलबाट निस्के र भने, ‘हो, अब नेपाली कांग्रेसलाई भोट हाल्नुपर्छ।’

ट्रकले ओठे जवाफ दिए, ‘तिमी …जीहरू (सुन्दा अश्लील लाग्ने शब्द) पनि त्यस्तै हौ।’

ट्रकले गाउँभरिका मानिसहरूको घरमा सामान लैजाने काम गर्दा रहेछन्। त्यसैले उनलाई ट्रक भनिएको रहेछ।

तर उनको खास नाम भक्तबहादुर लिम्बु रहेछ।

राजनीतिक दलहरूप्रतिको वितृष्णा गाउँ/ गाउँका मानिसहरूमा कसरी पैदा भइरहेको छ भन्ने कुरा जान्न ट्रक लिम्बुको कुरा सुनेपछि थाह पाइन्छ।

जब केही वर्ष अघिदेखि त्यो ठाउँमा साना भए पनि गाडी चल्न थाले, त्यहाँका मानिसहरूले केही आम्दानी गर्न थाले।

कसैले कृषि उत्पादन बढाएर बजार लगेर बेच्न थाले कसैले पशुपालन गर्न थाले।

गाउँपालिकाकै उपाध्यक्ष ज्ञानमाया चौहानले भनिन्, ‘भर्खरै ७५ हजारमा खसी बेचें। विर्तामोड लगेर बेच्न पाउँदा डेढ लाख रुपैयाँमा जान्थ्यो।’

गर्नसक्ने र जमिन हुनेले केही हदसम्म आम्दानी बढाए। ट्रक लिम्बु जस्ताले केही गर्न सकेनन्। जीवन नै भारी बोकेर जाने अवस्था छ।

भारी बोक्न तयार रहेका उनलाई ‘यो भारी पुर्याएको कति पैसा लिनु हुन्छ?’ भनेर सोध्दा उनले भने, ‘१२ रुपैयाँ लिन्छु।’

पसलका मालिकले भने, ‘१२ होइन १३ रुपैयाँ लिनु।’ त्यो १ रुपैयाँ कस्का लागि हो थाह भएन।

ट्रकले दिनमा करिब १० वटा घरमा सामानका भारी पुर्याउँदा रहेछन्। त्यती गरेपछि दिन एक सय रुपैयाँ भन्दा अलि बढी हुँदो रहेछ।

‘एक दिनमा त्यति भए हुन्छ। अरू के नै गर्नु छ र मैले।’ उनले जवाफ दिए।

गाउँका मान्छेलाई भने ट्रकको आर्थिक अवस्था र सहयोग कसरी गर्ने भन्ने चिन्ता भन्दा उनको देहान्तपछि कस्ले भारी बोकिदेला भन्ने चिन्ता रहेछ।

उनी एकजनासँग भन्दै थिए, ‘म मरेपछि खाउला। कस्ले बोकिदिँदो रहेछ तिमीहरूको भारी।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष